राष्ट्रघात र जनघात राज्यको दिनचर्या भएको छ

प्रकाण्ड, प्रवक्ता– नेपाल कम्युनिष्ट पार्टी २०७७ मंसिर ८ गते, सोमबार

०             नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको छ वर्ष पूरा भइसकेको छ । तपाईंहरुले भने जस्तो र जनताले सोचेजस्तो उपलब्धि अहिलेसम्म हासिल हुन सकेन, किन होला ?

निश्चित हदसम्म वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्व राख्ने र विशेषतः नेपालको कम्युनिस्ट आन्दोलनमा महान् एवं निर्णायक पहलकद्मीको प्रतिनिधित्व गर्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको छ वर्ष पूरा भएर मंसिर ८ गतेबाट सातौं वर्षमा प्रवेश गरेको छ । हाम्रो देश नेपाल र नेपाली जनताको मुक्ति चाहने नेपालका क्रान्तिकारी कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, राष्ट्रवादीहरु, प्रगतिशील तप्काहरु र श्रमजीवि नेपाली जनताको निम्ति यो दिन निकै महान्, ऐतिहासिक र गौरवपूर्ण पर्वको दिन हो । यो महान् पर्वको दिनको उल्लासपूर्ण अवसरमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली समाजमा संचालित ‘एकीकृत जनक्रान्ति’, १० वर्षे ऐतिहासिक जनयुद्ध र ०७ सालदेखि नेपालको राजनैतिक आन्दोलनमा आफ्नो अमूल्य जीवन देश र नेपाली जनताको मुक्तिका निम्ति उत्र्सग गर्ने महान् शहिदहरुप्रति उच्च सम्मानका साथ सगर्व भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरुको सपना पूरा गर्न पार्टीको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिमा ‘स्वतन्त्रता या बलिदान’ को मार्ग रोजी रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । महान् शहिदहरुका आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु । बेपत्ता र घाइते योद्धाहरुको उच्च सम्मान र स्मरण गर्दछु । हाम्रो पार्टीका नेता कार्यकर्ता, वामपन्थी, सच्चा लोकतन्त्रवादी, राष्ट्रवादी, प्रगतिशील शक्ति र आमश्रमजीवि नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको क्रान्ति, परिवर्तन र विकासमा यहाँहरुका पाइला अविरल अगाडि बढिरहने र हाम्रो पार्टी एवं एकीकृत जनक्रान्तिले यहाँहरुको निरन्तर साथ सहयोग पाइरहने विश्वास पनि व्यक्त गर्दछु  ।

कुनै पनि देश र समाजमा गरिने क्रान्तिले आमूल परिवर्तनलाई सुनिश्चित गर्दछ । अतयव यो आफैँमा भीषण, निर्मम र कष्टसाध्य हुन्छ । क्रान्ति कठिन तर अनिवार्य सामाजिक प्रक्रिया भएको हुनाले यसले सापेक्षित समयावधि लिन्छ नै ।

ऐतिहासिक कालदेखि नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको प्रक्रिया अवरुद्ध हुँदै आएको छ । १०४ वर्षे जहानियाँ राणा र ३० वर्षे सामन्ती निरङ्कुश शासनका विरुद्धको प्रगतिशील पुँजीवादी क्रान्तिहरु पूरा हुन सकेनन् । राणा शासनको समूल नष्ट र ०१७ सालमा गरिएको निरङ्कुश सामन्ती प्रतिगमनका विरुद्ध निर्णायक क्रान्ति त्यो बेलाको नेपाली समाजको क्रान्तिकारी विकासको निम्ति वस्तुगत र ऐतिहासिक दुवै दृष्टिले आवश्यकता थियो । वि.सं. १९०३ (सन् १८४६) मा जंगबहादुर राणाले कोतपर्व घटाएर शासन हत्याएको बेला विश्व राजनैतिक परिस्थितिमा युरोप सामन्तवाद विरोधी पुँजीवादी क्रान्तिहरुको उभारमा थियो । उन्नाइसौं शताब्दीको पाँचौँ दशकको अन्त्य र छैठौँ दशकको सुरुवातीमा फ्रान्स, जर्मन, इटाली, अष्ट्रिया र हंगेरीमा महान् क्रान्तिकारी आन्दोलनहरु भइराखेका थिए । ०१७ साल (सन् १९६०) मा छिमेकी देश चीनमा श्रमजीवि जनताको नयाँ जनवादी क्रान्ति सम्पन्न भएर समाजवादी सत्ता अभ्यास गरिराखेको ११ वर्ष भएको थियो । भारतमा ब्रिटिस उपनिवेशका विरुद्धको स्वतन्त्रता संग्राम सम्पन्न भएको १३ वर्ष मात्र पार गरेको थियो । विश्व राजनीतिमा विश्व कम्युनिस्ट आन्दोलन प्रभावमा थियो । झण्डै एक तिहाई विश्वको भू–भागमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भएर सत्ता अभ्यास भइराखेका थिए । सोभियत कम्युनिस्ट पार्टी (वोल्शेभिक) र सोभियत सत्ताबारे अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व राजनीतिमा एउटा महान् विवाद चलिरहेको थियो । विश्व राजनीतिमा  सामन्ती सम्राटवाद, महाराजावाद र उपनिवेशवादका विरुद्ध पुँजीवादी र क्रान्तिकारी आन्दोलनहरु शक्तिशाली रुपमा अगाडि बढिराखेको नितान्तै अनुकूल परिस्थितिमा पनि नेपालमा सन् १९५० (वि.सं. २००७) को जहानियाँ राणा शासनका विरुद्धको आन्दोलन र सन् १९६० (वि.सं. २०१७) को राजा महेन्द्रको निरङ्कुशतावादी ‘कु’ का विरुद्धको निर्णायक पुँजीवादी लोकतान्त्रिक क्रान्ति सफल हुन सकेनन् । उल्टै सन् १९५१ (वि.सं.२००८) सालमा राणासँग र सन् १९६० (वि.सं.२०१७) सालपछि महेन्द्र वा त्यस पछिका राजाहरुसँग सत्ता गठजोड गर्ने वा पञ्चायती व्यवस्थामा आफ्नो स्थानको याचना गर्ने गम्भीर राजनैतिक गल्तीहरु भए । परिणामतः वि.सं. २०४६ सालको जनआन्दोलनमा राजा विरेन्द्रसँगको धोकापूर्ण सम्झौता यही विचार र प्रवृत्तिको उपज बन्न पुग्यो । २००७ सालको राणा शासन विरोधी नेपाली जनताको आन्दोलनमा मुख्य नेतृत्व गरिराखेको नेपाली काँग्रेसको पुँजीवादी प्रतिक्रियावादी सम्झौता परस्त प्रवृत्ति र चरित्रका कारण राणा शासनका विरुद्धको आन्दोलन प्रगतिशील पुँजीवादी क्रान्तिमा बद्लिन सकेन भने राजा महेन्द्रको प्रतिगमन पछिका आन्दोलनहरु ०४६ सालसम्म आउँदा पनि कम्युनिस्ट आन्दोलनमा पैदा भएको नाङ्गो संशोधनवाद र राजा परस्त प्रकृतिका कारण सामन्ती राजतन्त्रका विरुद्ध सम्झौताहित पुँजीवादी जनवादी क्रान्तिमा बद्लिन सकेनन् ।

०४६ साल पछि नेपालको राजनैतिक इतिहासमा सत्ता सम्झौतावाद, धोखाधडीवाद, विचलनतावाद, पुच्छरवाद र नकच्चरो सुधारवादका खिलापमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा संचालन गरिएको जनयुद्धमार्फत् २००७ सालदेखि कोपभाजनमा पर्दै आएको प्रगतिशील पुँजीवादी क्रान्तिलाई पूरा गरी नयाँ जनवादी हुँदै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने लक्ष्य र उद्घोष गरिएको १० वर्षे जनयुद्ध जसले सामन्ती राजतन्त्रको अन्त गरेको थियो, लाई ०६२÷०६३ सालपछि वार्ता र शान्ति प्रक्रियाको नाममा दलाल पुँजीवाद र संसदीय प्रतिक्रियावादमा समर्पण गराइयो । यो ००७ साल, ०३६ साल र ०४६ मा भएका प्रगतिशील पुँजीवादी र जनवादी क्रान्तिका विरुद्ध गरिएको षड्यन्त्र, धोका र समर्पणको पुनरावृत्ति मात्र थियो । जसको नेतृत्व माओवादी पार्टीतिरबाट पुष्पकमल दाहालले गरे ।

०७ सालदेखि ०६२–०६३ सालसम्म नेपालको प्रगतिशील पुँजीवादी क्रान्ति र आन्दोलनमा भएका गद्दारी, धोका र प्रतिक्रान्तिले नेपाली जनतालाई आजित बनाएको छ । यसको पछिल्लो र चरम् विन्दु नै माओवादी पार्टी, जनयुद्ध, देश र नेपाली श्रमजीवि जनताका विरुद्ध पुष्पकमल दाहालको नेतृत्वमा गरिएको प्रतिक्रान्ति, धोका र बिसर्जन हो । जुन क्रान्ति, समाजवाद र कम्युनिस्ट पार्टीको आवरणमा गरिएको थियो र अध्यावधि जारी छ । अहिले पनि नेपाली राजनीतिक आन्दोलनमा नयाँ क्रान्ति संचालन गर्ने पार्टी र नेतृत्वका अगाडि नेपाली जनताको नजरमा डरलाग्दो आशंका र यक्ष प्रश्न खडा गरेको छ । नेपालको क्रान्तिकारी राजनैतिक आन्दोलन, नेपाली जनता र क्रान्तिको यस्तो अवस्थामा नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको उद्देश्यसहित नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादी राजनैतिक कार्यक्रम अगाडि सारेर हामी पार्टी पुनर्गठन कालदेखि नै निरन्तर क्रान्तिको प्रक्रियामा छौं । इतिहासमा राजनैतिक पार्टी र नेताहरुले क्रान्ति र राजनैतिक आन्दोलनको क्रममा घटाएका प्रतिक्रान्तिकारी, गद्दारी र धोकाजस्ता नकारात्मक परिघटनाहरुको जवाफ हाम्रो पार्टी र नेतृत्वले एकीकृत जनक्रान्तिमार्फत् सैद्धान्ति र व्यवहारिक दुवै कोणबाट दिँदै आएको छ । परिणामस्वरुप कथित संघीय लोकतान्त्रिक गणतन्त्रले आभूषित वर्तमान दलाल पुँजीपति वर्ग, त्यसको राज्य सत्ता, दलाल संसदीय शासन व्यवस्था, यसको नेतृत्व गरिराखेको के.पी. ओली सरकार र दलाल नेताहरु अभूतपूर्व संकट, विघटन र लाजमार्दो असफलताले पूरै अनुहार लतपतिएका देशद्रोही र जनअपराधीतत्वको रुपमा नेपाली जनताका सामु सर्वाङ्ग भएका छन् । यिनको मृत्युलाई उत्तर साम्राज्यवादी र साम्राज्यवादी मालिकले पनि रोक्न सक्ने छैनन् ।

राष्ट्रिय राजनीतिमा अहिले हाम्रो पार्टी दलाल पुँजीपति वर्गका संसदीय पार्टीको विकल्प बनेको छ । आमनेपाली श्रमजीवि जनताको आफ्नै विश्वासिलो प्रतिनिधि राजनैतिक पार्टी बन्दै गएको छ । एकीकृत जनक्रान्ति नेपाली जनताको आशा, विश्वास र मुक्तिको शक्तिशाली हतियार  बन्दै गएको छ । हाम्रो पार्टीको जिम्मेवारी र नेपाली जनताको चाहना एक पछि अर्को पूरा हुँदै गएका छन् र तीव्रतामा पूरा हुँदै जाने पनि छन् । देशको विकराल र संकटग्रस्त अवस्थाले क्रान्ति शीघ्रातिशीघ्र निर्णायक होस् र दलाल पुँजीपति वर्ग एवं त्यसको राज्य व्यवस्थालाई नाश गरोस् भन्ने आमनेपाली जनताको अधैर्यता छ । ती दिन अब टाढा छैनन् ।

०             पछिल्लो समय तपाईंको पार्टीले सडक संघर्षमा जोड दिएको देखिन्छ, सडक संघर्षबाट वर्तमान संकटको समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा पार्टी पुगेको हो ?

क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न हुने श्रमजीवि जनताको क्रान्तिका बहुआयामिक मोर्चाहरुमध्ये फौजी मोर्चा र जनसंघर्षको मोर्चा निर्णायक हुन्छन् । के.पी. ओली सरकारले हाम्रो पार्टी र एकीकृत जनक्रान्ति माथि प्रतिबन्ध लगाएर फासीवादी दमन गरेको झण्डै २ वर्ष पुग्न थाल्यो । प्रतिबन्ध र दमनका विरुद्धको प्रतिरोध संघर्षमा जनक्रान्तिले गरेको विकास, यसले पैदा गरेको जनसंघर्ष विकासको आवश्यकता र सडक संघर्षको नेतृत्व गर्न नेपाली जनताले पार्टीसँग गरेको मागलाई उच्च प्राथमिकतामा राखेर सडक संघर्षलाई अगाडि बढाउन खोजिएको हो ।

०             हालै गृहमन्त्री रामबहादुर थापाले तपाईंको पार्टीलाई निस्तेज पार्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । यस्तो अवस्थामा सडक संघर्ष कसरी प्रभावकारी होला ? यसबारेमा पार्टीले के सोचेको छ ?

श्रमजीवि जनताको क्रान्ति र आन्दोलनहरुलाई शासक वर्गले दमन गरेर सिद्धाउँछु भन्नु पागलपूर्ण  मूर्खता र आफ्नो चिहान आफैँ खन्नु हो । दमनले जनक्रान्ति र आन्दोलनहरु कतै पनि रोकिका छैनन् । सिद्धिएका पनि छैनन ।         गृहमन्त्री रामबहादुर थापाले हाम्रो पार्टी र क्रान्तिलाई दमन गर्नको निम्ति गृह प्रशासनलाई पछिल्लो समय गोप्य परिपत्र जारी गरेको सूचना पार्टीलाई प्राप्त भएको छ । गृहमन्त्रीले के कुरा बुझ्नु पर्छ भने यो नेपाली जनताको एकीकृत जनक्रान्ति हो र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालित छ । यसलाई जिस्क्याउनु र यससँग खेल्नु भनेको आगोसँग खेल्नु हो । जनक्रान्ति दलाल पुँजीवादी राज्य व्यवस्थालाई धुलोपिठो पारेर विजयी बनेर छाड्ने छ । बरु समयमै आफ्नो गल्तीलाई सच्चाएर जनक्रान्तिलाई मद्दत गर्नु थापाको निम्ति हितकर हुने छ ।

दमनको प्रतिरोध जनक्रान्तिको नियम र वस्तुगत आवश्यकता हो । दमनका विरुद्ध नै जनसंघर्ष संचालन गर्ने हो । हामीले जनसंघर्षबाट प्रतिबन्ध र दमनलाई असफल पार्ने छौं, जुन सम्भव र आवश्यक दुवै छ ।

०             तपाईंको पार्टीका महासचिवले केही समयअघि विज्ञप्तिमार्फत् वर्तमान संकटको निकाश संविधान संशोधन वा परिमार्जन नभएर राज्य व्यवस्था परिवर्तन हो भन्नु भएको थियो । वर्तमान अवस्थामा राज्यव्यवस्था परिवर्तन सम्भव छ त ?

हाम्रो पार्टी र एकीकृत जनक्रान्तिले उठान् गरेका देश र नेपाली जनताका मुद्दालाई बुझ्ने र त्योअनुसारको पार्टीसँग व्यवहार गर्ने सवालमा ओली सरकार पूरै असफल भएको छ । ओली सरकारले हाम्रो पार्टीसँग अहिलेसम्म गरेको व्यवहार विगतका जनविरोधी फासीवादी सरकारले जनताको आन्दोलन र क्रान्तिका विरुद्ध अपनाउने निरङ्कुश, दमनकारी दृष्टिकोण र रबैया नै अपनाइराखेको छ । ओली सरकारका अभिव्यक्ति र क्रियाकलापबाट दमन गरेर हाम्रो पार्टीलाई दलाल पुँजीवादी राज्यव्यवस्था र यसको संविधानको टाङमा छिराउने दिवास्वपना देखेको पाइन्छ । हाम्रो पार्टी र जनक्रान्तिप्रतिको ओली सरकार र ओली–दाहाल पार्टीको यो डरलाग्दो भ्रामक धारणा हो । यसले देशलाई दुर्घटनातिर धकेल्ने खतरा छ ।

देशमा विद्यमान राजनैतिक संकटको समाधानसम्बन्धी पार्टीको धारणा स्पष्ट गर्ने क्रममा पार्टी महासचिव क. विप्लवले विज्ञप्तिमार्फत् संविधान संशोधन वा परिमार्जनबाट होइन, देशको संकटावस्थाको निकास राज्य व्यवस्था परिवर्तनबाट खोज्नु पर्छ भन्नु भएको हो ।

अहिलेको संविधान र राज्य व्यवस्थाले न विगतमा परिवर्तनको निम्ति गरिएका राजनीति आन्दोलन, १० वर्षे जनयुद्धको मर्म र भावना प्रतिबिम्बित गरेको छ, न त अहिलेको राष्ट्रिय आवश्यकता र जनचाहनालाई सम्बोधन गर्न सकेको छ । यसले त प्रतिक्रान्ति, राष्ट्रघात र जनघातको प्रतिनिधित्व गरेको छ । यो नेपाली श्रमजीवि जनताको संविधान र राज्य व्यवस्था नभएर दलाल पुँजीपतिको हो । जसका कारण देश संकटको भूमरीमा परेको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, एकीकृत जनक्रान्तिको हतियार र आमनेपाली जनताको सहभागितामा जवर्जस्त देश र जनताको थाप्लो माथि थोपरिएको दलाल पुँजीपति वर्गको राज्यसत्ता र शासन व्यवस्था छिटोभन्दा छिटो अन्त्य गर्न ढिलो भइसकेको छ । उपरोक्त ऐतिहासिक राजनैतिक कार्यलाई एकीकृत जनक्रान्तिको विकासले धेरै हदसम्म सम्भव तुल्याउँदै गएको छ ।

०             प्रसंग बद्लौं, यतिबेला सरकारको गौरजिम्मेवारीका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेको छ । कोरोना संक्रमित उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएका छन् । यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले पनि उल्लेख्य भूमिका खेल्न नसकेको जन गुनासो छ, के भन्नु हुन्छ ?

एक्काइसौं शताब्दीको दोश्रो दशकको अन्त्यमा विश्वलाई गाँजेको कोरोना भाइरसको विभीषिकाले विश्व मानव सभ्यतालाई चुनौती दिइरहेको छ । यसले हालसम्म विश्व स्तरबाट १३ लाख ८७ हजार नौ सय दुई जनताको ज्यान लिइसकेको छ । अमेरिकामा मात्र २ लाख ६१ हजार सात सय ९० जनताको मृत्यु भएको छ । संक्रमित एक करोड २४ लाख ५० हजार ६६६ छन् । युरोपमा यसले दोश्रो चरणको आक्रमण सुरु गरिरहेको छ । विश्वमा ५ करोड ८५ लाख ७६ हजार चार सय ११ जनता संक्रमित छन् । यसका विरुद्धको औषधीको अनुसन्धान चलिराखेको छ । पूर्ण सफलता प्राप्त गरेर जनताको पहुँचमा आउने स्थिति अझै बनिसेकेको छैन । थप समय लिने नै देखिन्छ । त्यो बेलासम्म विश्व मानव जगतले अपुरणीय क्षति व्यहोरिसकेको हुनेछ ।

नेपालमा कोरोना भाइरसको महामारीलाई राज्यले सुरुमै यसको वास्तविकतालाई बुझ्ने कसरत गरेको भएर, गम्भीर खालको रोकथामको रणनीति विकास गरी कार्य आरम्भ गरेको भए र सुरक्षित वा कम प्रभावित देशको रुपमा नेपाललाई बचाउन सकिने सम्भावनाका प्रबलताहरु काफी हदसम्म थिए । ओली सरकार र राज्यले नेपाली जनताको जीवन माथि खेलबाड ग¥यो । उल्टै कोरोना महामारीको रक्षाकवजमा भ्रष्टाचार र कमिशनको खेल गरी नेपाली जनताका विरुद्ध अक्षम्य अपराध ग¥यो । तिनै तहका सरकार त्यसैमा ज्यान फालेर लागेका छन् । सरकारी तथ्यांकैलाई नै आधार मान्ने हो भने पनि कोरोना महामारीको नाममा हालसम्म सरकारले १४ अर्बभन्दा माथि राज्यको ढुकुटी खर्च गरिसकेको छ । अझै यो क्रम जारी रहने छ किनभने कोरोना भाइरसको महामारी नियन्त्रण भइसकेको छैन । देशमा १ हजार २ सय ७६ जना नेपाली जनताले ज्यान गुमाइसकेका छन् । १ लाख १५ हजार २ सय संक्रमित छन् । त्यो क्रम बढ्दो छ । जब कोरोना भाइरसका कारण नेपाली जनताको मृत्यु र संक्रमित दर वृद्धि भएर जनस्तरमा प्रवेश ग¥यो, त्यो बेला सरकारले गम्भीरताका साथ रोकथाम र उपचारका कडा कदम चाल्नुको सट्टा कोरोना संक्रमितहरुको उपचार नगर्ने निर्णय गरेर सरकार फुक्न थाल्यो । सरकारको आश्चार्यजनक तस्वीर देखियो ।

कोरोना भाइरसको महामारी र नेपाली जनताको दैनिक जीवनप्रतिको ओली सरकारको नालायकीपना, उदासीनता र गैरजिम्मेवारीपनाले यो सरकार, यसले संचालन गरेको राज्य र व्यवस्था आमनेपाली जनताको होइन भन्ने कुराको अकाट्य प्रमाण प्रस्तुत गर्दछ । देश र जनताको जीवनमा आउने प्राकृतिक महाविपत्ति होस् वा राजनैतिक, आर्थिक र सामाजिकलगायतका महासंकट होस् राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर दृढताका साथ सामना गर्ने जनताको आफ्नै नेतृत्व, राज्यसत्ता र शासन व्यवस्था नभएर हुँदैन भन्ने अर्को शक्तिशाली पुष्ट्याई पनि हो । यसर्थ नेपाली जनतालाई नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, उत्पीडित श्रमजीवि जनताको राज्य सत्ता र वैज्ञानिक समाजवादी राज्यव्यवस्था अपरिहार्य बन्न पुगेको छ । उपरोक्त महान् कार्यका निम्ति नेपाली जनतालाई ढिलाईको सुविधा छैन ।

जहाँसम्म हाम्रो पार्टीको भूमिकाको सवाल हो । नेपाली जनताको जीवनमा कोभिट–१९ को विपत्त आउँदा हाम्रो पार्टी धेरै चिन्तित, संवेदनशील र जिम्मेवार रुपमा पस्तुत भयो । क्रान्तिको मोर्चा संचालन गरिराखेको पार्टी संघर्षका सबै कार्यक्रमहरु स्थगित गरेर कोरोना महामारीका विरुद्ध संघर्ष गरिराखेका सबै पक्षसँग सहकार्य गर्ने नीति अगाडि सारेर जनताको सेवा, सुरक्षा र जनचेनता अभिवृद्धिका कार्यक्रममा आफुलाई पूरै समर्पित ग-यो । अति नै भए पछि कार्तिक १५, १७ र २० गते ओली सरकारको कोरोना महामारीको रोकथाम र संक्रमित जनताको उपचार कार्यमा देखिएको गैरजिम्मेवारी, कोरोना महामारीको नाममा संघ, प्रदेश र स्थानीय सरकारले गरेको आङ्गै सिरिङ हुने भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध पार्टी सडक संघर्षमा उत्रियो । नेपाली जनताको प्रेरणादायी सहयोगमा संघर्षका कार्यक्रम सफल भए । संघर्षका कार्यक्रमहरुको सफलताले जनतामा थप आशा र विश्वास पैदा ग¥यो । अब पार्टी के निष्कर्षमा पुग्दैछ भने कोरोना भाइरसको महामारी र ओली सरकारको जनविरोधी चरित्रको कारण नेपाली जनताको बीचमा पैदा गरेको राजनैतिक, आर्थिक, सामाजिक र स्वास्थ्यलगायतका गम्भीर अन्तरविरोधहरु एकीकृत जनक्रान्तिका आगामी मोर्चाका निशाना बन्ने छन् ।

०             देश र जनताको अवस्था दिनप्रतिदिन दयानीय बन्दै गएको छ । सरकार राष्ट्रघात र जनघातमा उत्रिएको आरोप लागेको छ । यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले पनि उचित पहल लिन नसकेको जनगुनासो छ, के भन्नु हुन्छ ?

राज्य र सरकारको दलाल एवं जनविरोधी चरित्रको परिणाम देश र जनताको अवस्था दिनदिनै संकटग्रस्त बन्दै गएको छ । राष्ट्रघात र जनघात राज्यको दिनचर्या भएको छ । कोरोना भाइरसको महामारीले राज्यको संकटलाई चरम् बिन्दुमा पु-याएको छ । देशको अवस्था विकराल बनिराखेको बेला लाजै नमानी आफुलाई खाँटी कम्युनिस्ट भनि नथाक्ने सरकारी नेकपाका नेताहरु सत्ता र कुर्सीको निम्ति ‘वाक्युद्ध’ मा होमिएका छन् । मानौं कि यिनीहरु एकअर्काका ज्यानी दुश्मन हुन् । रुपमा हेर्दा पुष्पकमल दाहाल र माधव नेपालको एउटा मोर्चा र के.पी. ओलीको अर्को मोर्चामा व्यक्त भएको यो युद्ध दलालहरुको चरित्र र साम्राज्यवादीहरुको खेलको उपज सावित भएको छ । नेपालमा बडो अनौठो ढंगले विगत ५–६ महिनादेखि घट्दै आएका घटनाहरुले सामाजिक दलालहरुको सिद्धान्त र व्यवहार, कथनी र करणीका बीचमा हुने विरोधाभासलाई बुझ्न नेपाल र विश्वभरिका श्रमजीवि जनताको निम्ति काफी हदसम्म कामयावी भएका छन् । मानौँ कि आफ्नो सत्ता, कुर्सी र स्वार्थमा धक्का लाग्न थाल्यो भने वा प्राप्त भएन भने उनीहरुले पण्डित्याई गर्ने पार्टी, सिद्धान्त, मूल्य मान्यता, देश र जनता केही पनि होइनन् । उनीहरुका सत्ता र कुर्सी स्वार्थका तलुवा पनि होइनन् । सामाजिक दलाल पुँजीवादी गिरोह यो रुपमा प्रस्तुत भई दुस्साहस गरिराखेको छ । उपरोक्त अवस्थाको सधैँका निम्ति अन्त्य गर्न नेपाल कम्युनिस्ट पार्टी अविराम लागिपरेको छ । जसका कारण पार्टी नेपाली जनताको आशा, भरोसा र विकल्प बन्दै गएको छ ।

०             भारतीय खुफिया संस्था रअ ( RAW) का प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मुकुन्द नरवाणेको नेपाल भ्रमण पछि देशमा वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ भनिन्छ । यसमा पार्टीको धारण के छ ?

यसलाई दुई–तीन कोणबाट हेर्र्नु पर्छ । पहिलो, सन् १९५० (वि.सं. २००७) देखि भारतीय शासक वर्गले नेपालको राष्ट्रिय स्वाधीनता माथि लगातार आक्रमण गर्दै आएका छन् । भारत सरकार र त्यसका जिम्मेवार निकायका प्रतिनिधिले नेपाल भ्रमण गर्दा नेपाली जनताले सहजै धारणा बनाउने र बुझ्ने कुरा हाम्रो राष्ट्रियता माथि हस्तक्षेप गर्न आएको भन्ने रहेको छ । दोश्रो, विगतका नेपालका प्रायः शासकहरुको आत्मसमर्पणवादी प्रवृत्तिका कारण भारतीय हस्तक्षेप निम्त्याउने गरे । यसले पनि नेपाली जनताले शासकहरु माथि गम्भीर राष्ट्रघातको आशंका गर्दछ । तेश्रो, अहिलेको विश्वको दुई धु्रवीय वा बहुधु्रवीय चरित्रको परिणामस्वरुप विकास भएका विश्वका अन्तरविरोधहरु सैन्य युद्ध र व्यापार युद्धको रुपमा व्यक्त भइराखेका छन । उपरोक्त विश्व परिवेशमा अमेरिकी रक्षा मन्त्री मार्क पम्पेर(Mark Pomper) र विदेश मन्त्री माक एसपेर (Manc Esper) भारत भ्रमणमा आउनुभन्दा दुई हप्ता अगाडि ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय सेनाको जहाज प्रयोग गरेर नेपाल भ्रमणमा आउनु, प्रधानमन्त्री के.पी. ओलीसँग कार्तिक ५ गते राती ३ घण्टा भेट गर्नु र त्यसलाई प्रधानमन्त्री कार्यालयले सहस्यमय बनाउन खोज्नुले नेपाली जनतामा एउटा ठूलो जिज्ञाशा र आशंका पैदा गरायो । कुटनैतिक मर्यादा पनि नमिलेको, सरकारी नेकपा चरम आन्तरिक कलह फसेको अवस्था र गोयलले प्रधानमन्त्रीसँगको भेटमा राखेका प्रस्तावहरुको प्रकृतिलाई मध्यनजर गर्दा गोयलको भ्रमण नेपाली राष्ट्रिय स्वाधीनता माथि हस्तक्षेपको दुस्साहस र ओली सरकारलाई आत्मसमर्पण गराउने उद्देश्यद्वारा अभिपे्ररित देखिन्छ । भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण उपरोक्त कडीको निरन्तरता भएको छ । यद्यपि रुप नेपाली सेनाको कार्यक्रमसँग सम्बन्धित बनाइयो । गोयल र नरवणेका भ्रमण बारेको वास्तविकता रक्षा मन्त्रीको समेत जिम्मेवारी आफैँ सम्हालेका प्रधानमन्त्री केपी ओलीले नेपाली जनतालाई स्पष्ट गर्नु पर्छ । नत्र नेपाली जनताको शंका वास्तविकतामा परिणत हुने छ ।

०             तपाईंको पार्टीले भनेजस्तो नेपालमा एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद सम्भव छ भन्ने आधारहरु के–के छन्, प्रष्ट पारिदिनु होस् न ?

वैज्ञानिक समाजवादी राज्य व्यवस्था भनेको उत्तर साम्राज्यवादी एवं पुँजीवादी प्रतिक्रियावादी तत्वहरुले यसको वैज्ञानिकता, जनपक्षधरता र जनप्रियताबाट आतंकित भएर डरलाग्दो भूतको रुपमा विश्वव्यापी उभ्याउन खोजेजस्तो राज्य व्यवस्था होइन । न त यो माक्र्सवादलाई तोडमरोड गर्न साम्राज्यवादीहरुले कम्युनिष्ट आन्दोलन भित्र घुसपैठ गराएका एक्काइसौं शताब्दीका नाङ्गा संशोधनवादी वा नेपालको सन्दर्भमा सामाजिक दलाल पुँजीवादी ओली दाहाल नेतृत्वको नेकपालगायतका जत्थाहरुले भनेजस्तो कथित संघीय लोकतान्त्रिक गणतन्त्र नामको दलाल पुँजीपतिहरुको राज्य व्यवस्था हो, जसको ध्याउन्न लोकतन्त्र र समाजवादको फलाकोमा राष्ट्रघात, जनघात, लुट, गुण्डागर्दी र जनताको राजनैतिक स्वतन्त्रता माथि प्रतिबन्ध लगाएर राज्यको फासीवादी तरबार चलाउने हुन्छ । वैज्ञानिक समाजवादी राज्यव्यवस्था त मानव समाजले प्रकृति र वर्ग विभाजित समाजका विरुद्ध अनवरत संघर्षको क्रममा विकास गरी संश्लेषण गरेको समाज विज्ञान माक्र्सवाद–लेनिनवाद–माओवादबाट निर्देशित हुन्छ । श्रमजीवि जनताको प्रतिनिधित्व गर्ने राज्यसत्ता हुन्छ । वैज्ञानिक समाजवादी राज्य व्यवस्थाले शोषित, पीडित श्रमजीवि जनताको हितसाधन गर्दछ । औपनिवेशिक देशको मुक्ति र जनताको पूर्ण राजनैतिक स्वतन्त्रताको सुनिश्चित गर्दछ । श्रमजीवि जनताको हित र स्वार्थलाई पूराका पूर स्थापित गर्ने, वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीयलगायत सामाजिक असमानता र विभेदको अन्त्य गर्ने राज्य व्यवस्था वैज्ञानिक समाजवादी राज्य व्यवस्था हो ।

देशमा अवस्थित दलाल पुँजीपति वर्गको राज्यव्यवस्था र यसको नेतृत्व राष्ट्रिय मुक्ति, जनमुक्ति, सामाजिक समानता र कोरोना महामारीको व्यवस्थापन गर्नेलगायत राष्ट्र र जनताका जल्दाबल्दा मुद्दाहरुको सम्बोधन र व्यवस्थापनमा काम नलाग्ने गरी असफल हुनुले यो देशमा नेपाली श्रमजीवि जनताको राज्य व्यवस्था वैज्ञानिक समाजवाद र नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तत्कालिक आवश्यकताको विषय भइसकेको तथ्य यसका मजबुत आधारहरु हुन् । उपरोक्त राष्ट्रिय आवश्यकतालाई हाम्रो पार्टीको नेतृत्वमा संचालित र प्रभावशाली एकीकृत जनक्रान्तिले निकट भविष्यमै पूरा गर्ने छ ।

०             अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

आजको गतिशील र क्रान्तिकारी दुनियाँका विरुद्ध उत्तरसाम्राज्यवाद, विश्वभरिका पुँजीपतिहरुले विज्ञानका सबै आविष्कार र विकास माथि निगमीय अधिनायकत्व कायम गरी त्यसको सर्जक श्रमिकवर्ग र आमजनसमुदायका विरुद्ध आफ्नो निहित स्वार्थ पूरा गर्ने उद्देश्यका निम्ति प्रयोगको दुस्साहस गरेझैँ पछि विकसित सूचना विज्ञान र प्रविधिका सवालमा पनि यही रबैया अबलम्बन गरिराखेको छ । नेपालमा त यो अफवाहवादी, झुटवादी, सेतोलाई कालो बनाउन पागलपूर्ण हर्कत गर्ने षड्यन्त्रवादी, खुफियावादी, दलाल, एकपैसे, दलाल पुँजीवादी राज्यको जुठोपुरो चाटेर देश, जनता, क्रान्ति, क्रान्तिकारीहरु, देशभक्त, लोकतन्त्रवादी र प्रगतिशील पक्षका विरुद्ध विष वमन गर्ने नकच्चरो, भतुवा चिन्तन, प्रकृति र हर्कतमा व्यक्त भएको छ । यसको चरित्र राष्ट्रघाती र जनघाती छ, जुन राष्ट्रियता, जनअधिकार, क्रान्ति, परिवर्तन र न्यायको पक्षमा बोल्ने र लेख्ने संचारकर्मी र संचार माध्यामहरुका विरुद्ध खनिएका हुन्छन् । यी सबै प्रकारका दमन, षड्यन्त्र र अवरोधका विरुद्ध संघर्ष गर्दै र विजय हासिल गर्दै देश, नेपाली जनता, क्रान्ति, परिवर्तन र देशको प्रगतिको पक्षमा खरो उत्रिन सफल क्षेप्यास्त्र साप्ताहिक र यसका सहसञ्चार माध्यमहरुप्रति हाम्रो पार्टी आभारसहित धन्यवाद व्यक्त गर्दछ । पार्टी पुनर्गठन दिवसको यो ऐतिहासिक अवसरमा क्षेप्यास्त्र प्रकाशन परिवारलाई पार्टी हार्दिक शुभकामना व्यक्त गर्दछ । आगामी दिनमा पत्रिकाको प्रगति, विकास र पक्षधरता अझ सशक्त बनोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्दछ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु