‘चुनावपनि राजनीति संघर्षको एउटा मोर्चा हो’

२०८१ बैशाख ११ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनावपनि राजनीति संघर्षको एउटा मोर्चा भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सोमबारदेखि सुरु भएको केन्द्रीय प्रतिनिधि समिति बैठकमा २२ पृष्ठ लामो प्रस्ताव पेस गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शीर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहितको प्रस्ताव पेस गर्दै सबै विषयको वहसलाई समाजवादमा उठाउनुपर्ने बताए । उनले भने -‘चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा हो । यसलाई नयाँ मोर्चाको रुपमा लिनुपर्छ । ‘२०८४ को चुनावलाई मिसन समाजवादका रुपमा बुझ्नुपर्छ । यसलाई समाजवादको लडाईको मोर्चाका रुपमा बुझ्नुपर्छ ।’
महासचिव विप्लव सीले चुनावलाई समाजवादका लागि प्रयोग गर्नुपर्ने बताउँदै पार्टीले संघर्ष गर्दा सृंखलाबद्ध गर्नुपर्ने बताउदै भने- ‘हामीले पहिला संविधान संशोधन गरेर नेपाली विशेषताको समाजवाद स्थापना गरौं भनेर वहस चलाउँछौं, त्यो भएन भने समाजवादका लागि जनमत संग्रह गरौं भनेर छलफल चलाउँछौं । सडक आन्दोलन त हाम्रो निरन्तर छदैछ । त्यसपछि चुनावलाई पनि समाजवादका लागि प्रयोग गर्नुपर्छ । हामीले सबै ढोका खोलेर लड्ने सोचेका छौं ।’
महासचिव विप्लव सीले माओवादी धारलाई रुपान्तरण गर्दै एकतामा ल्याउनुपर्ने र माओवादी धार तितर वितर हुँदै सकिने खतरा बढेको बताउँदै उनीहरुको रुपान्तण गर्ने जिम्मा नेकपाको भएको बताए । साथै उनले कम्युस्टहरुको एकता गर्ने प्रयत्न पनि नेकपाले गर्ने बताए ।
यसैगरी, सोही बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले आफुहरु क्रान्तिकारी आन्दोलनको क्रममा संसदीय व्यवस्थाका चुनाव बहिष्कार र प्रयोग दुवै अनुभवबाट समृद्ध रहेको बताए । उनले भने-
“हामीले बिगतमा चुनाव प्रयोग गरेका पनि छौं, बहिष्कार पनि गरेका छौं,क्रान्ति र समाजवादी व्यवस्था निर्माणको आन्दोलनमा यिनका आ आफ्ना सन्दर्भ र अनुभव छ्न। हाम्रो मुख्य उदेश्य समाजवाद हो,दलाल व्यवस्थाको अन्त्य गर्ने कुरा हो , त्यसका लागि चुनाव पनि एउटा मोर्चा हो, यसबारे परम्परागत रूपमा मात्रै सोचेर हुँदैन”

प्रतिक्रियाहरु