नेकपाद्वारा विस्थापित सुकुमबासीको बस्ती निर्माण, उद्धार र सुरक्षामा खट्न निर्देशन

२०७७ श्रावण ५ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले प्रहरीले आगो झोसेर र हात्ती लगाएर बिमाख पारेका सुकुमबासीको बस्ती निर्माण गर्न, अविरल वर्षाका कारण दुःख र पीडामा परेका जनताको सुरक्षा र उद्धारमा खट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ । चितवन जिल्ला इन्चार्ज शार्दूलले सोमबार विज्ञप्ति जारी गरी साउन ४ गते माडी नगरपालिका वडा नं. ९ कुसुमखोलामा २०३५ सालदेखि बसोबास गर्दै आएका गरिब किसान, सुकुमबासी बस्तीमा सरकारको निर्देशनमा बफरजोनले दुई घर जलाउनुका साथै ८ घर हात्ती प्रयोग गरी भत्काइदिएकोमा घोर निन्दा र भत्र्सना गरेका छन् । उनले अन्य गरिब परिवारलाई सरकारले तुरुन्त गाउँ छोड्न निर्देशन दिएकोमा त्यस्तो अमानवीय तथा संवेदनाहीन हर्कतको घोर विरोध पनि गरेका छन् ।

जिल्ला इन्चार्ज शार्दूलको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनता कोरोना भाइरस (कोभिड १९) र वर्षायामको अविरल वर्षाका कारण दुःखदायी र कष्टपूर्ण जीवन बिताइरहेका छन् । बाढी–पहिरोले गर्दा हजारौँ जनता घरबारविहीन र सयौँको मृत्यु भइसकेको छ । यतिबेला दुःख, कष्ट, पीडा भोगिरहेका जनतालाई सहयोग र उद्धार गर्नुको सट्टा सामाजिक दलाल फासिवादी सत्ता जनतामाथि दमन र धरपकड बढाइरहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यही सन्दर्भमा २०७७ साल साउन ४ गते माडी नगरपालिका वडा नं. ९ कुसुमखोलामा २०३५ सालदेखि बसोबास गर्दै आएका गरिब किसान, सुकुमबासी बस्तीमा दलाल सरकारको निर्देशनमा बफरजोनले दुई घर जलाएको छ भने ८ घर हात्ती प्रयोग गरी भत्काइदिएको छ । बाँकीलाई तुरुन्त गाउँ छोड्न निर्देशन दिएको छ । कुल १६० घर रहेको गरिब किसान बस्तीमा दलाल सरकारले गरेको अमानवीय, संवेदनाहीन हर्कतको हाम्रो पार्टी घोर विरोध र भत्र्सना गर्दछ ।’

शार्दूलको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कठिन बर्सात्को समयमा लामो समयदेखि बसोबास गर्दै आएका गरिब किसान श्रमिकलाई उक्त क्षेत्रबाट नहटाउन, आगो लगाई जलाइएका र भत्काइएका घर पुनः निर्माण गरिदिन हाम्रो पार्टी अनुरोध गर्दछ । साथै सम्पूर्ण पार्टी, जवस, मोर्चाका नेता–कार्यकर्तालाई सुरक्षा र उद्धारमा खट्न निर्देशन गर्दछ ।’

प्रतिक्रियाहरु