हिमाल आरोहण व्यवस्थापनका लागि सम्पर्क अधिकृत तोकिए

२०८१ बैशाख १४ गते, शुक्रबार


काठमाडौँ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना कर्मचारीलाई सम्पर्क अधिकृतका रूपमा खटाएको छ । यसरी खटाइएका सम्पर्क अधिकृतहरु आफ्नो आरोहण टीमका साथ हिमालको आधार शिविरसम्म पुग्नु पर्छ । आरोहण सम्पन्न नभएसम्म उनीहरू सोही शिविरमा बसेर सरकारी प्रतिनिधिका रुपमा आरोहण व्यवस्थापनमा सहयोग गर्नुपर्ने दायित्व छ । यस पटक सरकारले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय प्रमुखका रुपमा नापी विभागका खिमलाल गौतमलाई खटाएको छ ।
विभागले शुक्रबार उपलब्ध गराएको विवरण अनुसार यसरी सम्पर्क अधिकृतका रुपमा नियुक्त गरिएकामध्ये कतिपय अझै फिल्डमा खटिएका छैनन् । पर्यटन मन्त्रालयभन्दा बाहेकका निकायबाट खटाइएका धेरै जसो कर्मचारी फिल्डमा नपुगेको विभागको विवरणमा उल्लेख छ ।
विभागको पछिल्लो तथ्यांक अनुसार यस सिजनका लागि २७ वटा हिमालमा ९४ टोलीका ८५९ जनाले आरोहण अनुमति लिएका छन् । जसमध्ये सबैभन्दा धेरै सगरमाथामा ३६ टोलीका ३८८ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । यी आरोहीहरुको आरोहण व्यवस्थापनमा सहयोग गर्न र गतिविधिहरूको निगरानी गर्न सम्पर्क अधिकृतहरू खटाइएको हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु