नयाँ र वृहत् संयुक्त मोर्चा नै अहिलेको परम् आवश्यकता – नारायण शर्मा

२०७६ जेष्ठ १२ गते, आईतवार

आजको साम्राज्यवादी युगमा कुनै देशका सर्वाधिक ठूला, महत्वका, गम्भीर, संवेदनशील र ज्वलन्त समस्या हुन्, राष्ट्रियता, जनतन्त्र म्झयअचबअथ र जनजीविका र जनविकाससँग सम्बन्धित समस्याहरु । राष्ट्रियताको समस्या देश्को स्वत्व–अस्तित्व अनि देश र जनताको स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता, पहिचान र अस्मितासँग जोडिएको हुन्छ भने जनतन्त्रको समस्या जनताका विभिन्न हकहितका विषयहरुसित सम्बन्धित हुन्छन् । यसैगरी जनजीविका र जनविकासका समस्याहरु जनताका दैनन्दिन जीविका र प्रगती–समृद्धीका आवश्यकता परिपूर्ती र सुख, शान्ति अनि समृद्धिको प्राप्तिसँग गाँसिएका हुन्छन् । यसरी के देखिन्छ भने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु कुनै देश र त्यहाँका नागरिक–वासिन्दाका लागि आधारभूत समस्या हुन् अर्थात् बाँच्नको लागि अत्यावश्यक, अनिवार्य र अपरिहार्य कुराहरुसँग जोडिएका समस्या हुन् । यी समस्याहरुको समाधान भएन भने देश र जनता रहन वा बाँच्न सक्दैनन् वा रहिहाले वा बाँचिहाले पनि त्यस्तो रहनु वा बाँच्नुको कुनै अर्थ हुदैन ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरु रुपमा हेर्दा अलग–अलग देखिएपनि सारमा र समग्रमा हेर्दा यी आपसमा अविभाज्य, अन्योन्याश्रित र परिपूरक हुन्छन् । कुनै एकको अस्तित्व र विकास कुनै अर्कोको अस्तित्व र विकाससँग अविच्छेद र अविच्छिन्न रुपमा गाँसिएका हुन्छन् । त्यसैले कुनै देशको कुनै सचेत नागरिक वा नागरिकको समूह अथवा राजनीतिक पार्टीले यी तीनवटै विषय र यीसँग सम्बन्धित मुद्दाहरुलाई आफ्ना घोषणापत्र वा प्रतिबद्धतापत्र हुँदै विभिन्न कार्यक्रमहरुमा सुरुदेखिनै विशेष जोड र महत्वका साथ उल्लेख र उठान गरेका हुन्छन् । यो कुरा अलग हो कि, कुनै ठोस स्थिती र सन्दर्भमा कुनै एक वा अर्को विषय प्रधान बन्न सक्छ र त्यसलाई मुख्यरुपमा उठाउनुपर्छ र उठाउने गरिन्छ । तर, त्यही विषयलाई निरपेक्ष रुपमा प्रधान बनाएर उठाउने तर अन्य विषयलाई सापेक्षित रुपमा पनि महत्व नदिने र नउठाउने चिन्तन–प्रवृत्तिले पूर्ण, समग्र र दीगो सफलतामा पुराउँदैन । अथवा यसो भनौ,ं यसप्रकारले कुनै एक विषयमा प्राप्त सफलता र विजयले कुनै अर्को विषयमा समस्या थपिने हुन जान्छ । त्यसैले यी तीनवटै विषय वा यीसँग सम्बन्धित मुख्य–मुख्य मुद्दाहरुलाई सँगसङ्गै, सन्तुलित, संयोजित र समग्रतामा उठाउने र बैठाउने गर्नु जरुरी हुन्छ ।
अब यी तीनवटा विषय र यीसङ्ग सम्बन्धित मुद्दाहरु कसरी आपसमा अन्तर्सम्बन्धित छन् भन्ने कुरा नेपालमा हाल उठिरहेका कुराहरुलाई लिएर हेरौं ।
नेपालमा अहिले राष्ट्रियतासँग सम्बन्धित मुख्य समस्याको रुपमा विदेशीहरुलाई नागरिकता प्रदान–वितरण गर्ने कुरा अघि आएको छ भने जनतन्त्रसँग सम्बन्धित विषयमा मुख्य समस्याको रुपमा जनअधिकारको अपहरण गर्ने कुरा सर्वाधिक अघि छ । यसैगरी जनजीविकासँग सम्बन्धित विषयमा मुख्य समस्याको रुपमा भ्रष्टाचारको सर्वब्यापीकरण हुन आएको छ । संक्षेपमा र ठोस रुपमा भन्नुपर्दा नागरिकता विधेयक, मिडिया काउन्सिल विधेयक र नेकपाद्वारा नेकपामाथी नै प्रतिबन्ध एवं अनियन्त्रित भ्रष्टाचार अहिलेका हाम्रा मुख्य समस्याहरु हुन् । नागरिकता विधेयक देशको अस्तित्व नै समाप्त गर्ने सुनियोजित दीर्घकालीन वैदेशिक षड्यन्त्रमा आधारित छ । देशै रहेन भने यहाँ हाम्रा लोकतान्त्रिक हकअधिकार हुनुको के अर्थ ? जबकी नेपालीलाई नेपाली नागरिकताको अधिकार नै गुम्ने भएपछि हाम्रा अन्य हकहितका कुराको के कुनै औचित्य र महत्व होला र ? कुनै देशमा कुनै व्यक्तिले सर्वप्रथम नागरिक हुने अधिकार राख्दछ भने मात्र अन्य सबैप्रकारका सुखसुबिधा लिने अधिकार पाउँछ । त्यसैगरी देशमा जनवाद र लोकतन्त्र भएमा मान्छेलाई बोल्ने, लेख्ने, छाप्ने, भेला हुने, आलोचना–विरोध गर्ने, सभा–संगठन गर्ने जस्ता मौलिक हक प्राप्त हुन्छ । अन्यथा अन्याय, अत्याचार, शोषण, दमन, हत्याहिंसा जस्ता घोर अमानवीय व्यवहारको सिकार हुनुपर्ने हुन्छ । यस प्रकारको जिन्दगी जिउनुको पनि खासै केही अर्थ र महत्व हुदैन । त्यस्तै, जनताको बाँच्ने आधारको ग्यारेण्टी भएन र गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत अधिकार प्राप्त भएन भने बाँच्नै सकिँदैन । बाँच्नै नपाएपछि जतिसुकै लोकतन्त्र भएपनि वा देश जतिसुकै ठूलो, स्वाभिमानी, स्वाधीन र शक्तिशाली भएपनि त्यो लोकतन्त्र वाहियात हुन्छ भने त्यस्तो देश निर्जन हुन्छ । अनि त तिनको पनि के अर्थ र औचित्य हुन्छ र ? यसरी के स्पष्ट छ भने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु एक अर्कासँग छुट्टाउनै नमिल्ने गरी जोडिएका छन् र कुनै एकको अस्तित्व कुनै अर्कोको अस्तित्वमा निर्भर हुन्छ । त्यसैले भनिएको हो कि, यी तीन बिषयहरु आपसमा अन्र्तसम्बन्धित र अन्तर्निर्भर छन् र यिनलाई अलगथलग रुपमा बुझ्ने र कुनै एक वा दुई मात्र प्राप्त गर्नको लागि मात्र लड्ने कुरा एकाङ्गी, अपूर्ण र कमजोर हुन्छ ।
तसर्थ यी तीन समस्या र यिनको समाधानबारे उपरोक्त प्रकारको एकीकृत र केन्द्रीकृत बुझाइ नै सही र अग्रगामी बुझाइ हो र यसै बुझाइ अनुसार यी तीनथरी समस्या समाधानार्थ हाल भैरहेका वा पछि हुने खण्डित र आंशिक आन्दोलन र अभियान र प्रयासहरुलाई एकीकृत र केन्द्रीकृत गरी सशक्त र प्रभावकारी बनाएर समग्र रुपमा सफलतामा पुराउनु अहिलेको ठोस आवश्यकता हो । यदी यसप्रकारको सही दृष्टिकोण र सो अनुसारको व्यवहार र संघर्ष गर्न रुचि नदेखाएर सबैले मेरो गोरुको बाह्रै टक्का भन्ने र आफ्नो–आफ्नो डम्पूm बजाउने गरेर आन्दोलनमा विभाजन, विखराव र विकेन्द्रीकरण भइ नै रह्यो भने हाम्रो सुनिश्चित विजय पनि अवाँछित पराजयमा जान–बदलिन सक्छ । सम्बन्धित सबैमा सही चेतना भया ।।
त्यसैले म फेरिपनि थप जोड दिएर भन्न चाहन्छु कि यी समस्याको सही, शीघ्र, गुणात्मक र दीगो समाधानको लागि नयाँ र वृहत् संयुक्त मोर्चा नै अहिलेको परम आवश्यकता हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु