प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र – युवराज सफल

२०७१ फाल्गुन १६ गते, शनिबार

हिजोको राणाकालीन समयमा राणाहरूले नेपाली नागरिकका अधिकारलाई कुण्ठित गर्ने कार्य गरेका थिए । नागरिकलाई पढ्ने ,लेख्ने र अरु मौलिक अधिकारको व्यवस्था थिएन । उनीहरू राणाहरूको अन्याय अत्याचारलाई सहन विवश थिए । न त अभिव्यक्ति स्वतन्त्रता नै थियो । मनमा लागेको विचार पोख्ने र लेख्ने अधिकार थिएन । राणाहरूको विरुद्वमा जो जान्थ्यो त्यो कि त मारिन्थ्यो कि त उसको सर्वस्वहरण गरिन्थ्यो । चारपाटा मोडिन्थ्यो अनि गाउँ निकाला गरिन्थ्यो । नेपाली समाजले १०४ वर्षसम्म जहाँनिया राणा शासनको कालो कोठरीमा आफ्नो जिन्दगी विताउन परेको थियो । अशिक्षाले गर्दा नेपाली समाज पुरै अन्धकार भएको थियो । तसर्थ तत्कालीन समाजका व्यक्तिहरूले विभिन्न ढंगवाट राणा शासनको विरोध गर्दै थिए । राणा शासनको विरुद्व लागेकै कारण चार जना वीर सपुत गगांलाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुरले अल्पायुमै आफ्नो प्राण आहुती दिन प¥यो । यही राणाहरूको विरुद्वमा लडेपछि बल्ल २००७ सालमा प्रजातन्त्रको स्थापना भएको मानिन्छ तर पनि त्यतिखेर वास्तविक प्रजातन्त्रको उदय भएको थिएन । राणा, राजा र भारतवीच एक खालको सम्झौता भएको हुनाले नेपाली नागरिकले अधुरो र अपुरो प्रजातन्त्रमा चित्त बुझाउन प¥यो । यस्तो प्रजातन्त्र आएपछि नेपाली नागरिकले पढ्न लेख्न पाउने ,आफ्ना विचार व्यक्त गर्न पाउने अभिव्यक्ति स्वतन्त्रता पाए । विशेषत प्रचलित संविधानको अधिनमा रही आफ्नो ढंगले जीवन यापन गर्न पाउने स्वतन्त्रता उनीहरूले पाएका थिए । यस अर्थमा अपुरो र अधुरो नै भएपनि तत्कालीन नेपाली समाज र नागरिक अनि राष्ट्रको लागि त्यो प्रजातन्त्रले आशाको दियोको कार्य गरेको थियो । प्रजातन्त्र आएको खुसीयालीमा घर घरमा खुसीयाली छाएको थियो । प्रत्येक नागरिकमा खुसी र उमंग छाएको थियो । प्रजातान्त्रिक कालमा धेरै सरकार बने । जनताका प्रतिनिधीको रूपमा जनताकै छोरा छोरीले राज्यमा सहभागी हुने अवसर पाए । एक खालको अंकुश फुकेको अवस्था थियो ।
प्रजातन्त्र आएपछि देशको शासन सत्ता राजनीतिक पार्टीका नेताहरूले चलाउन थालेका थिए । जनताका प्रतिनिधिहरूले नै राज्य संचालन गर्न थालेपछि यसलाई एकदम राम्रो प्रजातन्त्र भनिएको थियो । तर विचमा तत्कालीन राजा महेन्द्रले बहुदलीय व्यवस्थाको अन्त्य गर्दै नेपालको हावापानी सुहाउँदो वा देश सुहाउँदो पञ्चायती शासन व्यवस्थाको शुरु गरे । यो घटनालाई तत्कालीन समाजका राजनीतिक पार्टी र तिनका नेताहरूले प्रजातन्त्रको हत्या गरिएको ,प्रजातन्त्र खोसिएको अझ अपहरण गरिएको भन्ने गरेका थिए । राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाए पनि उनले जनताका जल्दावल्दा समस्यालाई समाधान गर्न भ्याएका थिए । देशको विकासको लागि विभिन्न कार्यहरू समेत गरेका थिए । एक हिसावले नागरिक र देशको हितमा आफूलाई समर्पित गरेका थिए । उनले आफ्नै शासनकालमा क्रान्तिकारी भूमि सुधारका कार्यक्रमहरू लागु गरे, देशलाई भौगोलिक रूपमा विभाजन गरी केन्द्रीकृत शासन व्यवस्थालाई विकेन्द्रीत गर्ने प्रयास गरे । विभिन्न राजमार्गहरूको निर्माण गर्ने परिकल्पना अघि सारेका थिए । यस अर्थमा हेर्दा राजा महेन्द्रले देश र नागरिकको पक्षमा धेरै कार्यहरू गरेका थिए ।
पछि तत्कालीन राजनीतिक पार्टीका नेताहरूले पञ्चायती शासन व्यवस्थाको विरोध गरे । सो शासन व्यवस्थाको विरुद्वमा संयूक्त जनआन्दोलन भयो । पञ्चायती शासनले गर्दा विदेशिन पुगेका कैयन नेताहरू धमाधम स्वदेश फर्किन लागे । यता काँग्रेस नेता विपी कोइराला भने भारतवाट मेलमिलापको नीति भन्दै सबैलाई समेट्ने गरी शासन व्यवस्थाको निर्माण गर्न पर्छ भन्दै नेपाल आए । खास गरी उनी राजा र आन्दोलनकारी शक्ति दुवै पक्षलाई समेट्ने नीति अख्तियार गरी नेपाल फर्केका थिए । भारतीय शासक वर्गको प्रत्यक्ष सुझाव, सल्लाह र परामर्शको आधारमा उनी नेपाल फर्केका थिए । राजासँग थप टक्कर गर्दा अगाडि बढ्न नसकिने उनको विश्लेषण थियो । विपीको अन्त्यपछि गिरिजाप्रसाद कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूले नेपाली काँग्रेसलाई संचालन गर्ने काम गरेका थिए । अन्ततः २०४६ सालमा अस्तित्वमा रहेका सम्पूर्ण अग्रगामी राजनीतिक पार्टीहरूले संयूक्त जन आन्दोलन समिति बनाएर पंचायती शासन व्यवस्थाको विरुद्वमा लड्ने योजना बनाए । त्यस आन्दोलनको सर्वोच्च कमाण्डरको भूमिका लौह पुरुष भनी चिनिएका गणेशमान सिंहले गरेका थिए । विपी कोइरालाले अख्तियार गरेको मेलमिलापको नीतिलाई तत्कालीन आन्दोलनकारी शक्तिले स्वीकार गरेको थियो । तँ कुटेजस्तो गर म रोए जस्तो गर्छु भनेझैँ राजनीतिक पार्टीका नेताहरूले आन्दोलन गरे र राजाले पञ्चायती शासन व्यवस्थाको अन्त्य भई देशमा प्रजातन्त्रको पुर्नस्थापना भएको घोषणा गरेका थिए । सल्लाहमै राजा र राजपरिवारलाई शक्तिशाली बनाउने र प्रधानमन्त्री चाँहि राजनीतिक पार्टीका नेताहरूले सधैँ खान पाउने गरी कथित फोहोरी राजनीतिक पार्टीहरूले ०४७ सालको संविधान निर्माण गरेका थिए । प्रधानमन्त्री आफुले खान पाउने भएपछि अथवा सो पद आजिवन आफ्नो पोल्टामा पर्ने ग्यारेण्टि भएपछि मात्र उनीहरूले ०४७ सालको संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्ने गरेका थिए । ०४७ सालको संविधानकै कारण सबैभन्दा बढी नेपाली काँग्रेसले सरकार चलाई देश लुट्ने अवसर पायो । त्यसमा पनि गिरिजाप्रसाद कोइरालाले ४ पटक र शेरबहादुर देउवाले ३ पटक ,कृष्णप्रसाद भट्टराईले एकपटक प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । त्यस्तै सुर्य बहादुर थापा ,लोकेन्द्र बहादुर चन्द ,मनमोहन अधिकारीहरूले पनि सरकार प्रमूख भएर सत्ता संचालन गर्न पाएका थिए । तसर्थ लुटेरा पार्टीहरूलाई यही व्यवस्था ठिक थियो । उनीहरू सदा सदा यही व्यवस्था टिकोस भन्ने चाहन्थे ।
०४७ सालको संविधान जारी भएपछि केही राजनीतिक पार्टीहरूले त्यस संविधानलाई कालो संविधानको संज्ञा दिँदै त्यसलाई जलाउने काम गरे । जनताको संविधान निर्माण गर्नपर्छ भन्दै चार वर्षपछि तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्षको घोषणा ग¥यो । लगभग एकदशक लामो युद्व भयो । सो संघर्षमा हज्जारौँ नेपालीको ज्यान गयो, कैयँन घाइते भए । कैयँन अंगभंग भए । कति वेपत्ता भए । कति घरवारविहिन भए त कत्तिको सिन्दुर पुछिए ,काँख रित्तिए । कति टुहुरा भए । अर्वौको भौतिक क्षति भयो । यसै सिलसिलामा तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ गते निर्वाचित सरकारका प्रधानमन्त्रीलाई बर्खास्त गरी शासन सत्ता आफ्नो हातमा लिए । पटक पटक सरकार बनाउने र गिराउने खेलमात्र खेल्ने अनि देशको विकास गर्न भन्दा पनि बहुदलीय व्यवस्थाको फाइदा उठाउँदै देश खोक्रो पार्ने अभियानमा लागेका राजनीतिक पार्टी र तिनका नेताहरूमाथि उनले प्रतिबन्ध लगाएका थिए । यतिमात्र हैन संचार माध्यममा समेत सञ्चार अध्यादेश ल्याई निरंकुश बन्ने काम गरेका थिए । राजाको शासनको शिकार भई लात खाएर सडकमा पुगेका देश लुट्न पल्केका सडकछाप नेताहरूले पटक पटक प्रतिगमन भयो भन्दै सडकमा संघर्ष गरे, सत्तामा हँुदा खाली भ्रष्टाचार र अनियमितता गर्ने, भ्रष्टाचार, महंगी र बेरोजगार समस्यामात्र निम्त्यिाउने नेताहरूको चरित्रको कारण जनता आहातमा परेको थिए । तर पनि विस्तारै भारतको पहलमा नेपालको संसदवादी र माओवादीलाई गोप्य रूपमा भेला गराई उसकै अग्रसरतामा कथित १२ बुँदे सहमति भारतमा गरियो । जसको ड्राफ्ट समेत भारतीयहरूले गरिदिएका थिए । १२ बँुदे सहमतिमा माओवादीहरूले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था स्वीकार्ने संसदवादीहरूले निरंकुश राजतन्त्र छाड्ने भद्र सहमति थियो । १२ बँुदे सहमतिमा त्यही भएर निरंकुश राजतन्त्रको अन्त्य गर्ने भन्ने शव्द राखिएको थियो । संवैधानिक राजतन्त्र मान्ने शर्तमा माओवादीले सो सहमतिमा हस्ताक्षार गरेको भएपनि समय परिस्थितिले राजतन्त्रको अन्त्य ग¥यो जस्तो भयो । संवैधानिक राजतन्त्र दलहरूले मान्छन् भनेर नै ज्ञानेन्द्रले सजिलै सत्ता छाडिदिएका थिए । संवैधानिक राजाको रूपमा आफू कायम रहन्छु भन्ने कुरामा उनी शतप्रतिशत ढुक्क थिए त्यही भएर होला उनी कहिले काँही दलहरूले आफूलाई धोका दिएको गुनासो गरिरहन्छन् । उनले लोकतन्त्र घोषणा गरेको दिन अघि वैशाख ११ गते दल र राजा वीच गोप्य सम्झौता भएको चर्चा बाहिर चलेपनि त्यो सम्झौता पत्र भने आज सम्म सार्वजनिक भएको छैन । बेला बखत ज्ञानेन्द्र त्यो सम्झौता पत्र सार्वजनिक गरिदिन्छु भन्छन् तर पनि गर्न भने सकेका छैनन् । समय क्रमसँगै संसदले ०४७ सालको संविधान खारेज गरेर अन्तरिम संविधान घोषणा ग¥यो र राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा ग¥यो ।
अहिलेको व्यवस्थालाई काँग्रेस एमालेहरू लोकतन्त्र भन्ने गर्छन् भने माओवादी या अग्रगामी समुहले गणतन्त्र भन्ने गर्दछन् । कोही लोकतान्त्रिक गणतन्त्र त कोही बुर्जुवा गणतन्त्र भनिरहेका छन् । लोकतन्त्र या गणतन्त्र आएपछि देशमा बेरोजगार, भ्रष्टाचार र महंगी जस्ता समस्याहरू बढेर गएका छन् । संक्रमणकालको नाममा जसले जसलाई जे गरेपनि छुट भएको छ । दण्डहिनता, कुसंस्कार, छाडापन, वेतिथी र अन्य थुप्रै विकृतिहरू पmैलिएका छन् । देशमा सुशासन र सुव्यवस्थाको अभाव खड्किएको छ । न त देशले स्थायी सरकार पाएको छ । न त शान्ति सुरक्षामै ढुक्क रहन सकिएको छ । लोडसेढिंग, प्रेटोलियम पदार्थ एवम् ग्याँसको हाहाकार ,कालावजारी र तस्करी लोकतन्त्र या गणतन्त्रमै मौलाएको छ । अपराधीहरूलाई कार्वाही नगरी खुलेआम छाड्नुलाई यहाँ लोकतन्त्र भनिन्छ । भ्रष्ट दलालहरूलाई त्यतिकै छाड्नुलाई यहाँ लोकतन्त्र भनिन्छ । खुलेआम कमिसन खानु, दलाली गर्नुलाई यहाँ लोकतन्त्र भनिन्छ । खुलेआम वैधानिक रूपमा सत्तामा बसेर देश लुट्नुलाई यहाँ लोकतन्त्र भनिन्छ । हुम्ला ,जुम्ला र अन्य दुर दराजका नागरिक भोक भोकै मर्नुलाई यहाँ लोकतन्त्र भनिन्छ । हँुदा खानी हरू तल पर्नु र हँुनेखानीहरू मथि पर्नुलाई यहाँ लोकतन्त्र या गणतन्त्र भनिन्छ । पीडितलाई आहात र पीडकलाई राहात दिनुलाई यहाँ गणतन्त्र भनिन्छ । दोषीलाई निर्दोष प्रमाणित गर्नु र निर्दोषलाई दोषी देखाउनुलाई गणतन्त्र भनिन्छ । चोरलाई साधु बनाउने र साधुलाई चोर बनाउनुलाई यहाँ लोकतन्त्र भनिन्छ । कानुनको पालना गर्नुभन्दा कानुनको उलंघन गर्नुलाई यहाँ लोकतन्त्र भन्ने गरिन्छ । सत्यलाई हराउनु र असत्यलाई जिताउनुलाई यहाँ लोकतन्त्र भनिन्छ । राम्रो मान्छेभन्दा हाम्रा मान्छेलाई काँखि च्याप्नुलाई यहाँ लोकतन्त्र या गणतन्त्र भन्ने गरिन्छ । क्षमता ,योग्यता भन्दा पनि नातावाद ,कृपावाद र फरियावादलाई आत्मसाथ गर्नुलाई आज यहाँ गणतन्त्र भनिन्छ । प्रतिस्पर्धाभन्दा पनि टिका लगाएर नियूक्ति दिने र लिने टिके प्रवृत्ति र हुकुमी शासनलाई यहाँ गणतन्त्र भनिन्छ । इमान्दारिता, स्वच्छ छविभन्दा पनि गद्वारी, देशद्रोहीहरूको जित हुनुलाई यहाँ गणतन्त्र भनिन्छ ।
(लेखक नेपाल गणतान्त्रिक जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा नेपाली नागरिक मोर्चाका संयोजक हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु