कम्युनिष्ट राजनीतिका विश्वव्यापी मूल्य, मान्यता र आदर्शमाथि चर्को प्रहार

२०७९ फाल्गुन २८ गते, आईतवार

डा. केशव देवकोटा

कम्युनिष्ट राजनीतिमाथि पछिल्ला दशकहरुमा विश्वव्यापीरुपमा आक्रमण भइरहेका छन् । झन नेपालमा त कतिपय कम्युनिष्ट नामधारी पार्टीहरुनै दक्षिपन्थी पार्टी र शक्तिहरुसँग मिलेर कम्युनिष्ट राजनीति विरुद्ध परिचालित भएको देखिएको छ । उनीहरुले खुलेर नभई नजानिंदोगरी कम्युनिष्ट राजनीतिका विश्वव्यापी मूल्य, मान्यता र आदर्शमाथि चर्को प्रहार गरिरहेको देखिएको छ । यसैक्रममा कुनै बेलाका माओवादी तथा हालका गैह्रकम्युनिष्ट तथा प्रयोगवादी नेता डा. बाबुराम भट्टराईले गतसाता मंगलबार एक अन्तवार्तामार्फत् ‘कम्युनिष्ट पार्टी अबको एक डेढ दशकमै सकिने’ बिचार प्रक्षेपण गर्नुभएको छ । जो सरसर्ति पढ्दा सामान्य झै देखिएपनि भनाईको गहिराईमा पुगेर व्याख्या र विश्लेषण गर्ने हो भने यसले धेरै अर्थ राख्ने देखिएको छ । हुन त नेपालमा ०६३ को परिवर्तनलगत्तै केही सार्वजनिक कार्यक्रमहरुमा हालका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि नेपालका कम्युनिष्ट पार्टीहरु विघटनमा पुग्ने बिचार व्यक्त गर्नुभएको थियो । समयक्रममा डा. भट्टराई कम्युनिष्ट राजनीति छाडेर दक्षिणपन्थी राजनीतिमा प्रवेश गरिसक्नु भएको छ भने पुष्पकमल दाहाल डा. भट्टराईसँग पार्टी एकता गर्नका लागि आफ्नो पार्टीको नामबाट नेकपा र चुनाव चिन्हबाट हँसिया हथौडा हटाउने अभ्यासमा रहनुभएको छ । डा. भट्टराई र दाहालले ०६२ मंसिर आठगते भारतको नयाँ दिल्लीमा नेपालका तत्कालीन सात संसदवादी पार्टीसँग १२ बुँदे सहमति गरेदेखिनै दक्षिणपन्थी संसदवादी राजनीतिमा अभ्यस्तहुँदै आउनु भएको छ । त्यसैले उहाँहरुको वर्गीय निकटता नेपाली कांग्रेससँग रहेको छ । डा. भट्टराईले वैकल्पिक राजनीतिका नाममा ०७३ यतामात्र झण्डै आधा दर्जन पार्टी परिवर्तन गरिसकेको अवस्था छ भने हाल नेपाल समाजवादी पार्टी गठन गर्नुभएको छ । जसको सञ्चालनभने माओवादी केन्द्रले नै साथ सहयोग दिएर गरिरहेको छ । डा. भट्टराई ०३७–०३८ को हाराहारीमा नेपाली कांग्रेसबाट कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको थियो भने ०७३ पछि कम्युनिष्ट राजनीतिबाट बाहिर भइसक्नु भएको छ । त्यसैले उहाँका लागि कम्युनिष्ट पार्टी अहिलेनै विघटन भइसक्यो । उमेरका हिसावले उहाँ झण्डै ६९ को हाराहारीमा रहनु भएको छ । त्यसैले अबको डेड दशकपछि उहाँले संसारमै कम्युनिष्ट पार्टी नरहेको देख्ने अवस्था आउन पनि सक्छ । होइन भने कम्युनिष्ट राजनीति छाडिसकेका नेताले भौतिकवादमा आधारित खास मूल्य, मान्यता र आदर्श भएको राजनीति र त्यस आधारमा बनेका कम्युनिष्ट पार्टीहरु विघटनमा पुग्ने टिप्पणी गर्नु आफैँमा सुहाउने कुरा हुँदैन ।

पछिल्ला दिनमा कतिपयले नेपालमा आर्थिक, सामाजिक र राजनीतिक संकटको सिर्जना गरेर नेपाल देशकै अस्थित्व समाप्त पार्ने सपना पनि देखिरहेका छन् । त्यसैका लागि उनीहरु हरक्षेत्रलाई अस्तव्यस्त बनाउन प्रयासरत रहेका छन् । तर के बुझ्नु पर्दछ भने नेपालको सीमाना जहिलेसम्म उत्तरमा चीन र दक्षिणमा भारतसँग जोडिएर रहन्छ, तबसम्म यस देशको अस्थित्व कसैले पनि मेटाउन सक्दैन । हिजो १०४ वर्षसम्म नेपालमा जहानियाँ राणा शासन रहेको थियो । त्यसको अन्त्य हुँदा नेपाल नै चल्दैन कि भन्ने धेरैलाई लागेको थियो होला । तर नेपाल भन्ने देश रहिरह्यो । ०६५ सालमा २४० वर्षको जहानियाँ राजतन्त्रको अन्त्य भयो । त्यसपछि पनि कतिपयले यो देशनै रहँदैन कि भन्ने आशंका गर्नेगरेको देखिएको थियो । तर आजपर्यन्त नेपाल कायम नै रहेको छ । आज पनि नेपालमा गणतान्त्रिक जहानियाँ शासन छ । यो पनि क्रमशः संकटमा पर्दैगएको छ । तर पनि नेपाल रहिरहने छ । भोली जनगणतन्त्र स्थापना भएर देश अगाडि बढ्ने अपेक्षाहरु पनि कायम नै रहेका छन् । सबैको भरोषा झन झन नेपालको कम्युनिष्ट शक्ति प्रति बढ्दै गएको देखिएको छ । कतिपयले यो देशमा आगामी पाँच वर्ष अस्थिर सरकार बनाउन सकेको खण्डमा नेपाल गम्भीर संकटतिर जाने आंकलन गरेका छन् । त्यसैका लागि उनीहरु प्रयासरत रहेको देखिएको छ । यथार्थमा त्यो बिचार पनि सही होइन । किनभने नेपाल र नेपालीले यस्ता संकट पटक–पटक व्यहोर्दै आएका छन् । पुस १० मा नेपालमा नाटकीय ढंगले संसदको तेश्रो पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्यो । त्यो सरकार जुनसुकै पार्टी र शक्तिले बनाएको भएपनि त्यस कार्यले मंसिर चारको जनादेशको ठाडो उल्लंघन भएको थियो । पार्टीभनेका जनताभन्दा ठूला हुन् । त्यसैले चुनाव सकिएपछि पार्टीहरुले जनादेश मान्न आवश्यक छैन भन्ने देखाउन उक्त घटना गरिएको थियो । त्यपछि फेरी सातदलीय गठबन्धनको सरकारले १०० दिन पनि पार नगर्दै माओवादीका अध्यक्ष दाहालले आफैँलाई सरकारको नेतृत्वमा पु¥याउने एमालेलाई छाडेर नेपाली कांग्रेसलाई अंगालेको देखियो ।

त्यो पनि माओवादभन्दा चरम अवसरवाद बलियो रहेको देखाउन गरिएको थियो । यी कार्यहरु ०७२ को संविधान र देशमा विद्यमान राजनीतिक व्यवस्थालाई बदनाम गराउन सहायक भएका छन् । कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय मान्यता अनुसार तुलनात्मकरुपमा नजिकको मित्र शक्तिसँग मिलेर नजिकको शत्रु शक्तिलाई परास्थ गर्ने भन्ने रहेको छ । तर नेपालका केही कम्युनिष्ट नामधारी पार्टीहरुले सो मान्यताको ठीक विपरितका गतिविधिहरु गरिरहेका छन् । उनीहरु वैचारिकरुपमा शत्रु शक्तिसँग मिलेर मित्र शक्तिलाई बदनाम र कमजोर पार्दै लगेर सिध्याउने अभियानमा रहेको सहजै देख्नसकिन्छ । कम्युनिष्ट राजनीतिले सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको नीतिलाई मान्दछ । तर नेपालका आपूmलाई कम्युनिष्ट भन्ने कतिपय नेताहरु व्यक्तिगत निर्णय र सामुहिक जिम्मेवारीको नीतिलाई स्थापित गराउने प्रयास गरिरहेका छन् । उनीहरुको सहकार्य पनि जन्मजात नेताप्रधान मानिएको नेपाली कांग्रेससँग रहँदैआएको छ । कम्युनिष्टहरु राजनीतिलाई बिचारको खेल मान्ने गर्दछन् । तर कतिपय आपूmलाई कम्युनिष्ट भने पनि गैह्रकम्युनिष्ट राजनीतिको अभ्यासमा रहेका नेताहरु राजनीतिलाई संभावनाको खेल भन्न र मान्नथालेका छन् । सत्ता राजनीतिबाट अलग भएको बहाना गर्दछन् । तर जुनसुकै होस सत्ताकै वरिपरी घुमिरहेका देखिन्छन् । ०७२ मा संविधान बनाउँदानै मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेर नेपालमा कहिल्यै पनि राजनीतिक स्थायित्व आउन नदिने साजिस गरिएको कुरा क्रमशः खुल्दैगएको छ । जुन निर्वाचन प्रणालीमार्फत् धनाढ्य र सत्ता र शक्तिमा रहेका व्यक्तिका आफन्त बाहेक अरु निर्वाचित हुनै नसक्ने अवस्था सिर्जना गरिएको छ । भन्दा लोकतान्त्रिक गणतन्त्र भनेपनि नेपालमा स्थापना गराइएको गणतन्त्रको चरित्र लोकतान्त्रिक छैन भने शासन व्यवस्था जहानियाँ बन्दैगएको छ ।

त्यसैले समाजमा एउटा राजा धपाएपनि दर्जनौ राजा जन्मिएको चर्चा हुनथालेको छ । मंसिर चारको निर्वाचनले कसैलाई पनि बहुमत दिएको थिएन । जसको मुख्य संकेत फेरी निर्वाचनमा जानेभन्ने हो । होइनभने पनि दुई ठूला पार्टीहरु मिलेर सरकार गठन गरेको भए सरकारको स्थायित्व आगामी पाँचवर्षका लागि हुनसक्थ्यो । तर अब निरन्तर सरकार परिवर्तन भइरहने परिस्थितिको निर्माण गर्दै लगिएको छ । यो भनेको नेपालजस्तो गरिव मुलुुकलाई अझ गरिव बनाउँदै लाने र देशमा राजनीतिक अस्थिरता बढाउँदै लाने साजिस हो । देशमा राजनीतिक अस्थिरता बढाउनुको खास कारण पनि विदेशीहरुलाई खेल्न सजिलो पार्नु हो । ०५२ सालमा नेकपा (माओवादी) ले तत्कालीन सरकार समक्ष पेशगरेका मागहरु आज २७ वर्ष हुँदा पनि पूरा भएका छैनन् । बरु त्यतिबेला माग राख्नेहरुले तिनै कुरालाई आफैँ अपनाइरहेका छन् । जसमा देशीय सामन्तवाद र त्यसको प्रतिनिधि संस्था नेपाली कांग्रेस र अन्तर्राष्ट्रियरुपमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरिएको थियो । आज तिनैको सेवा सुश्रुसा भइरहेको देखिएको छ । नेपालमा राजनीतिक संक्रमणकाल लम्ब्याउने कार्य पनि तिनै शक्तिहरुबाट भइरहेको छ । जसले ०७२ सालमा संविधान बनाउने बहानामा देशमा अस्थिरताको बिउ रोप्ने काम गरेका थिए । अझैपनि कतिपय प्रयोगवादी नेताहरु नेपाललाई अनन्तकालसम्म कसरी अशान्त, अस्थिर र गरिव बनाउने भन्ने कुराको चिन्तन् मनन् र खोजीमा लागेको देखिएको छ । त्यसैले उनीहरुको मनस्थितिनै कम्युनिष्ट विरोधी र भँडुवा बन्दैगएको देखिन्छ । कोही सत्तामा बसेर कम्युनिष्टहरुलाई कसरी बदनाम गराउन सकिन्छ भनेर लगेका छन्भने कोही सत्ता बाहिर रहेर विश्वबाटै कम्युनिष्ट पार्टी डाइनोसर लोप भएझै लोप हुने प्रचार गर्नथालेका छन् । यो अवस्था खासगरी नेपालका सही कम्युनिष्ट राजनीति गर्न अग्रसरहरुका लागि चुनौती हो । समयले खडागरेको यो चुनौतीलाई उनीहरुले स्वीकार गर्नु पर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु