नेकपाद्वारा एकीकृत जनक्रान्ति सम्पन्न गरेर पुष्पलालको सपना पूरा गर्ने प्रतिबद्धता

२०७७ श्रावण ७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना एकीकृत जनक्रान्ति सम्पन्न गरेर पूरा गर्ने प्रतिबद्धता जनाएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अबसरमा प्रेस बिज्ञप्तिमार्फत सो प्रतिबद्धता जनाएका हुन्। प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले पुष्पलालले २००६ सालमा स्थापना गरेको कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रूपमा एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको र नेकपाले २००६ सालदेखि श्रमजीवी वर्ग, क्रान्ति र क्रान्तिकारीहरूलाई धोका दिएर यो वा त्यो रूपमा पुँजीपति वर्ग र शासक वर्गको सेवा गर्ने नेपाली कम्युनिस्ट आन्दोलनको प्रतिक्रान्तिकारी दक्षिणपन्थी विसर्जनवादविरुद्धकोे निरन्तर क्रान्तिको झन्डा उठाएको पनि बताएका छन् ।
प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘आज साउन ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस हो । नेपालमा श्रमजीवी जनताको राजनीतिक पार्टी नेपाल कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको प्रादुर्भावकर्ता क. पुष्पलाल श्रेष्ठप्रति ऐतिहासिक स्मृति दिवसका सन्दर्भमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी अभिवादनसहित उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।’

प्रकाण्डको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘क. पुष्पलाल श्रेष्ठ नेपालमा कम्युनिस्ट पार्टी र सर्वहारा क्रान्तिको प्रथम परिकल्पनाकार नेतृत्व हो । उहाँले तत्समयको निरङ्कुश जहानिया राणा शासन र सामन्ती पञ्चायती निरङ्कुश शासनका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यक्रम अघि सारेर सङ्घर्ष गर्नुभयो । तत्कालीन समयको नेपाल कम्युनिस्ट पार्टीभित्रको लाइन सङ्घर्षमा कम्युनिस्ट पार्टी, क्रान्ति र नेतृत्वका विरुद्ध षड्यन्त्र गर्ने मनमोहन अधिकारी र केशरजङ्ग रायमाझीको दक्षिणपन्थी राजापरस्त लाइनका विरुद्ध जीवन–मरणको सङ्घर्ष गर्नुभयो । आफूलाई कम्युनिस्ट पार्टी र जनवादी क्रान्तिका पक्षमा अविचलित खडा गर्नुभयो । क. पुष्पलाल श्रेष्ठको महानता, आदर्श, कम्युनिस्ट पार्टी, उत्पीडित वर्ग र सामाजिक क्रान्तिप्रतिको अगाध निष्ठाको हाम्रो पार्टी उच्च सम्मान गर्दछ । कम्युनिस्ट पार्टी, क्रान्ति र नेतृत्वका विरुद्ध षड्यन्त्र गर्ने दक्षिणपन्थी अवसरवादी प्रवृत्तिको घोर निन्दा र भत्र्सना गर्दछ ।’

प्रकाण्डको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड पुष्पलालले २००६ सालमा स्थापना गरेको कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रूपमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति सञ्चालन गरिराखेको छ । यो २००६ सालदेखि श्रमजीवी वर्ग, क्रान्ति र क्रान्तिकारीहरूलाई धोका दिएर यो वा त्यो रूपमा पुँजीपति वर्ग र शासक वर्गको सेवा गर्ने नेपाली कम्युनिस्ट आन्दोलनको प्रतिक्रान्तिकारी दक्षिणपन्थी विसर्जनवादविरुद्धकोे निरन्तर क्रान्तिको झन्डा हो । यसर्थ हाम्रो पार्टी क. पुष्पलाल श्रेष्ठको सपनालाई नेपालमा एकीकृत जनक्रान्ति सम्पन्न गरेर पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘क. पुष्पलालको स्मरण गरिरहँदा यतिबेला देश राष्ट्रियता र जनअधिकारका दृष्टिले सर्वाधिक सङ्कटको घडीमा छ । क. पुष्पलालप्रतिको सच्चा श्रद्धाञ्जलीका निम्ति नेपालका कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध भएर दलाल पुँजीवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध जनक्रान्तिलाई निर्णायक बनाउन हाम्रो पार्टी सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई विशेष अपिल गर्दछ ।’

प्रतिक्रियाहरु