वर्तमान संकटको निकास, वैज्ञानिक समाजवाद

२०७७ माघ ११ गते, आईतवार

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संसद्वादी दलहरु पक्ष र विपक्षमा विभिन्न नौटंकीहरु गरिरहेका छन् । ओलीले संसद् विघटन गरेपछि प्रचण्ड, माधव नेपाल र झलनाथ झुण्डहरु सडक संघर्षमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस ‘पर्ख र हेर’को नीति अँगाल्दै दोधारमा अल्झिएको देखिन्छ । यतिबेला कोरोना संक्रमणको कारण देश र जनताको स्थिति बेहाल बन्न पुगेको छ । बेरोजगार, महँगी, भ्रष्टाचार र कालोबजारीले सीमा नाघेको छ । शान्तिसुरक्षा एकादेशको कहानी भएको छ । वैदेशिक हस्तक्षेप दिनप्रतिदिन बढ्दैछ । तर, सत्तामा रहेका र प्रतिपक्षी दललगायत सबै संसद्वादी दल र नेता सत्ताको दाउपेचमा मस्त छन् । उनीहरुलाई देश र जनताको कुनै प्रवाह छैन । यो सबै हुनुमा मुख्य दोषी संसद्वादी दल र नेताभन्दा पनि संसदीय व्यवस्था हो । जबसम्म देशमा संसदीय व्यवस्था रहन्छ, तबसम्म यस्ता फोहोरी खेल भइरहन्छन् । तसर्थ, नेपाल कम्युनिस्ट पार्टीले भनेजस्तो देशमा वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म वर्तमान संकटको समाधान नहुने देखिन्छ । त्यसैले देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमा आमजनता लामबद्ध हुनुको विकल्प छैन । जबसम्म देशमा संसदीय व्यवस्था रहन्छ, व्यक्ति फेरेर देश र जनताको मुक्ति सम्भव छैन, जुन कुराको पुष्टि हाल आएर भएको छ । वर्तमान संकटको निकास देशमा वैज्ञानिक समाजवाद नै निर्विकल्प निकास हो । त्यसैको लागि विगतदेखि संघर्षमा होमिएको नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्नु अनिवार्य बन्दै गएको छ । अब पनि यी संसद्वादी दल र नेताहरुको लहलहैमा लागेर संसदीय व्यवस्था वरिपरी घुमिरहने हो भने देश र जनता भड्खालोमा जाकिने निश्चित छ ।

त्यसकारण आमसचेत नागरिक नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिमा समाहित हुँदै संसदीय व्यवस्थाको जरो उखेलेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न कम्मर कसेर लाग्नुपर्छ । वैज्ञानिक समाजवादबाटै वर्तमान संकटको समाधान गरे मात्र देश र जनताको मुक्ति सम्भव छ । अन्यथा यी संसद्वादी दलहरुले कुनै दिन नेपाल र नेपालीको अस्तित्व नामेट पार्नेछन्, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु