राष्ट्रियता र क्रान्ति आजको मुख्य आवश्यकता – विष्णु पन्त

१. आत्मसमर्पणवादी शासकहरुको पीडा ः हामीलाई इतिहासले भन्छ, हाम्रा आत्मसमर्पणवादी शासकहरुका कारण हाम्रो राष्ट्रियता बारम्बार संकटमा पर्ने गरेको छ । विचरा हाम्रा शासक वा नेताहरुको पीडा पनि कहालीलाग्दो छ । हाम्रा नेताहरु, प्रधानमन्त्री र मन्त्रीहरु शक्ति राष्ट्रका फुटबल जस्तै बनेका छन् । कहिले ट्रम्पले हान्छ त कहिले मोदीले अनि कहिले युरोपियन युनियनले । कहिले सि जिङपिङको प्रहार पनि खेपिरहेका छन् । भारत त झन् हाम्रो चारैतिर घेरेर बसेको अजिगंर नै भैहाल्यो । सधैं प्रभुहरुको अगाडि लम्पसार परेर मागेर खानु हाम्रो सत्ताको नियति नै बनेको छ । कहिले विआरआईको डण्डा त कहिले इण्डोप्यासिफिकको डण्डा । हैरान छ, विचरा हाम्रो नेताहरुको जिन्दगी । कहिले फ्रि तिब्ततको मुद्दा त कहिले एक चीनको मुद्दा । विश्वका सबै शक्तिराष्ट्रको ध्यान नेपालतर्फ केन्द्रित छ किनकि यहाँबाट चीनलाई हेर्न सकिन्छ । चीनको पक्ष र विपक्षमा दबाबहरु आउने कुरा स्वभाविक नै छ । हालै मात्र चीनका राष्ट्रपति सि जीङपिङको नेपाल भ्रमण र नेपालमा कम्युनिष्ट नामको सरकार भएका कारण अमेरिका, युरोपियन युनियन र भारत बढी तरङ्गित र उत्तेजित बनेको छ । फलस्वरुप हाम्रो विरुद्धमा संस्थागत र योजनाबद्ध आक्रमणहरु शुरु भएका छन् । आक्रमणको पछिल्लो उदाहरण हो – अमेरिकाको ‘प्रतिआतंकवाद ब्यूरो’ ले २०१९ अक्टोबरमा प्रकाशित गरेको आतंकवादको देशका रिपोर्टहरु २०१८ (कन्ट्री रिपोर्ट अन टेरोरीज्म २०१८) । यही नोभेम्बर १ मा अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी प्रतिवेदनमा एकातर्फ नेपालको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय आतंकवादीले आफ्नो ट्रान्जिट बनाउन सक्ने गम्भीर आरोप लगाएका छन् भने अर्कोतर्फ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि घरेलु आतंकवादका रुपमा उल्लेख गरेको छ । आफ्नो देशको बारेमा आएको अमेरिकी हस्तक्षेप वा आक्रमणका विरुद्ध सरकार र नेताहरु मौन छन् । यस्तो गम्भीर आरोपको विषयमा मौन समर्थन गर्नु यो सत्ताको अर्को गुलामी हो । नेपाललाई आक्रमण गर्ने मुद्दाहरु थुप्रै छन् जस्तै कहिले धार्मिक मुद्दा त कहिले मानवअधिकारका मुद्दा । कोही क्रिश्चियन धर्मको पक्षमा दबाब दिन्छन त कोही हिन्दुु राज्य कायम गराउने नाममा दबाब दिन्छन् । नेपालमा हिन्दु राज्य बनाउने भनेर मोदीको सरकारले दबाब दिइरहेको छ भने युरोपियन युनियन र अमेरिकाले धर्म परिवर्तन गर्न पाउने सवन्त्रता दिनुपर्ने भनेर दबाब दिइरहेका छन् । हामीलाई धर्मको नाममा हस्तक्षेप गर्ने, धम्की दिने, दबाब दिने र बार्गेनिङ्ग गर्ने कामहरु भइरहेकै छन् । हाम्रो राष्ट्रियता कस्तो बनाउने, हाम्रा आन्तरिक समस्याहरुको समाधान कसरी गर्ने त्यो हाम्रो विषय हो । त्यो अरुको विषय होइन । यस्ता गम्भीर प्रायोजित मुद्दाहरु उठाएर वातावरणलाई तरंगित बनाउन खोजिएको छ । सारमा भन्दा साम्राज्यवादी राष्ट्रहरु साना राज्यमाथि प्रायोजित आरोप र हमलाको आधारमा हस्तक्षेप गर्दछन् । यसरी सबै शक्तिराष्ट्रको क्रीडास्थल हामी किन बनीरहेका छौं भने हाम्रो सत्ता आत्मसमर्पणवादी र लम्पसारवादी छ । ऊ सबै मालिकसँग लम्पसार पर्छ तर मालिकहरु धेरै भएपछि रिझाउन गाह्रो हुन्छ । एकसँग भेट्दा अर्को रिसाउने अनौठो चक्रब्यूहबाट हाम्रो सत्ता गुज्रीरहेको छ ।
२. नागरिकता, नाकाबन्दी र सीमा अतिक्रमण भारतीय साम्राज्यवादका हतियार ः हाम्रो पूर्व, पश्चिम र दक्षिण सबै सिमाना भारतले घेरेको छ । हामीलाई थाहा छ, भारतीय सत्ताको चरित्र साम्राज्यवादी छ र उ नेपाललाई सिक्किम बनाउन चाहन्छ । उत्तरतर्फको चीनका कारण मात्र भारतले नेपाललाई सिक्किम बनाउन नसकेको हो । एकातर्फ भारत विश्व मानचित्रमै शक्तिराष्ट्रका रुपमा उभिन चाहन्छ भने अर्कोतर्फ दक्षिण एशियाको डन बन्न चाहन्छ । दक्षिण एशियामा सबैभन्दा सजिलो राष्ट्र नेपाल बनेको छ । नेपालको आत्मसर्मपणवादी सत्ता र लम्पसारवादी शासकहरुका कारण भारतलाई त्यो सजिलो रणनीति बनेको छ । नेपाललाई भारतमा विलय बनाउने उसका तीनवटा मुख्य रणनीति छन्, पहिलो हो नागरिकता, दोश्रो हो नाकाबन्दी र तेस्रो हो सीमा अतिक्रमण । नागरिकताको मुद्दा उठाएर लाखौं भारतीहरुलाई नेपाली नागरिकता लिन उत्प्रेरित गरी नेपालभित्र भारतीयहरुको बहुमत बनाउने उसको दीर्घकालिन योजना हाम्रा शासकहरुकै कारण सफल हुँदै गइरहेको छ । नेपाललाई हस्तक्षेप गर्ने दोस्रो उपायका रुपमा नाकाबन्दीलाई प्रयोग गरिरहेको छ । एकातर्फ चीनतर्फका नाका खोल्ने कुरामा उसको अवरोध र दबाब यथावत् छ भने अर्कोतर्फ खास खास समयमा नाकाबन्दी गरेर नेपालमा संकट उत्पन्न गर्ने उसको रणनीति कायमै छ । नेपाललाई हस्तक्षेप गर्ने सबैभन्दा बलियो हतियारका रुपमा सीमा अतिक्रमणलाई विकास गरेको छ । पूर्वदेखी पश्चिमसम्म हाम्रो सीमा मिचिएका छन् । सिमास्तम्भहरु भत्काईएका छन् र सारिएका छन् ।
थुप्रै गाउँबस्तीहरु रातारात मिचिएका उदाहरण छन् । बेलुका सुत्दा नेपाली भएका जनताहरु बिहान उठ्दा भौगोलिक हिसाबले भारतीय हुन विवश छन् । नेपाली नागरिकता छ, नेपाली लालपूर्जा छ, तिरो तिरेका प्रमाण छन्, जनगणना भएका प्रमाणहरु छन् तर पनि भारतीय साम्राज्यवादले त्यो हेर्नेवाला छैन् । अझ पछिल्लो समयमा आउँदा त नेपाललाई हस्तक्षेप गर्ने अर्को बलियो हतियारका रुपमा मधेश र धर्मलाई विकास गर्दैछ । मधेशीका अधिकारको नाममा होस् या हिन्दुराज्यको नारामा होस नेपालमा अशान्ति मच्चाउने षड्यन्त्रमा छ ।
३. लिपुलेपक, कालापानी र लिम्पियाधुरा ः पछिल्लो समयमा भारतीय, सीमा अतिक्रमणको जनस्तरबाट तीब्र विरोध भइरहेको छ । विवाद र आक्रोशको विषय बनेको छ । नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतभित्रै गाभिएको भारतीय नयाँ नक्सा । यो घटनाले आमनेपाली जनतालाई आक्रोशित बनाएको छ तर शासकहरुलाई रमिते मात्र बनाएको छ । सीमा जस्तो संवेदनशील विषयमा यति नाङ्गो आक्रमण र अतिक्रमण हुँदा सरकारका तर्फबाट कुनै ठोस पहल हुन सकेन । खाली सर्वदलीय परामर्श वा सुझाव लिनेबाहेक सरकारबाट कुनै पहल हुन सकेको छैन । शासकहरु भन्दैछन् यो कुनै नयाँ घटना होइन, वर्षौंदेखिको पुरानो घटना हो । भारतीय सेना कालापानीमा बसेको पुरानै इतिहास होरे । यसको अर्थ सरकारको मनोविज्ञानले भन्छ – हामी भारतसँग निहुँ खोजेर होइन, जी हजुर गरेर समाधान खोज्नुपर्छ ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा मात्र होइन, सुस्ता अतिक्रमणको घाउ बल्झिरहेकै छ । नवलपरासीको सुस्तामा मात्रै करिब १४ हजार हेक्टर जमिन भारतले अतिक्रमण गरिसकेको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरामा मात्रै ३९५ वर्ग किमि जग्गा अतिक्रमण गर्न खोजेको स्पष्टै छ । सीमाविदहरुका अनुसार भारतले नेपालका ५४ भन्दा बढी स्थानमा सीमा अतिक्रमण गरेको छ ।
४. अतिक्रमणको मुख्य कारण आत्मसमर्पणवाद ः नेपालको बिडम्बना के हो भने जनताहरु राष्ट्रवादी र नेताहरु वा शासकहरु आत्मसमर्पणवादी छन् । सत्ताका लागि गुलाम बन्न पनि तयार हुने नेताहरुको लस्कर नै लागेको छ । को बढी आज्ञाकारी गुलाम बन्ने भन्ने होडबाजी छ । सीमा अतिक्रमण पछि बिग्रेको नेपाल–भारतसम्बन्धप्रति चासो राख्दै चीनले वार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गरेको छ । हामीलाई डर के छ भने वार्ता शासकहरुका बीचमा हुन्छ र गोप्य सम्झौताहरु वा षड्यन्त्रहरु हुन सक्छन् । नेपालले भारतीय साम्राज्यवादी नीतिको डटेर मुकाबिला गर्न सक्नुपर्छ । दक्षिण एशियाका अरु साना राष्ट्रका लागि पनि उदाहरण बनेर नेपालले आफ्नो स्वभिमानलाई उच्च बनाई राख्न जरुरी छ । भारतको पछिल्लो कदमका विरुद्ध नेपाल भित्र भइरहेका विरोध र जनआक्रोशले पक्कै पनि अन्तर्राष्ट्रिय स्तरमा भारतको बद्नाम भएको छ । वर्तमान केपि ओलीको सरकार दुई तिहाई बहुमतको सरकार भनिएको छ र उसलाई के सजिलो छ भने आमजनमत राष्ट्रियताको पक्षमा उभिएको छ । भारतीय हस्तक्षेपका विरुद्ध दह्रोसँग उभिएर भारतलाई आत्माआलोचित गराउने र अतिक्रमित सिमाबाट पछि हटाउन सकेका प्रधानमन्त्रीको चौतर्फी स्वागत हुने र नयाँ स्वाभिमानी इतिहास रच्ने मौका पनि छ ।
५. राष्ट्रवादी शक्तिहरुको धुव्रीकरण ः नेपालको अस्तित्वका लागि राष्ट्रवादी शक्तिहरु सबै एक ठाउँमा उभिन जरुरी छ । राष्ट्रवादी सबै शक्तिलाई एक हुनका लागि आह्वान गर्नुपर्ने बेला आएको छ । जनताले आह्वान गरेका छन् कि राष्ट्रवादी शक्ति मिलेर मात्र देशलाई जोगाउन सकिन्छ । आज कतिपय जनसमुदायले अपिल गरेका छन् कि भारतीय थिचोमिचो कायम रहिरहे नेपाली सेना र विप्लव मिलेर लड्नुपर्छ । हिजोको इतिहासलाई हेर्दा जनताले वर्तमान सत्ता, शासक र नेताहरुलाई विश्वास गर्न सकेका छैनन् । पटक–पटक यी नेताहरुबाट जनताले धोका पाइरहेका छन् । महाकाली, टनकपुर, गण्डक, कोशीजस्ता सम्झौताहरुका कारण सत्ताप्रति जनविश्वास छैन । चुनावमा राष्ट्रियताको भ्रम छर्ने तर ससत्तामा पुगेपछि राष्ट्रघात गर्ने जस्तो घृणित इतिहास हाम्रा सामु उभिएको छ । आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको छ । जुन शक्ति अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादका विरुद्ध तारो बनेको छ, त्यही शक्तिलाई वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ । भारतीय हस्तक्षेप र सीमा अतिक्रमणका विरुद्ध शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिँदासमेत सरकारले उ माथि दमन र आक्रमणको नीति अंगिकार गरेको छ । यदि केपि ओली सच्चा राष्ट्रवादी हुँदा हुन त उनले राष्ट्रवादी शक्तिहरुलाई एक ठाउँमा उभिन आह्वान गर्नुपर्दथ्यो । उनले त्यत्रो हिम्मत गर्न सक्दैनन् किनकि उनले प्रतिबन्धको निर्णय अमेरिकी र भारतीय सत्ताको निर्देशनमा गरेका हुन् ।
६. आर्थिक र सैन्य विकास ः आजको विश्वमा कुनै पनि राष्ट्रको अस्तित्व दुईवटा तत्वबाट निर्धारित हुन्छ । पहिलो हो अर्थतन्त्र र दोश्रो हो सैन्य विकास । हामीलाई देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सत्ता चाहिएको छ । यदि त्यस्ता इमानदार नेताहरु भएको पार्टी वा शक्ति भएमा नेपाली जनता समर्थनका लागि हाम फाल्न तयार छन् । हिजो प्रचण्ड नेतृत्वको जनयुद्धलाई पनि जनताले व्यापक समर्थन दिएकै हुन तर धोका र घात भयो । तत्कालीन माले वा एमालेलाई पनि राष्ट्रवादी शक्तिका हिसाबले जनसमर्थन प्राप्त भयो तर परिणाम उल्टो भयो । चुनाव अघि भारतीय नाकाबन्दीसँग लडेको भन्ने आधारमा केपि ओलीको पार्टीलाई जिताए तर सत्तामा गएपछि त्यो धोका साबित भयो । त्यसकारण नेपालले दीर्घकालीन रुपमा अर्थतन्त्र र सैन्य विकासमा ठूलो जोड लगाउन जरुरी छ । भ्रष्टाचारविरुद्ध निर्मम प्रहार गर्दै नेपालमै उद्योग कलकारखाना खोल्ने, कृषिमा व्यापक लगानी गर्ने नीति अंगीकार गर्दै नेपालमै उद्योग कलकारखाना खोल्ने, कृषिमा व्यापक लगानी गर्ने नीति अंगीकार गर्नुपर्छ । युवा शक्तिलाई विदेश पठाएर होइन स्वदेशमै रोजगार सृजना गरेर नेपालको चमत्कारिक विकासको ढोका खुल्न सक्छ ।
७. जनताले क्रान्ति र परिवर्तन खोजेका छन् ः जनताले क्रान्ति र परिवर्तनको पक्षमा ठूला–ठूला बलिदान गरेका छन् । जनताले अधिकार खोजेका छन् । सबैखाले शोषण उत्पीडन, आन्याय, विभेद र असमानताका अन्त्य चाहेका छन् । क्रान्ति वा परिवर्तनको शर्तमा मात्र ओली र दाहालको उदय भएको हो तर सत्तामा पुगेपछि धोका र विश्वासघात भयो । हिजोका राजा महाराजा र महासामन्तहरुलाई पनि छायाँमा पार्दै वर्तमान शासकहरु, लुटेराहरुमा परिणत भएको नमिठो तथ्य हाम्रा अगाडि उभिएको छ । अहिलेकै व्यवस्था ल्याउनका लागि हजारौंको बलिदान भएको थिएन । वर्तमान सत्ताले न त राष्ट्रियताको जर्गेना गर्न सकेको छ न त क्रान्तिको संस्थागत गर्न सकेको छ । आज जनताले यो व्यवस्थाभन्दा पञ्चायत ठीक भन्न थाली सके । संसदीय नेताहरुभन्दा बरु राजाहरु राष्ट्रवादी भन्ने निष्कर्षतिर जनता पुगी सके । अतः जनआक्रोश वर्तमान सत्ताविरुद्ध उर्लिइरहेको छ । जनआक्रोशलाई दबाउने कि त्यसको व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले उल्टो बाटो लिएको छ । दमन वा फासीवादबाट समस्याको समाधान हुँदैन, त्यो झनै विस्फोट बन्दै जान्छ । सत्ता उन्मादले अन्त्यमा आफैंलाई खान्छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>