‘ओली र प्रचण्ड देशद्रोही र जनअपराधी तत्वको रुपमा नेपाली जनताका सामु सर्वाङ्ग भएका छन्’

२०७७ मंसिर ८ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले ओली र प्रचण्ड देशद्रोही र जनअपराधी तत्वको रुपमा नेपाली जनताका सामु सर्वाङ्ग भएको ठोकुवा गरेका छन् । प्रकाण्डले कथित संघीय लोकतान्त्रिक गणतन्त्रले आभूषित वर्तमान दलाल पुँजीपति वर्ग, त्यसको राज्य सत्ता,दलाल संसदीय शासन व्यवस्था, यसको नेतृत्व गरिराखेको के.पी. ओली सरकार र दलाल नेताहरु अभूतपूर्व संकट, विघटन र लाजमार्दो असफलताले पूरै अनुहार लतपतिएका देशद्रोही र जनअपराधी तत्वको रुपमा नेपाली जनताका सामु सर्वाङ्ग भएको ठोकुवा गरेका हुन् ।

प्रकाण्डले राज्य र सरकारको दलाल एवं जनविरोधी चरित्रको परिणाम देश र जनताको अवस्था दिनदिनै संकटग्रस्त बन्दै गएको बताउँदै राष्ट्रघात र जनघात राज्यको दिनचर्या भएको ठोकुवा गरेका छन् । उनले कोरोना भाइरसको महामारीले राज्यको संकटलाई चरम विन्दुमा पु-याएको र देशको अवस्था विकराल बनिराखेको बेला लाजै नमानी आफुलाई खाँटी कम्युनिस्ट भनी नथाक्ने सरकारी नेकपाका नेताहरु सत्ता र कुर्सीको निम्ति ‘वाकयुद्ध’मा होमिएको तर्फ संकेत गर्दै रुपमा हेर्दा पुष्पकमल दाहाल र माधव नेपालको एउटा मोर्चा र के.पी. ओलीको अर्को मोर्चामा व्यक्त भएको वाक्युद्ध दलालहरुको चरित्र र साम्राज्यवादीहरुको खेलको उपज सावित भएको बताएका छन ।

प्रकाण्डले दमनले जनक्रान्ति र आन्दोलनहरु कतै पनि नरोकिएको र नसिद्धिएको ठोकुवा गर्दै श्रमजीवि जनताको क्रान्ति र आन्दोलनहरुलाई शासक वर्गले दमन गरेर सिद्धाउँछु भन्नु पागलपूर्ण, मुर्खता र आफ्नो चिहान आफैँ खन्नुसरह भएको बताएका छन् । उनले गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिलाई दमन गर्नको निम्ति गृह प्रशासनलाई पछिल्लो समय गोप्य परिपत्र जारी गरेको सूचना पार्टीलाई प्राप्त भएको भन्दै गृहमन्त्रीले के कुरा बुझ्नु पर्छ भने यो नेपाली जनताको एकीकृत जनक्रान्ति हो र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालित छ । यसलाई जिस्क्याउनु र यससँग खेल्नु भनेको आगोसँग खेल्नु हो । जनक्रान्ति दलाल पुँजीवादी राज्य व्यवस्थालाई धुलोपिठो पारेर विजयी बनेर छाड्ने छ । बरु समयमै आफ्नो गल्तीलाई सच्चाएर जनक्रान्तिलाई मद्दत गर्नु थापाको निम्ति हितकर हुने बताए ।

प्रकाण्डले नेपाल कम्युनिष्ट पार्टी र एकीकृत जनक्रान्तिले उठान् गरेका देश र नेपाली जनताका मुद्दालाई बुझ्ने र त्योअनुसारको पार्टीसँग व्यवहार गर्ने सवालमा सरकार पूरै असफल भएको र ओली सरकारले अहिलेसम्म गरेको व्यवहार विगतका जनविरोधी फासीवादी सरकारले जनताको आन्दोलन र क्रान्तिका विरुद्ध अपनाउने निरङ्कुश र दमनकारी दृष्टिकोण र रबैया नै अपनाई राखेको ठोकुवा गरेका छन् । उनले ओली सरकारका अभिव्यक्ति र क्रियाकलापबाट दमन गरेर नेपाल कम्युनिष्ट पार्टीलाई दलाल पुँजीवादी राज्यव्यवस्था र यसको संविधानको टाङमा छिराउने दिवासप्ना देखेको भन्दै नेपाल कम्युनिष्ट पार्टी र जनक्रान्तिप्रतिको ओली सरकार र ओली–दाहाल पार्टीको यो डरलाग्दो भ्रामक धारणाले देशलाई दुर्घटनातिर धकेल्ने खतरा रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड भन्छन्– “अहिलेको संविधान र राज्य व्यवस्थाले न विगतमा परिवर्तनको निम्ति गरिएका राजनीति आन्दोलन, १० वर्षे जनयुद्धको मर्म र भावना प्रतिबिम्बित गरेको छ, न त अहिलेको राष्ट्रिय आवश्यकता र जनचाहनालाई सम्बोधन गर्न सकेको छ । यसले त प्रतिक्रान्ति, राष्ट्रघात र जनघातको प्रतिनिधित्व गरेको छ । यो नेपाली श्रमजीवि जनताको संविधान र राज्य व्यवस्था नभएर दलाल पुँजीपतिको हो । जसका कारण देश संकटको भूमरीमा परेको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, एकीकृत जनक्रान्तिको हतियार र आमनेपाली जनताको सहभागितामा जबर्जस्त देश र जनताको थाप्लो माथि थोपरिएको दलाल पुँजीपति वर्गको राज्यसत्ता र शासन व्यवस्था छिटोभन्दा छिटो अन्त्य गर्न ढिलो भइसकेको छ । उपरोक्त ऐतिहासिक राजनैतिक कार्यलाई एकीकृत जनक्रान्तिको विकासले धेरै हदसम्म सम्भव तुल्याउँदै गएको छ ।”

यसैगरी, प्रकाण्डले देशमा अवस्थित दलाल पुँजीपति वर्गको राज्यव्यवस्था र यसको नेतृत्व राष्ट्रिय मुक्ति, जनमुक्ति, सामाजिक समानता र कोरोना महामारीको व्यवस्थापनलगायत राष्ट्र र जनताका जल्दाबल्दा मुद्दाहरुको सम्बोधन र व्यवस्थापनमा काम नलाग्ने गरी असफल हुनुले यो देशमा नेपाली श्रमजीवि जनताको राज्य व्यवस्था वैज्ञानिक समाजवाद र नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तात्कालिक आवश्कताको विषय भइसकेको मजबुत आधारहरु भएको बताउँदै उपरोक्त राष्ट्रिय आवश्यकतालाई आफ्नो पार्टीको नेतृत्वमा संचालित र प्रभावशाली एकीकृत जनक्रान्तिले निकट भविष्यमै पूरा गर्ने ठोकुवा गरे । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु