कम्युनिष्ट एकताको सन्दर्भ र माओवादी केन्द्रको पतन

२०७९ मंसिर १९ गते, सोमबार

डा.केशव देवकोटा

मंसिर ४ को निर्वाचनका पछिल्ला मत परिणामहरुले कम्युनिष्ट पार्टीहरुलाई एक हुनका लागि ललकारेका छन् । यसै मेसोमा संसदवादी दलहरुमध्येको एक माओवादी केन्द्र संकटग्रस्त बनेको मूल्यांकन पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भैरहेको छ । माओवाद मान्ने एउटा कम्युनिष्ट पार्टीले बर्गसंघर्षको सिद्धान्त बिपरित नेपाली कांग्रेससँग अर्को १५ वर्ष कार्यगत एकतामा रहने घोषणा गरेपछिदेखिनै सबैले माओवादी केन्द्रको पतन अवश्यम्भावी रहेको मूल्यांकन गरेका थिए । झन् माओवादी केन्द्रका अध्यक्षले विवादास्पद अमेरिकी योजना एमसीसी नेपालको संसदबाट पारित भएको घोषणा गराउन खेलेको भूमिकाले सबैलाई स्तब्ध गराएको थियो । हाल त्यसको कार्यान्वयन थालिएको छ र त्यसैको पक्षपोषणका लागि माओवादी केन्द्रलगायतका सत्तापक्षिय दलहरुले कार्यगत एकतालाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । माओवादी केन्द्रमा निर्वाचन अघि पदाधिकारीको चयन पनि उल्टो तरिकाले गरिएको थियो । सिनियरलाई तल र जुनियरलाई माथिल्लो पदमा राखिएपछि अधिकांश पदाधिकारीले असन्तुष्टि जनाएको देखिन्थ्यो । त्यसमा पनि अध्यक्षले पदाधिकारीमा छनोट गरेका प्रायः नेताहरु गत निर्वाचनमा पराजित हुनुभएको छ । मंसिर ४ को निर्वाचनका लागि आ–आफ्नो स्थानमा प्रभाव राख्ने राम कार्की, लेखनाथ न्यौपाने र हरिवोल गजुरेललगायतका दर्जनौं नेताहरुलाई टिकटसमेत दिइएन । नभन्दै निर्वाचनपछि सोही पार्टीका कतिपय नेताहरुले नै पार्टी पुनर्गठनको अर्को बिकल्प नभएको बताउन थाल्नुभएको छ । पार्टीलाई संसदीय निर्वाचनमा होम्ने र नेपाली कांग्रेससँग अर्को १५ वर्षसम्म कार्यगत एकता गर्न चाहने सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भएका कारण उहाँले मंसिर ४ को निर्वाचनमा देखिएको हारलाई स्वीकार गरेर नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ । त्यसैगरी एमालेका अध्यक्ष केपी ओलीबिरुद्ध नानाथरिका बिष बमन गर्दै प्रतिगमनकारी ठहर गर्न प्रयासरत माओवादी केन्द्रलाई नेपाली जनताले उल्टै दण्डित गरेपछि पार्टीभित्रै अध्यक्ष दाहालको विवादास्पद भूमिकालाई लिएर अनेक प्रश्नहरु उठ्न थालेका छन् । कम्युनिष्टहरुका बीचमा फाटो ल्याउने र कांग्रेसलाई अघि बढाउने काम किन गरियो ? भन्ने प्रश्न उठेको छ । उहाँले मंसिर ४ को निर्वाचनको प्रचारका क्रममा पश्चिम र सुदूरपश्चिमका यसअघि जनयुद्धका आधार क्षेत्र भनिएका ठाउँहरुमा गएर नेकांको झण्डामुनि बसेर रुख चिन्हको प्रचार गरेको दृश्य सबैले आ–आफ्नो क्यामेरामा कैद गरेर सुुरक्षित राखेका छन् । त्यो दृश्य तत्–तत् क्षेत्रका स्थानीय नेता तथा कार्यकर्ताहरुका लागि ज्यादै लज्जाजनक र अप्रिय विषय भएको थियो । ती क्षेत्रमा पुगेर अध्यक्ष दाहालले माओवादी केन्द्र र नेपाली कांग्रेस उस्तै पार्टी भएको र आपूm ०६३ को राजनीतिक परिवर्तनदेखिनै नेपाली कांग्रेस र त्यसमा पनि सो पार्टीका सभापति शुरुमा गिरिजाप्रसाद कोइराला र पछिल्लो समयमा शेरबहादुर देउवासँग सहकार्यमा रहेको बताउनु भएपछि त स्थानीय नेता तथा कार्यकर्तालाई सहीनसक्नु नै भएको थियो । त्यसैले कतिपय स्थानमा जुत्ताको मालाका अप्रिय प्रशंगहरु पनि उठे । नभन्दै बिभिन्न निर्वाचन क्षेत्रका मतदाताले नेपाली कांग्रेस र माओवादी केन्द्र उस्तै पार्टी भएको भन्दै रुख चिन्हमा मत हालेको देखिएको छ ।

