आजको आवश्यकता : क्रान्तिकारी ध्रुवीकरण र राष्ट्रिय एकता

२०७७ चैत्र १६ गते, सोमबार


नारायण शर्मा

आज नेपालमा क्रान्ती र राष्ट्र दुवै चरम संकटमा पारिएका छन् ! त्यसो त जनजीविका पनि कम संकटमा छैन तथापि जनवादी क्रान्तिको पूर्णता र स्थायित्व तथा राष्ट्रिय क्रान्तिको सफलता र संरक्षण भएमा जनजीविका स्वत: सहज र सरस हुने निशित हुन्छ । हुन त नेपालमा जनवादी क्रान्ति नभएको होइन, तथापि यो दरो र दीगो हुन नसक्दा प्रतिक्रान्ती र प्रतिगमन भैरहने गरेको छ र यो विडम्बनापूर्ण विपरीत प्रकृया बारम्बार हुने गरेको छ । त्यसैले प्रतिक्रान्ती र प्रतिगमनका विरुद्ध संघर्ष गर्दै जनवादी क्रान्तिलाई पुन: र पूर्ण सफल गरेर यसको संरक्षण र सम्बर्द्धन गर्नु अर्थात् प्रतिक्रान्ती र प्रतिगमनलाई ठोक्दै र रोक्दै जनवादी क्रान्तिलाई सुरक्षित र विकसित गर्नु अहिलेको हाम्रो एउटा राष्ट्रिय आवश्यकता भएको हो !
नेपालमा बारम्बार क्रान्ति र अग्रगमन त हुने तर फेरि बारम्बार प्रतिक्रान्ती र प्रतिगमन पनि भैरहने र अझ त्यसमा पनि पछिल्लो स्थितिमा त क्रान्तिकारीहरुबाटै प्रतिक्रान्ती हुने गरेको विचित्र विडम्बनापूर्ण इतिहास र वर्तमान विद्यमान छ !
यसै दुखद विडम्बनाबाट मुक्ती पाउनको लागि देसमा आज क्रान्तिकारी ध्रुवीकरण अर्थात् विभिन्न क्रान्तिकारी शक्ति, संघसंस्था र संगठनहरुको एकीकरणसहित विभिन्न शक्तिहरुभित्र रहेका वा बाहिर स्वतन्त्र रुपमा रहेर क्रान्ति, परिवर्तन र अग्रगमनको निम्ति संघर्ष गरिरहेका सच्चा क्रान्तिकारी र जनवादी/लोकतन्त्रवादीहरुको एउटै क्रान्तिकारी दिशामा ध्रुवीकरण हुनु नै अहिलेको एउटा परम् आवश्यकता भएको छ ।
यसरी नै कुनै पनि देसको क्रान्तिको अर्को एउटा मुख्य पाटो राष्ट्रिय क्रान्तिको पाटो हो । यो त हाम्रो देसमा भएकै छैन बराबर भएको छ ! बरु, उल्टै जनवादी क्रान्तिको विजय र सफलतासङ्गै नेपाल राष्ट्र र यसको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता, अक्षुणता र अखण्डताजस्ता गर्व र गौरवका विषयहरु झन् पछि झन् संकटग्रस्त बन्दै धराप र ध्वंसको स्थितिमा पर्दै आएको एउटा अपत्यारिलो विडम्बना उत्पन्न भएको छ !
सायद यसै विडम्बना हुने देखेर नै कमरेड माओले आफ्नो नयाँ जनवादी क्रान्तिसम्बन्धी थेसिसमा संश्लेषण स्वरुप साम्राज्यवादी युगमा जनवादी क्रान्तिका दुई मुख्य कार्यभार- जनवादी (democratic ) र राष्ट्रिय (national/patriotic) हुने निष्कर्ष निकालेर चीनमा सो प्रयोग गरेर पनि देखाउनु भयो । यसरी नै माओले घरेलु प्रतिकृयावादी सामन्ती-पुँजीवादी शोषण-दमनबाट र वैदेशिक साम्राज्यवादी-उपनिवेशवादी शोषण-उत्पीडन र हस्तक्षेपबाट चिनियाँ जनता र राष्ट्रलाई स्वतन्त्र र मुक्त बनाउनु भएको हो ।
नेपालमा पनि चीनमा माओले गर्नुभएकै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी घरेलु र वैदेशिक शोषण र उत्पीडनबाट जनता र राष्ट्रलाई स्वतन्त्र र मुक्त बनाउने भन्ने महान् उद्देश्य अनुसार नै शान्तिपूर्ण र सशस्त्र संघर्ष गर्दै जाने क्रममा २००७ सालमा राजतन्त्रात्मक बहुदलीय संसदीय प्रजातन्त्र आयो । तर २०१७ मा प्रतिक्रान्ति र प्रतिगमन भै निर्दलीय पंचाती प्रजातन्त्रको रुपमा निरंकुश राजतन्त्र स्थापित भयो । अनि त्यसका विरुद्धमा २०२८ मा सशस्त्र झापा विद्रोह हुँदै २०४६ मा जनआन्दोलन भयो र संवैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय प्रजातन्त्र पुनर्वहाली भयो । तत्पश्चात पनि जनताका जनतान्तृक हकहित र राष्ट्रका स्वाधीनता र स्वाभिमानका कुराहरु संरक्षित र सम्बर्धित हुन सकेनन् र दिनानुदिन जटिल र गमुख्यतः २०५२ मा माओवादी जनयुद्धको स्वरुपमा विद्रोह भई जनवादी क्रान्तिको सुरुवात सशस्त्र संघर्षको रुपमा समेत भएको थियो र त्यसको सफलता स्वरुप एकीकृत र केन्द्रीकृत सामन्ती राजतन्त्रात्मक उच्चजातीय हिन्दु धार्मिक अधिराज्यको अन्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र ( Federal Democratic Republic ) को पनि २०६५ सालमै स्थापना गरिएको हो ! तर दुखको कुरा के भयो भने न त अहिले पनि जनताका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारजस्ता
जनवादी हकहित सँगसम्बन्धित संविधान प्रदत्त आधारभूत जनअधिकारहरुको व्यवहारत: उपयोग र उपभोग गर्न पाएर जनजीवन केही सहज भएको छ न त राष्ट्रियताको दृष्टिबाट देस मुक्त भै स्वाधीन, स्वतन्त्र र समृद्ध हुन पाएको छ ! बरु यस्तो विचित्र विडम्बना भएको छ कि जनवादी क्रान्तिको सफलताको सङ्गसङ्गै देस त झन् पछि झन् वैदेसिक शोषण, उत्पीडन र हस्तक्षेपको झन् झन् बढी सिकार हुँदै गएकोले देस त पूरै परनिर्भर, परजीवी र परमुखापेक्षी भएको छ ! यसरी नेपालको राष्ट्रिय अस्मिता, सार्वभौमिकता, अखण्डता र स्वाभिमान मात्र हैन पहिचान र स्वत्व-अस्तित्व नै समाप्त हुने सर्वाधिक गम्भीर, संवेदनशील र जटिल अवस्था उत्पन्न भएको छ !
त्यसै कारणले गर्दा नै आज पनि एकातिर जनवादी क्रान्तिलाई पूर्ण्ता दिन र हालको नेपालको संविधानद्वारा प्रदान गरिएका सम्पूर्ण जनवादी अधिकारहरु व्यवहारत: प्राप्त गर्न तथा थप र उन्नत अधिकारहरु पाउँदै जानको लागि पनि क्रान्तिकारीहरुको ध्रुवीकरण र एकता जरुरी भएको छ भने अर्कातिर राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र भौगोलिक आदि सबै हिसाबले देसको उदारीकरण र औपनिवेशीकरण स्वरुप फिजीकरण र सिक्किमीकरण हुँदैजाँदा देसको अस्तित्व र नामनिसान नै गुम्ने चरम खतरा भएको हुँदा राष्ट्रिय मुक्तीको निम्ति हुने राष्ट्रिय क्रान्तिको लागि देसका सबै राष्ट्रवादी/देसभक्त शक्ति र व्यक्तिहरुको राष्ट्रिय ध्रुवीकरण र एकता पनि अनिवार्य आवश्यकता बन्न गएको हो ।
*

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु