नेतृत्वको नियत र प्रवृत्तिलाई विश्लेषण गरौँ

२०७९ बैशाख १९ गते, सोमबार

विष्णु पन्त

१. नेतृत्वको नियत र प्रवृत्ति प्रधान हुन्छ – क्रान्ति र पार्टीको चिन्ता छ भने त्यो नेतृत्वले थुप्रै व्यक्तिगत स्वार्थलाई बलिदान गरेको हुन्छ । नेपालको क्रान्तिकारी आन्दोलनमा किरण र विप्लव त्यो उचाई प्राप्त गरेका नेताहरु हुन् । अहिले विप्लव नेतृत्वको नेकपाविरुद्ध एउटा गम्भीर षड्यन्त्र भइरहेको छन् । दुःखको कुरा के हो भने जुन सहकर्मी नेताहरु जेलबाट छुटाउनका लागि तीन बुँदे सहमति गरियो, त्यही नेताहरुबाट हमला गरियो । विप्लवले चुनावलाई प्रयोग गरेर जानु फलदायी हुने आफ्नो धारणा सुस्पष्ट ढंगले राख्नुभयो भने यसलाई निहुँ बनाएर पार्टी र नेतृत्वमाथि हमला गर्ने षड्यन्त्र बनाइयो । कुरा नमिलेपछि बाहिरिनुलाई हाम्रो राजनीतिक संस्कारले स्वभाविक नै ठानेको छ । तर, यहाँ विवादलाई चर्काउनका लागि पार्टीभित्र र बाहिरका अराजक पात्रहरुलाई उक्साउने काम भयो । बैठकमा सहमति गरियो तर बाहिर जानसाथ त्यसलाई उल्लंघन गर्ने काम भयो । चुनावको प्रयोग वा बहिष्कार खासै ठूला विवादका विषय थिएनन् । नेतृत्वको नियत र प्रवृत्तिले त्यसको निर्धारण गर्दछ । बहिष्कार वा प्रयोगलाई लत वा दुव्र्यसनीका रुपमा प्रयोग गर्नु मूर्खता हुन्छ । केही मान्छेहरु ठान्छन् कि बहिष्कारबाहेक अरु गर्नु हुँदैन । अहिलेको प्रश्न हाम्रा शुभचिन्तक र समर्थकहरुको रक्षाको प्रश्न पनि हो । चुनावी मनोविज्ञानले मतदातामा एउटा छाप बनाउँदो रहेछ । हामीले कार्यनीतिको बहस गर्दा सिद्धान्त र व्यवहारलाई हेनुपर्छ । बहिष्कार भन्दै केही नेता डाँडामा गएर पिकनिक खाने अनि अरु भोट हाल्न जाने र उम्मेदवारसँग पैसाको बार्गेनिङ्ग गर्ने प्रवृत्ति सबैले उठाएकै विषय हो । यस पटक प्रयोग वा चुनावलाई पनि संघर्षकै मोर्चाको रुपमा विकास गर्ने नेतृत्वको मुख्य दृष्टि थियो । यो सुस्पष्ट दृष्टिकोणका कारण चौतर्फी षड्यन्त्रहरु भयो । षड्यन्त्रको शुरुवात स्वयं सचिवालयका सदस्यहरुबाट भयो । गोयबल्श शैलीमा पार्टी र नेतृत्वविरुद्व अराजक तथा अराजनीतिक हमला गर्ने तुच्छ कामहरु भए । फरक धारको नेतृत्व सुदर्शन र कञ्चनले गर्नुभएको छ तर उहाँहरुको एकसुत्रीय हमला छ त्यो हो संसदवादमा पतन । हामीले देखेका छौं पार्टीले स्थानीय चुनावको आंशिक मात्र प्रयोग गरेको छ । पार्टीको निर्णय बहिष्कार हो कि प्रयोग भन्न मै भ्रम र अस्पष्टता सिर्जना गर्ने काम भएको छ । प्रयोग गर्दैमा पार्टी संसदवादमा फसेको ठान्ने दृष्टिकोण पूर्वाग्रही छ कि यथार्थवादी भन्ने प्रश्नको विश्लेषण जरुरी छ । किरणले पनि अघिल्लो चुनावमा उपयोग गरी अहिले बहिष्कारको नीति अघि सार्नुभयो । कुनै कालखण्डमा गरिने चुनावको प्रयोग संसदवादमा पतन हुने आधार हो भने क्रान्तिकारी माओवादीलाई के भन्ने ? हामीले भाग लिएको संविधासभाको चुनावलाई के भन्ने ? त्यसकारण नेतृत्वको नियत र प्रवृत्तिलाई विश्लेषण गर्नु बुद्धिमानी हुन्छ । राजनीतिमा विश्वसनीयता र इमान्दारीताको पनि प्रश्न हुन्छ । घात, प्रतिघात अनि षड्यन्त्र र स्वार्थको पनि शृंखला हुन्छ । त्यसकारण नेतृत्वको मूल्यांकन पनि नियत र प्रवृत्तिबाट गर्नुपर्छ । सकिन्छ भने चुनावलाई ध्वस्त गरौं, बहिष्कार गरौं भन्ने महासचिवको प्रस्तावमा सकिँदैन भन्ने अनि त्यसो भए प्रयोग गरौं भन्दा संशोधनवादी भन्ने दृष्टिकोण आफैं रहस्यमय छ । महासचिवले जे भन्यो त्यसको ठिक उल्टो नारा लगाउने उनीहरुको षड्यन्त्र थियो । पार्टीले बहिष्कार भनेको भए उनीहरु उपयोग वा प्रयोग भन्थे । कञ्चनको बौद्धिकता र इमान्दारीताप्रति प्रश्न उठाउने ठाउँ थिएन तर उहाँलाई अरुले प्रयोग गरे । कहिलेकाहीँ हुरी चल्दा सग्ला रुखहरु पनि ढल्दा रहेछन् । राजनीतिमा इमानदारीता र पारदर्शिता हुनुपर्छ । अहिलेको विवादको मूल कारण आर्थिक थियो भने त्यही विषय उठाइएको भए हुन्थ्यो । अब विवादको जड सामूहिक नेतृत्व प्रणालीमा आएको समस्या हो भने प्रष्ट भन्नु पर्दथ्यो । असन्तुष्टिलाई भड्काउने काम भयो । सबै असन्तुष्टिहरुलाई पार्टी र नेतृत्वविरुद्ध उतारेर नेता बन्ने महत्वाकांक्षा बनाउने षड्यन्त्र भयो ।

२. गोयबल्शहरुले जे गर्दैछन् त्यो भन्छन् – गोयबल्शहरुको एउटा सिद्धान्त हुन्छ झुटको साम्राज्य खडा गर्ने । झुटो कुरा हजार पटक दोहो¥याएर सत्य बराबर हुन्छ । उनीहरुको अर्को पनि सिद्धान्त हुन्छ त्यो हो ः भन्ने एउटा गर्ने अर्को । गोयवल्शहरु संसदीय व्यवस्था मुर्दावाद भन्नुको तात्पर्य उनीहरु त्यसैमा जाँदैछन् । गोयवल्शहरुले क्रान्ति भन्नुको अर्थ प्रतिक्रान्ति हो र उनीहरुले एकताको नारा लगाउनुको अर्थ फुट्नु हो । फुट्नु छ भने एकताको नारा लगाउँछन् अनि चोर्नु छ भने अरुलाई चोर भन्छन् । दुःखका साथ भन्नुपर्छ १३ औं केन्द्रीय समितिको बैठकमा मित्रतापूर्ण बहस भएन । बहसमा पार्टी र नेतृत्वप्रति धारे हात लगाउने काम भयो । फरक मत आएन तर विपरित विचारको पक्षपोषण भयो । बहसमा हाम्रो वर्ग दुश्मनको अनि मित्रहरुको प्रवृत्तिको समीक्षा भएन । दुश्मनलाई कमजोर बनाउने विषयमा चिन्तन भएन तर न्वारानदेखिको बल लगाएर मूल नेतृत्वमाथि हमला भयो । राजनीतिक रुपमा बहिष्कारको मुद्दा गलत थिएन तर नियोजित षड्यन्त्र रहस्यमय थियो । बहिष्कार वा प्रयोग के गर्दा पार्टी र क्रान्तिलाई फाइदा पुग्छ भन्ने कोणबाट बहस हुनु जरुरी थियो । महासचिवको प्रस्ताव धेरै दुरदर्शी थियो र पार्टीलाई देशैभर स्थापित गराउने ठूलो अवसर पनि थियो । संसदवादीहरुबीचको शत्रुतापूर्ण अन्तरविरोध पनि हाम्रा लागि अनुकूल थियो । यो अवसरलाई उपयोग गर्ने सबालमा ठूलो अवरोध सिर्जना गरियो । त्यसकारण पार्टी भित्रै गोयबल्हरु जन्मिएपछि नेतृत्व ठूलो संकटमा पर्नु स्वभाविक थियो । सर्वत्र एउटा भ्रम र अस्पष्टता उत्पन्न गर्ने काम भयो । अन्तत्वगत्वा भ्रम टिक्दैन र सत्य टिक्छ । राजनीति क्षणिक स्वार्थमा टिक्दैन र यसको लामो यात्रा हुन्छ ।

३. घोषणा गर्दैमा पार्टी बन्दैन – पार्टीको घोषणा गर्नु कुन ठूलो कुरा भयो र ? घोषणा गर्दैमा पार्टी बन्दैन । पार्टी चलाउन विचार नेतृत्व अनि प्रतिबद्धता चाहिन्छ । अराजकताको ताण्डव नृत्यबाट बन्ने पार्टीको भविष्य देखिने नै छ । अर्को कुरा संसदीय पार्टीमा बिलय हुनका लागि यो षड्यन्त्र भएको हो भन्ने कुरामा शंका छैन । पार्टी बनाउनु वा घोषणा गर्नुलाई जीत ठान्नु महाभ्रमबाहेक केही होइन । पार्टीभित्र मित्रतापूर्ण प्रतिस्पर्धा चाहिन्छ । केही व्यक्तिहरुको चरम महत्वाकांक्षा र उक्साहट नै अहिलेको मुख्य समस्या बन्यो । त्यसकारण इतिहासमा धेरै पार्टीहरु बने र बलिय पनि भए ।

४. बहिष्कारको संसदवादी पतन – सैद्धान्तिक रुपमा संसदीय व्यवस्थाको विरुद्ध गरिने बहिष्कार गलत हुँदैन । यसको प्रयोग र कार्यान्वयनबाट त्यसको मूल्यांकन गर्नुपर्छ । निम्न अवस्थामा बहिष्कार पनि संसदवादकै अङ्ग बन्छ –

क)          बहिष्कार भन्ने तर अन्य दललाई जिताउन मोलमोलाई गर्ने ।

ख)          उम्मेदवारसँग चन्दा माग्ने अनि आपूm वनभोज गर्ने ।

ग)           आफ्ना समर्थकलाई कुनै उम्मेदवार वा दललाई मतदान गर्न प्रभावित गर्ने ।

घ)           हामीले बहिष्कार गर्दा हाम्रा शुभचिन्तकहरु के गर्छन् ? भोट हाल्न त जान्छन् अनि त्यसबाट कसले फाइदा लिन्छन् ? अहिलेको सन्दर्भमा कोही सत्ता गठबन्धन त कोही एमालेलाई मतदान गर्छन् । यो विधिले अन्तत्वगत्वा हामीलाई पनि प्रभावित गर्दछ । यी सबै समस्याको हल प्रयोग हो । प्रयोगबाट हाम्रा मतदाताको रक्षा हुन्छ । त्यसकारण बहिष्कार वा प्रयोग दुवैको सचेततापूर्वक अभ्यास गर्नुपर्दछ । बहिष्कार भन्ने तर घरमा सुत्ने कार्यलाई जनताले झनै विश्वास गर्दैनन् । बहिष्कार वा प्रयोग जे गर्दा पनि सक्रियतापूर्वक गर्नुपर्दछ । बहिष्कार वा प्रयोगलाई हाम्रो रणनीतिक उद्देश्यसँग जोडेमा मात्र हामी सफल हुनेछौं ।

५. एमसीसीविरुद्धको संघर्ष र विभाजनको दुस्साहस – सबैलाई थाहा छ, एमसीसीविरुद्धको संघर्षका कारण पार्टीविरुद्ध गम्भीर षड्यन्त्रहरु भएका छन् । पार्टी विभाजनको दुस्साहस र साम्राज्यवादी षड्यन्त्रका बीच कुनै साँठगाँठ छ वा संयोग मात्र हो भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ । यो विभाजनबाट हुने क्षतिलाई पूर्ति गर्न सकिन्छ । वैशाख ३० पछिको परिदृश्यबाट सबै प्रश्नहरुको उत्तर आउने नै छ । अहिलेको विवादले हाम्रा मित्र र शत्रुहरुको पहिचान गराईदिएको छ । सामूहिक नेतृत्व प्रणाली र आन्तरिक व्यवस्थापनमा ठूलै समस्या छ भन्ने प्रष्ट भएको छ । क्रान्तिकारी समूहहरु भित्र पनि हाम्रो नेतृत्व र पार्टीको सफलताप्रति इष्र्या र डाहा गर्ने प्रवृत्ति बढ्दो छ भन्ने सहजै देख्न सकिन्छ । विप्लव र प्रकाण्डप्रति निर्मम प्रहार भएका छन् । पार्टीभित्र पनि असन्तुष्टिहरु बढेका छन् भन्ने चित्र प्रष्टैसँग देखिन्छ । भित्र र बाहिरका असन्तुष्टिहरुलाई प्रयोग गरेर नै अहिलको षड्यन्त्र केही हदसम्म सफल भएको हो । फेरि पनि क्रान्तिको व्यवस्थापन चुनौतिको विषय हो । नेता र कार्यकर्ताबीचको सुमधुर सम्बन्धबाट मात्र पार्टीलाई जीवन्त बनाउन सकिन्छ । विषयहरु र असन्तुष्टिहरु प्रकट भएका छन् र त्यसलाई सही ढंगले सम्बोधन अनि व्यवस्थापन गर्नेतर्फ सोच्नु आजको मुख्य चिन्ताको विषय हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु