माओवादीसँग जनअपेक्षा

२०७३ फाल्गुन ७ गते, शनिबार

नेकपा (माओवादी) ले. २२ औँ जनयुद्ध दिवसको अवसर पारेर आफ्नो आठौँ महाधिवेशन सुरु गरेको छ । काठमाडौँको खुलामञ्चमा गरिएको माओवादीको महाधिवेशनको उद्घाटन समारोहमा जनसहभागिता हेर्दा उसप्रति जनताको विश्वास अधिक रहेको प्रस्ट देखिएको छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्दै गएको अवस्थामा क्रान्तिको झण्डा उठाएको माओवादीप्रति अझै पनि जनआस्था कायमै छ भन्ने प्रष्ट उदाहरण हो यो । माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोह काठमाडौँमा सम्पन्न गरेपश्चात् बन्दसत्र रोल्पाको थवाङमा जारी छ । उद्घाटन सत्र काठमाडौँमा र बन्दसत्र क्रान्तिको उद्गम थलो रोल्पाको थवाङमा गर्नुले पनि अब माअ‍ोवादी देश र जनताप्रति ठोस निर्णय लिन्छ भन्ने बुझाई आमजनमानसमा परेको छ । देश र जनताको मुक्तिको लागि १० वर्ष जनयुद्ध लडेको माओवादीले अब ठोस र कठोर निर्णय गर्नैपर्ने बेला आएको छ । किनकि यतिबेला राष्ट्रिय स्वाधीनता खतरामा परेको छ । वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ । महँगी, कालोबजारी, भ्रष्टाचार र अनियमितताले पराकाष्ठा नाघेको छ । सरकार आफ्नै नौटङ्कीमा रमाइरहेको छ । यस्तो अवस्थामा यो देशलाई जोगाउन र संकटबाट पार लगाउन माओवादी जाग्नैपर्छ भन्ने आमसर्वसाधारणको भनाई छ । तसर्थ, माओवादीको रोल्पाको थवाङमा जारी बन्दसत्रबाट देश र जनताको मुक्तिको लागि ठोस रणनीति बनोस् र यो देशको स्वाधीनता र जनताको मुक्तिको लागि उसले पहरेदारको रुप लिओस्, यो नै आमस्वाभिमानी नेपाली जनताको मओवादीसँग अपेक्षा छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु