व्यवस्थाकै विकल्प वारे सोचौं -बलराम तिमल्सिना

२०७६ बैशाख ५ गते, बिहीबार

पूँजीवादी पार्टीका कार्यकर्ताहरू आर्थिक उत्प्रेरणाको कारणले मात्र कृयाशील हुन्छन। नेताहरूका बीचको मतभेद र द्वन्दको चुरो पनि कुनै वैचारिक राजनीतिक नभएर पूँजीवादी पार्टीमा आर्थिक नै हुन्छ । अरु त अरु चुनावको समय मतदाताहरू पनि मासु भात नभै भोट नहाल्ने भनेर अड्डी कसेर बसेका हुन्छन। सवै पार्टीको मासु भात खाइसकेर पनि मतदाताहरू हाताहाती विकासको मोलतोल गर्छन। प्रचारकहरूलाई गाडी, मोटरसाइकल, पेट्रोल र साँझको लागि रक्सीको बन्दोबस्ती नगरी कुनै उम्मेदवारले सुख पाउँदैन। उम्मेदवारले टिकट उम्काउँने वेलैमा पार्टीलाई ढोगभेटग चढाउँनु पर्छ । आजीवन दलाली गर्ने वचनवध्दता व्यक्त गर्नु पर्छ। वल्ल वल्ल टिकट पायो भने तल प्रचारकहरू तीन दिन देखि पेट खाली राखेर बसेका हुन्छन। गाउँ गाउँका मतदाता मुख मिठ्याएर बसेका हुन्छन।ती सवैको विवेकलाई कव्जा गर्न लर्तरो खर्चले थेग्दैन ।यी सवै गरेर चुनाव जितेपछि त्यो खर्च उठाउँनै पर्यो ।फेरि अर्को चुनाव आउँछ , त्यसको तयारी गर्नै पर्यो ।हरेक पछिल्लो पटक आउने चुनाव अघिल्लोभन्दा दोव्वर तेव्वर महङ्गो हुन्छ।
पूँजीवाद भन्ने कुरा नै पूँजी अर्थात धनको वोलवाला हुने व्यवस्था हो । पूँजीवादी व्यवस्थालाई स्विकार गरेका राजनीतिक दलहरूले धन सम्पत्तिको अवैधानिक चलखेल नगरी सत्ता संचालनको चुचुरो टेक्नै सक्दैनन। ‘जसको लाठी उसको भैंसी’ भनेजस्तै आजको व्यवस्थामा जोसँग धन छ ऊसँग सवै कुरा हुन्छ । पूँजीवादमा धेरै कुरा पैसामा किनवेच हुन्छ। संसदको टीकट, मन्त्रीको नियुक्ति, राजदूत, न्यायधीस, कुनै संवैधानिक आयोगको प्रमुख तथा पदाधिकारी लगायत सवैको प्राप्तिमा ठूलो आर्थिक लेनदेन भएको हुन्छ। यसरी आर्थिक अपारदर्शिता र आर्थिक अपराधको जगमा उभिएको व्यवस्थामा शून्य-भ्रष्टाचारको आश गर्नु राजनीतिको कखरा पनि नबुझ्नु हो ।यस्तो व्यवस्थामा प्रहरीहरूले यी अपराधलाई सुरक्षा गर्ने काम गर्छन। अख्तियारले यस खाले अपराधलाई व्यवस्थित गर्ने तथा चुहे छिरेका ससाना घटनाहरूलाई कार्यवाही गरेजस्तो गरेर जनतामा भ्रम छर्ने काम गर्छन। लुट्नेले लुटिरहेको हुन्छ , लुटिने लुटिइरहेको हुन्छ।
त्यसैले पूँजीवादी व्यवस्थामा लोक कल्याण, सुशासन या वरावरीको आश गर्नु र त्यसको लागि सरकारको या राजनीतिक दलको हेरफेरको कुरा गर्नुको कुनै अर्थ छैन ।अझ कुनै खास निकायमा व्यक्तिको फेरवदलको कुरा गर्नु सस्तो वकवास मात्र हुन्छ। मुख्य कुरा हो- व्यवस्था बदल्नेतिर सोच्नु ।पूँजीवाद हटाउँनेतिर सोच्नु। व्यवस्थाकै विकल्प वारे अर्थात समाजवादको वारेमा सोच्नु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु