समाजवादी शिक्षा र यसका विशेषताहरु

२०८१ बैशाख ४ गते, मंगलवार

मानिसले यो पृथ्वीमा जन्मेदेखि मृत्युपर्यन्तसम्म विभिन्न माध्यमहरुबाट प्राप्त गरेका सम्पूर्ण अनुभवहरु मस्तिष्कमा अदृश्यरुपले विद्यमान संसारको त्यो सर्वमान्य बिचारलाई शिक्षा भनिन्छ । सामान्य अर्थमा ज्ञान प्राप्त गर्नु वा सिक्नु वा अनुभव प्राप्त गर्नु शिक्षा हो । शिक्षा संस्कृत भाषाको शिक्ष् धातुबाट उदघृत गरिएको मानिन्छ । त्यस्तै शिक्षालाई अंग्रेजीमा Education भनिन्छ । Education शब्द Latin भाषाको edu र catum मिलेर बनेको हो । edu को अर्थ आन्तरिक र catum को अर्थ बाहिर निकाल्नु हुन्छ । Education बाट Educere, Educare हुँदै Education भएको हो । शिक्षा प्राप्त गर्ने र प्रदान गर्ने प्रक्रिया प्राचीनकालदेखि आदिम साम्यवादी युग, दास युग, सामान्ति युग हुँदै अहिले पुँजीवादी युगमा चलिरहेको छ । शिक्षा प्राप्त गर्ने र प्रदान गर्ने शैलीहरु युग अनुसार फरकफरक भएपनि वास्तवमा शिक्षा विभिन्न घटनाक्रमहरुबाट भोगेर, औपचारिक, अनौपचारिक संस्थाहरुबाट अध्यन अध्यापन गराएर र अनुसन्धान जस्ता विविध माध्यमहरुबाट प्राप्त गर्न सकिन्छ । आजको युगमा पनि शिक्षालाई विद्यालयको चौघेराभित्र राखेर सिमित पाठ्यक्रममा केन्द्रित रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो भन्नुलाई संकुचित सोचका रुपमा लिन सकिन्छ । पुँजीवादी व्यवस्था अन्तर्गतको पुँजीवादी शिक्षाले केही सिमित मानिसहरुको हित गरेपनि समग्र श्रमजीवी जनताको हित गर्न असफल साबित भएको छ । यसले समाजलाई पुरानो चेतनामा राखेर बिकसित तथा नवीन परिणामको माग गर्दछ । पुरानोलाई दिमागमा राखेर नयाँको परिकल्पना गर्नु सपना बाहेक अरु हुँदैन । अहिलेको शैक्षिक प्रणाली र दृस्ठिकोणले समग्र मुलुकका राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, वातावरणीय, शारीरिक र रक्षाका समस्याहरुको उचित समाधान सहितको उर्जा दिनुको सट्टा युवाहरूलाई झन बढी निरासा, हैरानी र अभाव दिनेगरी समस्या बल्झाएको छ । लाखौं युवा जनशक्तिहरुलाई बिदेशीन बाध्य पारेको छ । यसले बिद्यताको रुख उमार्न सृजनशिलताको पात र उत्सुकताको हाँगा निमोठेकोछ । नेल्सन मण्डेलाले भने जस्तै “शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौं ।” त्यसैले अबको बिश्वलाई बुझ्न र संसारलाई बदल्न समाजवादी मोडेलको समाजवादी शिक्षाको आवश्यकता प्रमुख बनेको छ । जसका विशेषताहरुलाई यसरी बुझ्न सकिन्छ ।
१. राजनीति विशेषता :
हाम्रो शरीर संचालन र नियन्त्रणको मुख्य अंग मस्तिष्क भए जस्तै देश निर्माणको मुख्य संयन्त्र राजनीति हो । शिक्षा समाजलाई बुझ्ने र अग्रगमन तिर बदल्ने हुनुपर्दछ । समाजवादी शिक्षाले राजनीतिभित्रको भ्रष्ट, दलाल र खराब प्रवृत्तिलाई निस्तेज पार्दै इमान्दार, देशभक्तिपूर्ण र पारदर्शी बन्न प्रेरित गर्दछ । बाह्य हस्तक्षेप, सिमा अतिक्रम र देशबिरुद्ध हुने आन्तरिक र बाह्य सम्पूर्ण चलखेलहरुको सुझबुझपूर्ण तरिकाले खुलेर बिरोध गर्न सक्ने शिक्षित युवा दस्ता तयार पार्दै देश बिरोधि गतिविधिहरु पूर्ण रुपले बन्द गर्न प्रेरित गर्दछ । देशको कानुन, परराष्ट निति, सुरक्षा संयन्त्रहरु, संबैधानिक अंगहरु र राज्यका सबै अवयबहरुलाई जनहित तथा राष्ट्रहित हुनेगरी निर्माण, परिचालन र नियन्त्रणमा सहयोग गर्दछ । राजनीतिलाई देश निर्माणको मुख्य आधार मानी कुसल नेतृत्व निर्माणमा त्यसको आधार तयार गर्न आधारभुत तहदेखि औपचारिक पाठ्यक्रममा “असल राजनीति र कुसल नेतृत्व” विषयक समाबेश गरि अध्ययन अध्यापन गराउन सुरु गर्दछ ।
बदलिदो विश्व भुराजनिती परिस्थिति र सामरिक महत्वका हिसाबले भुराजनितिक प्रतिस्पर्धाको प्रभावबाट नेपाल अछुतो रहन सक्दैन । धुर्बिकृती विश्व राजनितिकका कारण कुटनैतिक अभ्यासमा नेपाल विगत देखि रुमलिदै आएको छ । बिदेशी शक्ति केन्द्रहरुले आफ्नो स्वार्थ अनुकुल कुटनैतिक सक्रियता बढाउदै आएका छन । बिदेशी शक्तिको स्वार्थ केन्द्रित अस्वस्थ प्रतिस्पर्धाबाट जोगिदै आफ्नो हित अनुकुल एजेन्डाहरु आत्मसात गरि अघि बढ्न र त्यसै अनुकूल मुलुकको कुटननीति संचालनको वातावरण बनाउन प्रेरित गर्दछ ।
नेतृत्वले कुटनैतिक मर्यादालाई कुल्चिएर आफ्नो स्वार्थ अनुकुल गतिविधि र सक्रियतालाई बढाउन पूर्ण रुपले बन्द गर्नेछ । जसका कारण मुलुकको स्वाधीनता झन बढी बलियो हुँदै जानेछ ।
२. आर्थिक विशेषता :
अर्थ राज्य संचालनको रक्तसञ्चार र देश बिकासको मेरुदण्ड हो । यो सरकारको राजनीति, आर्थिक र सामाजिक दस्तावेज हो । नेपाल सरकारले प्रत्येक बर्ष जेठ १५ गते बर्ष भरिको आम्दानी र खर्चको विवरण संसदमा पेस गरि राष्ट्रपतिबाट स्वीकृति प्राप्त गरि कार्यान्वयनमा ल्याउद छ । बजेट बनाउदा आम्दानी तर्फको राजस्व, अनुदान र ऋण । खर्च तर्फको चालू खर्च, पूँजीगत खर्च र वित्त व्यवस्थापनमा बृहत अध्ययन नगरी आर्थिक बजेट बनाउने गरेको देखिन्छ । आम्दानी तर्फको राजस्वमा आकलन गरेको करिब ६० प्रतिशत कर मिलेमतोमा करछली गरेर करिब ४० प्रतिशत मात्रै राजस्व उठ्ने गरेको देखिन्छ । बिदेशी संग मागेको अनुदानमा करिब ५ देखि १० प्रतिशत मात्रै अनुदान प्राप्त हुन्छ । स्वदेश तथा बिदेशबाट मागेको ऋणको अनुपात हेर्दा हामिले सोचेको भन्दा बढी प्राप्त गरि खर्च गर्दा सार्वजनिक रिणको अनुपात अत्यधिक बढेको छ । हाम्रा प्राकृतिक श्रोतसाधन बिदेशीको कब्जामा पुगेका छन । खर्चको कुरा गर्दा चालू खर्च करिब ६५ प्रतिशत (प्रशासनिक खर्च र कर्मचारीहरुको तलब भत्ता ) भन्दा बढी छ । पूँजीगत खर्च आवस्यकता भन्दा राजनीति पहुँचका आधारमा आफ्नाहरुलाई अनावश्यक क्षेत्रमा बिनियोजन गरिन्छ । त्यसको लेखाजोखा हुँदैन । लगानी गर्नुपर्ने आवस्यकताहरुले अवसर नै पाउदैन । रकम पाएका आवस्यक क्षेत्रमा भागबन्डा नमिल्दा कहिले फ्रीज भएर राज्यकै खातमा जान्छ । बित्तीय व्यवस्थापनको काम पनि त्यति अपेक्षाकृत देखिदैन । यसरी हेर्दा अर्थतन्त्रमा टेवा पुग्ने लगानी क्षेत्रहरुले मौका पाएको देखिदैन । स्वदेशमा रोजगारको अवसर नपाएर लाखौं युवाहरु बिदेशीन बाध्य भएका छन ।

दयाराम सी


समाजवादी व्यवस्थामा शिक्षाले माथिका सबै समस्याहरुको उचित हल दिन सचेत पहलकदमी बढाउने छ । बजेट बनाउदा रोजगारी र उत्पादनलाई मुख्य जोड दिने छ । देशलाई कृषि उत्पादन द्वारा आत्मनिर्भर हुँदै औधोगिक उत्पादन द्वारा समृद्धि निम्त्याउने लक्ष्य राख्ने छ । देशमा रहेका खनिज पदार्थहरुको खोज,अनुसन्धान, उत्खनन र औद्योगिकरणमा जोड दिनेछ । नवीनताको उत्पादन, ब्यापारीकरण र पर्यटन व्यवसायको प्रचारप्रसार र प्रवर्द्धन गर्नेछ । जलविद्युत र उद्योग क्षेत्रमा आन्तरिक र बाह्य लगानी भित्र्यान लगानीकर्ताहरुलाई प्रशासनिक रुपमा सहज वातावरण बनाई बिदेशी पूँजी भित्र्याउने छ । गलत गतिविधिहरुमा कडा निगरानी राख्ने छ । देशमा उद्योगधन्दा कलकारखानाहरु स्थापना गरि लाखौं युवाहरूलाई रोजगारी प्राप्त गर्ने वातावरण सुनिस्चित गर्ने छ । कृषि उत्पादनलाई विशेष जोड दिने छ । आयात प्रतिस्थापन गरेर गुणस्तरीय बस्तुको निर्यात बढाउने छ । करका दर घटाएर सबै करदाताहरुलाई राजस्वको दायरामा ल्याउने छ । आन्तरिक उत्पादनलाई बढाएर सकेसम्म बिदेशी ऋण लिने काम बन्द गर्न सामुहिक चेतना पैदा गर्ने छ । अत्यधिक समृद्धि उसको क्षमता र न्युनतम जिबन व्यवस्थापन राज्यको दायित्वको निति मुख्य ठान्ने छ । अर्थतन्त्रमा नेपाललाई बिश्वको एक बलियो खम्बा बनाउने योजनामा लाग्ने छ ।
३. सामाजिक विशेषता :
नेपाली समाज विभिन्न जातजाति, भाषा, धर्म, संस्कृती, भेषभुसा, चालचलन र रहनसहनले भरिपूर्ण समाज हो । नेपाली समाजमा विविधता बिच एकता पनि छ । तर पनि बहुमतले अल्पमतलाई, बलियोले कमजोरलाई जात, भाषा, धर्म, लिंग, अपांगता, वर्गीयता, क्षेत्रीयता र रंगका आधारमा समय समयमा अपमान, घृणा र विभेद हुने गरेको देखिन्छ । यस्ता मानवता बिरोधी गलत प्रकारका प्रवृत्तिहरुलाई एउटा शैक्षिक जागरण र राज्यको कानुनको उत्कृष्ट प्रयोग मार्फत समाजवादी व्यवस्थामा नियन्त्रण गर्न सकिन्छ । समाजवादी शिक्षाले समाजलाई पुरानो ठाउँ बाट धोइपखाली नयाँ सपनाको संसारमा पुर्याउने छ ।
४. सांस्कृतिक विशेषता :
सांस्कृतिक विषय मानिसको चिन्तन, प्रवृत्ति, संस्कार, संस्कृती, भाषा, शैली र समग्र व्यवहार झल्किने समाजको एक गहना हो । समाजको सुन्दरता प्रदर्शन गर्ने ऐना हो । अहिलेको बिज्ञान र प्रविधिको जमानामा पनि हाम्रा केहि संस्कृतीहरु राम्रा भएपनी प्राय पुराना, रुढीबादी र जडतामा बाधियका छन । संस्कृति समग्र मानव समाजलाई न्याय, समानता, एकता र भातृत्वमा आधारित हुनुपर्छ । मानव मानव बीच विभेदका खाडलहरु पैदा गर्ने हुनुहुदैन । सामाजिक सदभाव र सामाजिक एकता कायम गर्ने हुनुपर्छ । आफ्ना भाषा शैलिको रक्षा गर्ने हुनुपर्छ । विकसित र जनहित बिचारलाई स्विकार गर्ने हुनुपर्छ । समाजवादी सांस्कृतिक विशेषता भित्र यिनी बिसय समेटिन्छ्न ।
५. शिक्षा र स्वास्थ्य सम्बन्धी विशेषता :
स्वास्थ्यले मानिसलाई जिवित बनाउ छ भने शिक्षाले जिवित मानिसलाई चेतनशील, प्रगतिशील, बौद्धिक र क्षमतावान बनाउछ । तन्दुरुस्त स्वास्थ्य र असल शिक्षालाई एकै ठाउँमा पाउँदा राज्यले राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सक्छ । यी दुई वटा विषयहरु एक अर्का प्रती परिपुरक छन । जसको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ । समाजवादी व्यवस्थामा मानिस जन्मे देखि मृत्यु परेन्त सम्मको स्वास्थ्य जिम्मेवारी र उसले चाहेको र क्षमताले भ्याएको सम्पूर्ण शिक्षा राज्यको दायित्व भित्र पर्ने छ । राज्यको ठूलो लगानी शिक्षा र स्वस्थ्यमा हुनेछ । मानिसका आधारभूत आवश्यकताका सम्पूर्ण जिम्मेवारी राज्यले लिनेछ । राज्यले आवस्यकता अनुसारको काम र काम अनुसारको दाम पनि दिने छ ।
६. बैज्ञानिक तथा प्राविधिक विशेषता :
पछिल्लो समयमा बिज्ञान र प्रविधिको चमत्कारले दिनप्रतिदिन नयाँ नयाँ उचाई हासिल गर्दैछ । मानव मस्तिष्कबाट असफल साबित केही कामहरु बिज्ञानको आविष्कार प्रविधिबाट सम्भव देखिन्छन । मानिसहरुले आफ्ना दैनिक कामहरु प्रविधिको सहायताले छिटोछरितो गरिरहेका छन । जसका कारण ठूलो सफलता पनि मिलिरहेको छ । बिकसित राष्ट्रहरु बिज्ञान र प्रविधिको प्रयोगले कमजोर र साना राष्ट्रहरु माथी आफ्नो अधिनायकत्व थोपरी रहेका छन, दमनमा राखिरहेका छन । यसले आर्थिक, राजनीति, सांस्कृतिक र सामाजिक क्षेत्रहरुमा मात्रै नभई बिश्व भु- राजनीतिमा ठुलो प्रभाव पारेको छ । त्यसैले समाजवादी व्यवस्थामा बिज्ञान र प्रविधिको व्यापक बिकास बिस्तार गरि राजनिती, आर्थिक, सामाजीक, सांस्कृतिक र प्राविधिक समृद्धिले फड्को मार्छ । बिज्ञान र प्रविधिमा ठूलो लगानी गरि देशलाई बिश्वको शक्ति सम्पन्न राष्ट्रका रुपमा बिकास गर्न पहल गर्दछ ।
७. सुचना तथा संचार सम्बन्धी विशेषता :