जुन कुरा ती क्षेत्रमा भएको नेपाली कांग्रेसका उम्मेदवारहरुको विजय र प्राप्त मतहरुले स्पष्ट गरेका छन् । तर, भैदियो केभने तालमेलमा माओवादी केन्द्रको भागमा परेका चुनावी क्षेत्रहरुमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले सो पार्टीलाई खासै सहयोग गरेनन् । सो कुरा पनि ती क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले प्राप्त गरेका मतहरुले स्पष्ट गरेका छन् । जसले गर्दा कतिपय नेताहरु ख्यालख्याल गर्दागर्दै आ–आफ्नो प्रभाव क्षेत्रमै अकल्पनिय ढंगले पराजित भए । जसको निर्वाचनलगत्तै स्थलगत मूल्यांकन हुनुपर्नेमा त्यो पनि भैरहेको छैन । बरु निर्वाचनको थकाइ मार्नका लागि अध्यक्ष दाहाल सिन्धुपाल्चोकको सुकुटे पुग्न भ्याउनु भएको छ । गत साता बुधबार सुकुटे पुग्नुभएका अध्यक्ष दाहालले अब कुन कदम कसरी चाल्नु हुन्छ ? त्यो प्रतिक्षाको विषय भएको छ । नेपाली कांग्रेससँग सहकार्य गरेका कारण माओवादी केन्द्रका धेरै नेता तथा कार्यकर्ताहरु नेकांप्रति नै आकर्षित हुँदै गएको देखिएको छ । अबका दिनमा के–कति संख्यामा नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा पलायन हुने हुन् ? त्यो हेर्न बाँकी नै छ । अध्यक्ष दाहालका डेढ वर्षयताका कदमहरुले माओवादी केन्द्रको पार्टी संगठन अस्तब्यस्त भएको पनि मूल्यांकन गर्न थालिएको छ । एमालेसँग पार्टी एकता गरेर अलग भएयता करिव २२ महिनामा हालसम्म कुन, कुन नेताहरुको अवस्था के छ भन्ने कुराको खोजीसमेत गरिएको छैन । को आफ्नो पार्टीमा छ, को निष्कृय भयो र को अर्को पार्टीमा पलायन भयो ? त्यसको पनि कुनै लेखाजोखा भएन । मंसिर ४ को निर्वाचनका क्रममा काठमाडौँमै पनि अध्यक्ष दाहालले जो–जसलाई जितेको खण्डमा फलानो मन्त्रालयको मन्त्री बनाउँछु भनेर आश्वासन दिनुभएको थियो तिनै नेताहरु पराजित भए । शुरुदेखिनै चितवन–३ मा उम्मेदवार हुने रडाको मच्चाउँदै आउनुभएका दाहाल रातारात आफ्नै निर्वाचन क्षेत्रका मतदातालाई धोखा दिएर गोरखा–२ पुगेपछि सो क्षेत्रमा राप्रपाका उम्मेदवारले विजय प्राप्त गरेको देखिएको छ ।

जसको भित्री रहस्यका बारेमा खोजी हुन बाँकी छ । अध्यक्ष दाहालले धनुषाको जनकपुरलगायतका स्थानमा गएर गरेका कतिपय विवादास्पद भाषणका कारण महोत्तरी र धनुषाबाटै गत निर्वाचनका क्रममा हात धुनु परेको पनि देखिएको छ । त्यसैले होला अध्यक्ष दाहालले निर्वाचनलगत्तै पार्टीको समीक्षा बैठक समेत बोलाउने आँट गर्नु भएको छैन । उहाँको प्रयास अझै पनि नेकांका सभापति देउवालाई प्रधानमन्त्री बनाएर सोही सरकारमा पार्टीलाई होम्नेमै केन्द्रित देखिन्छ । सारा वाम पार्टीहरुले कार्यगत एकताका लागि आग्रह गरिरहेका छन् तर अध्यक्ष दाहालको आकर्षण नेपाली कांग्रेस, एकीकृत समाजवादी (नयाँ एमाले) र नेपाल समाजवादी पार्टीतिर मात्र केन्द्रित भएको देखिएको छ । कांग्रेससँग नभई अन्य वाम पार्टी र माओवाद मान्ने पार्टीहरुसँग कार्यगत एकता मात्रै हुन सकेको भए पनि माओवादी केन्द्रको अवस्था र स्थिति आज अर्कै हुने थियो । निर्वाचनपछिका केही अनौपचारिक बैठकहरुमा माओवादी केन्द्रका अन्य नेताहरुले आफ्नो पार्टीले प्रधानमन्त्री नपाए सरकारमा नजाने प्रस्ताव गर्नुभएको थियो । जसले अध्यक्ष दाहाललाई निक्कै असहज बनाएको देखियो । तर, त्यसको पनि पालना हुने कुनै छाँट देखिएको छैन । दाहालले निर्वाचनमा भएको अनपेक्षित पराजयलाई लिएर नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा दिने र नेकांको छाताबाट माओवादी केन्द्रलाई मुक्त गर्ने संभावना अत्यन्त न्युन रहेको छ । यसअघि पनि एमसीसी प्रकरणमा अन्य नेता तथा कार्यकर्तालाई चित्त बुझाउन नसकेको खण्डमा गत जेठमै पदबाट राजीनामा दिने भनिएको थियो । तर, जेठमा त्यसको संझना पनि गरिएन । उहाँले आफ्नो निहित स्वार्थका लागि जानाजान एउटा क्रान्तिकारी पार्टीलाई लगेर दक्षिणपन्थी संसदीय भाषमा फसाइदिनुभएको छ । अब त्यो दक्षिणपन्थी संसदीय भाषबाट माओवादी केन्द्रलाई निकाल्नका लागि अन्य नेताहरुले कठोर निर्णय लिन सक्नुपर्ने भएको छ । संसदवादी कम्युनिष्ट पार्टीमध्ये एमालेले अलग्गै लाइन लिएको देखिएको छ ।

जो सैद्धान्तिक नभएर पपुलिष्ट कम्युनिष्ट पार्टी बन्ने अभ्यासमा छ । एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि सत्ता लिप्साले गर्दा नेकांको पछि लागेर संकटमा पुगेको देखिन्छ । अब डा. बाबुराम भट्टराई नेतृत्वको गैरकम्युनिष्ट पार्टीसँग माओवादी केन्द्रको पार्टी एकताको कुरा पनि छ । त्यसले माओवादी केन्द्रलाई कहाँ पु¥याउने हो ? भन्दै धेरैले चिन्ता र चासो ब्यक्त गरेको पाइन्छ । अर्कातिर अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले बृहत् वाम एकताका लागि प्रयास थालेका छन् । यसैक्रममा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले सबैलाई एक हुन आग्रह पनि गरेको छ । महासचिव चन्दले नेपालका सबै कम्युनिष्टहरुले आ–आफ्नो कमजोरी सच्याएर एक हुने बेला आएको बताउनु भएको छ । हालैको आमनिर्वाचनको विषयमा गतसाता मंगलबार एक भिडियो वक्तव्य दिंदै चन्दले सो कुरा बताउनु भएको थियो । उहाँले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रम मात्रै रहेको बताउनु भएको थियोे । उहाँले सबै कम्युनिष्टहरु एक हुन जरुरी छ पनि भन्नुभयो । उहाँले सो सन्देशमा जनयुद्धको सफलतालाई षड्यन्त्रपूर्वक रोकिएको छ । कम्युनिष्ट जनमत र देशभक्तलाई छिन्नभिन्न बिसर्जित गर्ने र देशमाथि अमेरिकी र भारतीय साम्राज्यवादको नवउपनिवेश खडा गर्ने, नेपालमा मुठ्ठीभर दलालहरुको सत्ता लाद्ने खेल सुरु भएको बताउनु भएको थियो । त्यसैगरी अन्य कम्युनिष्ट घटकहरुले पनि बृहत् वाम एकताका लागि पहल थालेका छन् । तर, माओवादी केन्द्रले वर्गसंघर्षको सिद्धान्तअनुसार नजिकको मित्रशक्तिसँग मिलेर शत्रुशक्तिका बिरुद्ध क्रियाशील हुनुपर्ने विश्वव्यापी मान्यताको ठीक बिपरित नेपाली कांग्रेससँग मिलेर अन्य वाम पार्टीका बिरुद्ध गतिविधि थालेको छ । यी विविध घटनाले अब माओवादी केन्द्रका रहेका सही क्रान्तिकारी र दक्षिणपन्थी एवं छद्मभेषीहरुका बीचमा बिभाजन कोरिसकेको छ । अब फेरि पनि यस्ता गतिविधिहरु भैरहे भने माओवादी केन्द्र विभाजित हुनलाई कसैले पनि रोक्न सक्तैन । समयमा नै माओवादी केन्द्रको पुनर्गठन गरेर पार्टीमा शुद्धिकरण आन्दोलन चलाउन सक्ने हो भने पार्टी सही ढंगले अगाडि बढ्न सक्तछ । यो आमदेशभक्त वामपन्थी र प्रगतिशील शक्तिको गम्भीर चासोको विषय हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु