उत्तर आधुनिकतावाद र विनिर्माणवादका बहुल मान्यता – नेत्रबहादुर कुँवर ‘अशोक’

२०७३ मंसिर १५ गते, बुधबार

१. विषय प्रवेश
उत्तर आधुनिकतावाद र विनिर्माणवाद विश्व साहित्यमा मात्र होइन नेपाली साहित्यमा समेत दबदबा रूपमा अघि आइरहेको छ । समकालीन स्रष्टा एवम् साहित्य कुनै न कुनै रूपमा उत्तर आधुनिकतातिर ढल्किएको भन्ने आक्षेप छ । यसैबिच उत्तर आधुनिकतावाद र विनिर्माणवाद के हो त भन्ने विषयमा यो लेखमा चर्चा गरिएको छ । प्रस्तुत लेखको शीर्षक उत्तर आधुनिकतावाद र विनिर्माणवादका बहुल मान्यता रहेको छ ।
२. उत्तर आधुनिकतावादी बहुल मान्यता
अङ्ग्रेजी भाषाको शब्द ‘Postmodernism’ को नेपाली रूपान्तरण उत्तर आधुनिकतावाद हो । सन् १९३४ मा सर्वप्रथम फेडरिको डी. ओनिसले यस शब्दको प्रयोग गरेका हुन् । पछि आर्नोल्ड टोयनबीको पुस्तक ‘A study of History’ कृतिमा प्रथम र द्वितीय विश्वयुद्धबिचको समयावधि बुझाउनका निम्ति यस शब्दको प्रयोग गरेको बुझिन्छ । ‘Postmodernism’ को शब्दिक अर्थलाई हेर्दा ‘Post’ भन्नाले ‘पश्चात्’ र ‘Modernism’ भन्नाले ‘आधुनिक’ भन्ने हुन्छ । यसरी आधुनिकतावाद (सन् १९६०) पछिको पाश्चात्य जगत् मा विकसित साहित्यिक सिद्धान्त नै उत्तर आधुनिकतावाद हो । यस मान्यतामा संरचनावाद, उत्तर माक्र्सवाद, उत्तर आधुनिकतावादका तिन वटै मान्यताहरू प्रस्तुत भएका छन् । यो दर्शन राजनीति, अर्थतन्त्र, भाषा चिन्तन, निर्माण प्रविधि र सञ्चार प्रविधिसँग सम्बद्ध नयाँ चिन्तनद्वारा सृजित सामाजिक, संस्कृतिक चिन्तनको एउटै मेलो हो ।
परम्परित तवरमा साहित्यिक प्रणाली र सिद्धान्तको विकास युरोपबाट भएको पाइन्छ तर उत्तर आधुनिकतावादले युरोपेली केन्द्रीयतालाई क्रमभङ्ग गर्दै अमेरिकी केन्द्रीयतालाई सूत्रपात गरेको छ । यस सिद्धान्तले अमेरिकी भाषा, संस्कृति, आधारभूत मूल्य मान्यता, शक्ति, सामथ्र्य आदिको पृष्ठपोषण गरेको छ । खास गरी अमेरिकी स्रष्टा चार्ल्स ओल्सनको आविष्कार तथा मार्क्सवादी समालोचक जेम्सनले फ्रान्सेली साहित्यको ‘एभान्डगार्ड’ को विकासपछि यसले वास्तविक स्वरूप लिएको बताएका छन् । एभान्डगार्ड एउटा त्यस्तो मान्यता हो जसले व्यक्तिवाद, अराजक, यथार्थको विरोध, वितृष्णा, पुरातनप्रतिको मोह पलायन र भ्रम जस्ता बहुलतामा रमाउने गर्दछ । द्वितीय विश्वयुद्ध औद्योगिक मन्दी, ज्ञानको व्यापकता, विश्व भूमण्डलीकरण, सूचना प्रविधिको विकास, सांस्कृतिक अन्तर्मिश्रण, बहुलवाद, मार्क्सवाद विरोधी अवधारणा, उपभोक्तावाद, औपनिवेशिक साम्राज्यवाद, विस्तारवाद आदि नीतिहरू विकास हुन पुगे । यसैसँगै लियोटार्ड, बड्रिलार्ड, मिचेल फुको, ज्याक डेरिडा, फ्रेडरिक जेम्सन आदि विद्वान् ले विश्वलाई नवीन ढङ्गले पुनव्र्याख्या गर्नुपर्नेमा जोड दिए । पुँजीवादी प्रसारवाद, बहु राष्ट्रिय कम्पनीहरूको विस्तारवाद आदिका कारण विश्वलाई भूमण्डलीकरण गर्न थालियो । तसर्थ मिचेल फुकोको शक्ति र ज्ञानको सिद्धान्त, डेरिडाको विनिर्माणवाद, लियोटार्डको महाख्यानको अन्त, बड्रिलार्डको उपभोक्तावादी मान्यता, जेम्सनको उदार पुँजीवाद, रोलाँ बार्थको पाठपरक अवधारणा चर्चामा आए । यसबाट उत्तर आधुनिकतावादको पकड मान्छेको व्यक्तिगत वा सार्वजनिक जीवनसँग सम्बद्ध हरेक पक्षमा पर्न गयो । सन् १९७९ मा प्रकाशित लियोटार्डको The postmodern condition A Report on Knowledge, हसन मिलुवाकीको The post modern Turn: essays in postmodern Theory & culture, फ्रेडरिक जेमसनको post modernism: o n the wltural logic of Late capitalism(1991) आदि कृतिले उत्तर आधुनिकतावादलाई थप विकास गर्नका लागि सहयोग पुर्यायो । अहिले उत्तर आधुनिकतावादको विकास र विस्तार कला साहित्यमा समेत गहिरो प्रभावमय भएर जमेको छ । मार्क्सवादको आलोचना गर्ने यस सिद्धान्तले पुँजीवादी विश्व निर्माणको ध्येय राख्दै कला साहित्यमा प्रत्यक्ष प्रभाव पारेको छ ।
यसरी प्रविधि केन्द्रित भाषाशैलीको आविष्कार र पद्धतिको आविष्कारमा जोड दिँदै, माक्र्सवादी दृष्टिकोणको खण्डन गर्दै विपठन, बहु केन्द्रक, अराजक लेखनमा जोड, सार्वभौमिकता र सार्वकालिकतालाई आधार मान्दै विश्वलाई मूल्याङ्कन र विश्लेषण गर्नु पर्छ भन्ने धारणा कला साहित्यमा पनि सशक्त रूपले छाएको छ । कला साहित्यलाई उत्तर आधुनिकतावादको आधारभूत कसीमा राखेर हेरिनु पर्छ भन्ने समालोचना प्रणाली नै उत्तर आधुनिकतावादी समालोचना प्रणाली हो । यसका निम्न मान्यताहरू रहन्छन् ।
–केन्द्रभङ्ग वा एककेन्द्रको सत्तालाई समाप्त पारी अर्थ बहुलता खोली गरिएको पाइन्छ । ज्याक डेरिडाको विनिर्माणवादमा यस सम्बन्धी मान्यता छ ।
–रोनाल्डा सुखेनिकले Death of the Novel and other stories (1969) मा यथार्थ सुन्दर यात्राको भ्रमणमा निस्केको छ भन्दै भ्रम उडन्ते, स्वैर कालपनिक चिन्तनमा विश्वस गरेका छन् ।
–नित्सेको Tee Genelogy of moral पुस्तकमा शून्यता, रिक्तता, भौतिक यन्त्रणाको वर्णन गरेका छन्, जसबाट भौतिकवादबाट पलायन हुँदै अराजक, उत्तेजना, आवेगमा उद्दत भई आत्मपराजयमा डुबेको छ ।
–मेलियरको Why Are we in Victnam ? पुस्तबबाट तानाशाही व्यवस्थाको आलोचना गर्दै स्वतन्त्रता, मानव अधिकार, सीमान्तकृत वर्गको उत्थानमा उत्रनुपर्ने मान्यता राखेका छन् ।
–विधाको विखण्डन, विधा भञ्जन गर्दै विधागत मूल्य धरापमा पारिएको छ । अर्थात् विधागत इमानदारिता हुँदैन ।
–उत्तर आधुनिकतावादले भ्रमलाई सत्यमा अर्थात यथार्थको छलन गरी सूचना र प्रविधिका कारण यस्तो हुने मान्यता राख्छ ।
–उत्तर आधुनिकतावादको अर्को मान्यता अनन्त अर्थ नै कृतिको लक्ष्य भन्ने रहेको छ । यसमा भाषिक खेल, अन्तर्पाठात्मक अध्ययन गरिन्छ ।
–निरर्थक लेखक वा शून्यवाद नै यस मान्यताको मूल सार हो । सैद्धान्तिक लेखनलाई ध्वस्त पारेर शून्यवाद खोज्नु यिनीहरूको मूल मन्त्र हो ।
–अश्लीलता र यौन जङ्गली रूपलाई प्रश्रय दिँदै नाङ्गो हुनुलाई पारदर्शी हुनु भन्ने मान्यता राख्दछ ।
–डायस्पोरा शैलीलाई लेखनको शैली बनाइनुपर्ने मान्यता उत्तर आधुनिकतावादको अर्को महत्त्वपूर्ण मान्यता हो ।
–भाषालाई खेल र विज्ञानलाई नाटक ठान्नु उत्तर आधुनिकतावादको तर्क रहन्छ ।
उत्तर आधुनिकतावादको मान्यतालाई पछ्याउँदा उत्तर आधुनिकतावादी समालोचनाले चिन्तन अनिश्चितता, शून्यता रिक्तताकेन्द्री अवधारणालाई मूल मान्यता बनाउँदै यथार्थलाई अतिरञ्जनात्मक, स्वैर कालपनिक रूपमा प्रस्तुत गर्नु, मनगडन्ते, भ्रामित द्वैत मनोदशा, पुँजीवादको उदय र मार्क्सवादको आलोचना गर्नु यसको आधारभूत चिन्तन हो ।
३. विनिर्माणवाद र यसका मान्यताहरू
अङ्ग्रेजी Deconsttuction को नेपाली रूपान्तरण विसंरचनावाद हो र यो अवधारणाले सन् १९६० पछिको विश्वज्ञान विज्ञानका क्षेत्रमा आएका परिवर्तनहरूलाई सङ्केत गर्दछ । नेपालीमा विसंरचनावादलाई विनिर्माणवाद, विरचनावाद, विसङ्घटनावाद, विनिर्मितिवाद आदि नामकरणसमेत गरिएको पाइन्छ । फ्रान्सेली विद्वान् ज्याक डेरिडाको पाठको अध्ययन गर्ने पद्धति वा चिन्तनको रूपमा विसंरचनावादको विकास भएको मानिन्छ । सन् १९६६ मा जोन हप्किन्स विश्व विद्यालयमा आयोजित गोष्ठीमा डेरिडाले ‘Structure, sign and play in Discourse of the human science’ शीर्षकको लेखबाट यसवादको मान्यता अघि सारे । यिनले नित्से र हाइडेगरको शून्यतावादी दर्शनको मौलिक मान्यता विकास गरे ।
विसंरचनावादलाई ध्वंसात्मक र रचनात्मक दुबैै स्तरमा अथ्र्याएको पाइन्छ । ध्वंसात्मक भन्नाले पाठभित्रका अनिश्चय, अन्तर्विरोध, जटिलता, बहुलता खोज्दै पाठकलाई भ्रम र अन्योल भन्ने मान्यता बुझिन्छ । डेरिडासँगै पौल डि. म्यान, हेराल्ड ब्लुम आदि विद्वान् ले यस सिद्धान्तलाई सैद्धान्तिक र व्यावहारिक दुबैै रूपले चिनाउने प्रयत्न गरे । सन् १९७९ मा प्रकाशित ‘Deconstruction & criticism’ कृति विनिर्माणवादको घोषणा पत्र नै हो । यस मान्यताले इतिहासको सत्यतालाई शङ्काको दृष्टिले हेर्ने काम गर्दछ । विसंरचनावादले मूलतः निम्न मान्यताहरू प्रस्तुत गर्दछ ।
३.१ शब्द केन्द्रवादः डेरिडाले पाश्चात्य परम्परामा शब्द केन्द्रवादको प्रभुत्व छ भन्दै विरोध गरेका छन् । शब्द केन्द्रवाद भनेको शब्दले आफूभन्दा बाहिरको अर्थ दिन्छ भन्ने अवधारणा हो । पाश्चात्य चिन्तनहरू यसै मान्यतामा बाँधिएका छन् । शब्दपछाडि भाव, विचार वा अर्थ छ भन्नु उपस्थितिलाई स्वीकार गर्नु हो । यसलाई उपस्थितिको अध्यात्मवाद भनिन्छ । उनले यसलाई उल्टाएर अनुपस्थिति वा भिन्नताको अवधारणा अघि सारेका छन् ।
३.२ भिन्नताको सिद्धान्तः डेरिडाले भाषाको पछाडि अर्थ अनुपस्थित हुने तर्क गरेका छन् । सस्युरको शब्द र अर्थको सम्बन्ध हुन्छ भन्ने मान्यतालाई खण्डन गर्दै डेरिडाले ती दुई तत्त्वका बिच बिमेल, अनिश्चय, बहुल सम्बन्ध हुने भन्दै भाषाको चिह्न रूप वा गुणद्वारा भिन्न हुनु, चिह्नले अन्तहीनतिर सङ्केत गर्नु दुई सन्दर्भमा भिन्नता हुन्छ भनेका छन् । उपस्थिति र अनुपस्थितिको खेलमा नै कृतिको अर्थ सीमित रहन्छ भन्नु नै डेरिडाको मान्यता हो ।
३.३ लेख्य केन्द्रवादः भाषाको आधिकारिक रूप कथ्य हो भन्ने सस्युरको मान्यताका विरुद्धमा यो सिद्धान्त आएको देखिन्छ । यस सिद्धान्तले लेख्य रूप नै भाषाको उत्पादन हो भन्ने मान्यता राख्दछ । लेखनकै कारण भाषामा भिन्नता आउँछ । कागजका काला अक्षर नै भाषाका आधिकारिक स्रोत हुन् भन्ने मान्यता डेरिडाको रहेको छ ।
३.४ आलङ्कारिकताको महत्त्वः डेरिडाले भाषाको सम्पूर्ण रूपलाई आलङ्कारिक ठानेका छन् । साहित्य मात्र नभई दर्शन, इतिहास आदिमा प्रयुक्त भाषासमेत आलङ्कारिक हुन्छ भन्ने मान्यता डेरिडाको छ ।
३.५ द्विचर विभेदः डेरिडाले भाषाको शक्ति शब्द केन्द्रवाद हो र यसलाई खुकुलो पारेर पाठको अध्ययन गर्न सकिन्छ भनेका छन् । भाषाको तह र क्रमलाई उल्टाउन सकिन्छ । पहिलो पठन यथारूपमा गरिसकेपछि उल्टाएर यसको अध्ययन गर्नु पर्छ । यसरी विस्थापित पारेर अध्ययन गर्नु नै विसंरचना हो ।
३.६ अपव्याख्या वा अपपठनः पाठको प्रत्येक पठन अपव्याख्या हुने हुँदा विसंरचनावादीहरूले प्रत्येक पठन अनिवार्य रूपमा अपपठन हुने तर्क गरेका छन् । यसबाट पाठको अनिश्चितता र विचलनलाई स्वीकार गर्दछ ।
विसंरचनावादका तमाम् मान्यतालाई हेर्दा यो सिद्धान्त परम्परित दृष्टिकोणलाई उल्टाएर पाठको अनेकन पठन र व्याख्या हुने भन्दै पाठको संरचनालाई विखण्डन गरी अर्थ पाठबाहिरबाट नखोजी पाठभित्रैबाट खोजी गर्ने सिद्धान्त हो ।
४. निष्कर्ष
समग्रमा उत्तर आधुनिकतावादले चिन्तन अनिश्चितता, शून्यता रिक्तताकेन्द्री अवधारणालाई मूल मान्यता बनाउँदै यथार्थलाई अतिरञ्जनात्मक, स्वैर कालपनिक रूपमा प्रस्तुत गर्नु, मनगडन्ते, भ्रामित द्वैत मनोदशा, पुँजीवादको उदय र मार्क्सवादको आलोचनाको आधारभूत मान्यता राख्दछ । त्यस्तै विसंरचनावादले परम्परित दृष्टिकोणलाई उल्टाएर पाठको अनेकन पठन र व्याख्या हुने भन्दै पाठको संरचनालाई विखण्डन गरी अर्थ पाठबाहिरबाट नखोजी पाठभित्रैबाट खोजी गर्ने मान्यता राख्दछ ।

प्रतिक्रियाहरु