आधुनिक समाजमा सूचना र संचार प्रत्यक ब्यक्तिको महत्त्वपूर्ण पूँजीको रुपमा बिकास भएको छ । प्रविधिको सहायताले हजारौं कि.मि. टाढाका सुचनाहरु छिनभरमै प्राप्त गर्न सकिन्छ । कहिलेकाही जनतालाई भ्रममा पार्न गलत सूचनाहरु संचार माध्याममा सम्प्रेषित गरिन्छन । समाजवादी व्यवस्थामा जनतालाई संचार तथा सूचनाको भरपुर प्रयोग गर्न दिइने छ तर राष्ट्र र जनतालाई हानी पुग्ने, क्षति हुने गलत सूचनाहरुको संचार र प्रचारप्रसार गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याएर कडा कार्वाही गरिने छ ।
८. सुरक्षा सम्बन्धी विशेषता :
सुरक्षीत बन्नु र सुरक्षा प्रदान गर्नु रहेक ब्यक्ति र राष्ट्रको मुख्य कर्तव्य र दायित्व हो । जुनसुकै काम गर्दा पहिला सुरक्षाको प्रत्याभूति हुन आवस्यक हुन्छ । त्यसका लागि राज्यले समयमै आफ्ना सम्पूर्ण तयारी पुरा गर्न आवस्यक रहन्छ । समाजवादी व्यवस्थाको शिक्षामा आधारभुत तहको कक्षा देखि बालबालिकाहरुलाई सुरक्षा सम्बन्धि विशेष शिक्षण, प्रशिक्षण र तालिम दिइने छ । १५ बर्षदेखिमाथिका सबै युवायुवतीहरुलाई शारीरिक तथा प्राविधिक तालिम दिइने छ । जसले आफुलाई स्वास्थ र तयारी राख्नुका साथै आफ्नो आत्मा रक्षा र देशको रक्षा गर्न सक्षम हुनेछन् ।
९. वातावरणीय रक्षा र पर्यावरणको सन्तुलन :
विकसित मुलुक तथा शक्ति राष्ट्रहरुको औधोगिक उत्पादन र आणविक होडबाजीका कारण कार्बन जस्ता हानिकारक ग्यासहरुको उत्सर्जनले बिश्वको वातावरण दिनप्रतिदिन प्रतिकुल र पर्यावरण असन्तुलन बन्दै गइरहेको छ । यस्ता मानवीय गलत गतिविधिहरुले पृथ्वीको तापमान अत्यधिक वृद्धि भई पृथ्वीबाट मानवसंगै सम्पूर्ण प्राणीहरु लोप हुने खतरा देखिन्छ । त्यसकारण समाजवादी व्यवस्थामा वातावरणको रक्षा र पर्यावरणको सन्तुलन बारे जनस्थरको बुझाईमा एकरुपता ल्याउने छ । यसका लागी संविधानमा कडा कानुनी व्यवस्था गरि शन्यू कार्वन उत्सर्जनको नीति अंगिकार गर्नेछ । बिश्वको तापमान घटाउन शन्यू कार्वन उत्सर्जनका लागि अन्तर्राष्ट्रिय जगतमा पनि सचेत पहल लिनेछ ।
अन्त्यमा समाजवादी शिक्षा अहिले नेपाली जनताका लागि मात्रै नभएर बिश्व समुदायका लागि पनि आवस्यक छ । हामीले विभिन्न औपचारिक र अनौपचारिक क्षेत्रहरुबाट शिक्षा प्राप्त गरिरेका छौं । तर हामीले सोचे जस्तो, हामीले चाहे जस्तो नभई उल्टो परिणाम प्राप्त गरिरहेका छौं । जुन परिणामहरुले हामी आफैलाई कमजोर बनाइरहेको छ । हाम्रा आनिबानी र जिबन शैलि उत्तेजक र अराजक बन्दै गइरहेका छन । हाम्रो स्वास्थ्य, हाम्रो समाज, हाम्रो वातावरण र हाम्रो पर्यावरण नै असन्तुलित हुँदै पृथ्वीको अस्तित्व नासिने अवस्थामा पुग्दैछौं । त्यसैले भबिस्यमा आउने ठुला बिपत्तिहरुबाट जोगिन आजैबाट सचेत बनौं !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु