संसदीय चुनावी परिणामले दिएको सन्देश

२०७९ मंसिर १९ गते, सोमबार
विष्णु पन्त

१. विकर्षण र आकर्षणको आगामी रूपरेखा ः यही मंसिर ४ गते भएको संसदीय चुनावले अपेक्षाकृत परिणाम नै दिएको छ । जुनसुकै चुनावलाई जनमतको विश्लेषण गर्ने आधार बनाउन सकिन्छ । पहिलो कुरा चुनावमा ६१ प्रतिशत मात्र मतदाताले भोट खसाले । यसको अर्थ हो, आधाभन्दा धेरै वा बहुमत जनताले चुनावालई मन पराएनन् किनभने मतदाता नामावलीमै समावेश नभएका जनताहरुको तथ्यांक त लुकेको छ । यसको सिधा अर्थ हो, चुनावप्रति जनताको विकर्षण वा अविश्वास बढ्यो । प्रष्टै छ कि चुनावप्रतिको विकर्षण भनेको नेताहरु, दलहरु र व्यवस्थाप्रतिको विकर्षण हो । यो विकर्षण बढ्दो छ र यो विकर्षणलाई जनआक्रोशका रूपमा बुझ्नु सही हुन्छ । यसको सही निष्कर्ष हो ः संसदीय व्यवस्था अलोकप्रिय र असफल भयो । त्यति मात्र होइन संसदीय दलहरु, संसदीय नेतृत्व र प्रणाली नै अलोकप्रिय भयो । स्पष्ट छ, यो चुनाव दलीय लोकप्रियताका आधारमा भएन । दलीय अलोकप्रियताकै कारण चुनावमा गठबन्धन बनाएर इज्जत जोगाउने काम भयो । चुनावी परिणामलाई आधार बनाएर हेर्ने हो भने एकीकृत समाजवादी र माओवादी केन्द्रलाई लोपोन्मुख दलका रूपमा धेर–थोर मात्रै विजयी भए । समानुपातिक मतलाई विश्लेषण गर्ने हो भने सबै पुराना दलहरु विस्तारै विकषर्णको शिकार बन्दैछन् । त्यसको सट्टामा अरु नयाँ दलहरुप्रति जनआकर्षण बढ्दो छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीजस्ता साना दलहरु यो चुनावबाट उदाए । चुनावमा स्वतन्त्र उम्मेदवारहरुको बाढी नै चल्यो । यो चुनावमा थुप्रै वाम नेताहरुले हारे । खासगरी एमाले र माकेका वरिष्ठ नेताहरुले हारे । चुनाव हार्ने सूचना पाएपछि प्रचण्ड स्वयम् चितवन छाडेर गोरखा पुगे । माधव नेपालले त सार्वजनिक रूपमा नै भने, “काठमाडौंबाटै उठेको भए मलाई पनि हराउने रहेछन् ।” यो चुनावमा नेपाली कांग्रेसका शीर्ष नेताहरुले खासै हार्नु परेन । यो चुनावलाई बहिष्कार वा खारेज गर्ने शक्तिहरु पनि थिए । खासगरी विप्लव र वैद्य नेतृत्वका धारहरु बहिष्कार आन्दोलनमा थिए । आजको जनमत न त चुनावप्रति आकर्षित भयो न त दलहरूप्रति । उता सत्ता गठबन्धनको दुईवटा उद्देश्य थियो, पहिलो एमालेलाई शून्य बनाउने र दोस्रो हो, गठबन्धनको बहुमत पु¥याउने । एमाले एक्लै लड्दा पनि सशक्तरूपमा ठिङ्ग उभिन सफल भयो तर उसका धेरै वरिष्ठ नेताहरु छानी–छानी पराजय बने । उता एमाले र केपी ओलीको दम्भ थियो, एमाले एक्लै बहुमत ल्याउने, जुन चकनाचुर भयो । भनिन्छ, भीम रावल र प्रभु साहलाई मिलाउन नसक्दा एमालेलाई १० सिट घाटा लाग्यो । उता माओवादी केन्द्र र एकीकृत समाजवादीका पराजित नेताहरुको आरोप छ, नेपाली कांग्रेसको एउटा समूह उनीहरुलाई नियोजितरूपमा हराउने षड्यन्त्रमा लाग्यो । फेरि गगन थापा र रवि लामिछानेबीचको भद्र सहमतिले सबैलाई झस्कायो । उता राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवारहरुलाई खासगरी वाम नेताहरुलाई मात्र हराउन प्रयोग गरिए जस्तो देखियो ।

अहिलेकै अवस्थामा कुनै तात्विक फेरबदल भएन भने विस्तारै जनआकर्षण रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति बढ्ने देखिन्छ । समानुपातिकतर्फ माओवादी केन्द्रले पाए बराबर नै मत उसले प्राप्त ग¥यो । अझ तेस्रो पो उक्लिने हो कि भन्ने अड्कलबाजी करिब–करिब सत्य सावित भयो । त्यसैगरी राप्रपाको आकर्षण पनि बढ्ने देखिन्छ । मधेशमा सिके राउत र रेशम चौधरीको पनि प्रभाव बढ्ने देखिन्छ । अहिले नयाँ ठानिएका साना दलहरु अब टिक्लान् वा नटिक्लान् त्यो भन्न सकिँदैन । पछिल्लो पटक एउटा अराजनीतिक समूह छ, जुन सामाजिक सञ्जालमार्फत्् राजनीतिमा प्रवेश गरेको छ । कुनै राजनीतिक चेतना वा विचार नभएको एउटा ठूलो समूह अहिले राजनीतिको केन्द्रमा आउन खोज्दै छ । उसले युवा र नयाँको नारा लगाएको छ । राजनीतिमा युवा र बुढाको विवाद वा पुस्ताको विवाद त्यति राम्रो नारा होइन । युवा र बूढाको विवाद गर्दै जाँदा बालहरु पनि जागे भने के गर्ने ? युवाहरुको राजनीतिमा प्रवेश गर्ने कुरा सही छ तर त्यो छाडा र अराजनीतिक बन्न भएन । युवाको नाममा केही सीमित व्यक्तिले स्वार्थपूर्ति गर्ने अवस्था बन्नु भएन ।

त्यसकारण यो चुनावमार्फत् संसदमा उदाएका नयाँ दल र शक्तिहरुको परीक्षण अब सुरु हुँदैछ । चुनावपछि सरकार गठनको दौडधुप र रस्साकस्सी बढेको छ । भनिएको छ, सत्ता गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनभित्रका एकीकृत समाजवादी र माओवादी केन्द्रमा विवाद छ । पुरानै गठबन्धन कि नयाँ वाम गठबन्धन भन्ने बहस व्यापक बनेको छ । अब वाम गठबन्धन बनाउनु उपयुक्त र दीर्घकालिन हुने धेरैको मत छ । नेपाली कांग्रेसभित्र प्रधानमन्त्री को बन्ने भन्ने ठूलो विवाद छ । धेरै विश्लेषकहरुको मत छ कि अबको संसद राजनीतिक अस्थिरताको जग हुनेछ । सरकार बनाउने भूमिकामा विदेशी राजदूत र शक्तिकेन्द्रको हस्तक्षेप वा दौडधुप सुरु भइसकेको छ ।

२. बहुमतमाथि अल्पमतको शासन ः निर्वाचन आयोगले दिएको तथ्यांकलाई आधार मान्ने हो भने धेरै विरोधाभासहरु जन्मिन्छन् । पहिलो कुरा ६०.६१ प्रतिशत मतदाताले मात्रै भोट खसाले । त्यसमा मतदाता सूचीमा नाम समाविष्ट नगरेका नागरिकको तथ्यांक छैन । यसरी हेर्दा, मतदान गर्नेको संख्या ५० प्रतिशतभन्दा कम छ । त्यसकारण आधाभन्दा कम नागरिक सहभागी भएर गरिएको चुनावलाई वैधता दिनु भनेको बहुमतमाथि अल्पमतको शासन हो । सत्य यो पनि हो कि चुनावमा भाग नलिने जनता संगठित रूपमा अनुपस्थित भएको भने होइन । अब निर्वाचन परिणामतर्फ जाउँ । हामीकोमा दुईवटा निर्वाचन प्रणाली छन् ः प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली । प्रत्यक्ष निर्वाचन प्रणालीमा नेपाली कांग्रेस पहिलो छ भने समानुपातिक निर्वाचनमा एमाले पहिलो छ । एकै दिन र एउटै समयमा भएका दुईवटा निर्वाचन प्रणालीले फरक–फरक नतिजा दिएको हुनाले पनि यो निर्वाचनको विश्वसनीयता र वैधता देखिएन । एकीकृत समाजवादीको त कहानी नै भयो ः समानुपातिकमा राष्ट्रिय पार्टी नै बनेन तर गठबन्धन गरेर प्रत्यक्षमा १० सिट ल्यायो ।

३. कम्युनिष्ट जनमत ः संसदीय पुँजीवादी चुनावको एउटा बिडम्बना छ ः जनमतमा कम्युनिष्टहरु, वाम, प्रगतिशील र राष्ट्रवादीहरुको दुई तिहाई जनमत छ तर ऊ चुनावमा सधैँ हार्छ । एक तिहाई पनि समर्थन नभएको शक्ति चुनावमा सधैँ जित्छ र विजय ¥याली गर्छ । मेरो चिन्ता प्रगतिशील र राष्ट्रवादी जनमतको रक्षा र विकासको हो । ऊ बहुमतमा छ तर, ऊ सधैँ हार्छ । के उसलाई जित्ने इच्छा हुँदैन ? उसलाई के विजय ¥याली मनाउने इच्छा छैन ? ऊ के सधैँ निराशा, वितृष्णा, कुन्ठा र अपमानको शिकार बन्नुपर्छ ? यसको दोष कम्युनिष्ट नेतृत्वमा छ र सधैँ दुश्मनको रणनीतिको शिकार बन्ने वाम चेतनामा छ । वाम चेतना भनेको सापेक्षित रूपमा आफ्नो वर्गलाई जिताउने, उत्साहित गराउने र क्रियाशील गराउने चेतना हो । मेरो अध्ययनमा भुरे, टाकुरे वाम पसलहरुले वर्ग दुश्मनको सत्तालाई बलियो बनाइरहेका छन् । कुरा र आदर्शमा कम्युन, सामूहिकता अनि समाजवादको गर्ने तर, सानाभन्दा साना विवादमा पनि सँगै बसेर हल गर्न नसक्ने चेतनालाई अग्रगामी भन्ने कि पश्चगामी ? विभाजन होइन एकताको संस्कार बसालौं न । पुँजीवादी शक्तिहरु एकीकृत हुनसक्ने अनि कम्युनिष्टहरु हुन नसक्ने ? त्याग गरेरै भए पनि एउटा बृहत् धु्रवीकरणको जग बसालौं न । संस्थागत पद्धति र पारदर्शी जीवनशैली अंगालौं । अरुलाई पनि स्वीकारौं न । सहकार्य र सहअस्तित्वको संस्कार बिना कसरी समाज चल्न सक्छ ? आजको मानव चेतनालाई सम्मान गरौं, जहाँ सबैसँग ज्ञान र सूचनाको पहुँच छ । म मात्र जान्ने र म मात्र सबथोक ठान्ने भ्रमबाट मुक्त बनौं । मानव समुदायलाई कन्भिन्स गर्न सके त हामी नेता बन्ने हो ? शासक, सामन्त वा मालिकको रूपमा होइन, सेवकको रूपमा जनतामा जाने बानी बसालौं । विभेद, असमानताको अन्त्य पहिले आफ्नै समूहभित्र गरेर देखाउन प¥यो । सिद्धान्तभन्दा पहिले व्यवहारले सही हुनुप¥यो । सधैँ हारेर वा पराजित भएर बसेको हाम्रो जनमतलाई विजयी बनाउने बाटो देखाउनु प¥यो । अल्पमतको होइन, बहुमतको शासन गर्ने प्रणालीको खोजी गर्नुप¥यो । विभाजित रूपमा होइन एकीकृत र संगठितरूपमा अघि बढ्ने जागरण पैदा गर्नुप-यो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु