कमरेड प्रचण्डलाई पत्र

२०७९ मंसिर १८ गते, आईतवार

कमरेड प्रचण्ड

अध्यक्ष नेकपा (माओवादी केन्द्र)

हार्दिक अभिवादन !

आराम साथ आरामताको कामना गर्दछु । बिशेष के भने गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको लगभग अन्तिम परिणाम आइसकेको छ । निर्वाचनसम्बन्धी एउटा परिणाम अर्थात् निर्वाचनको पक्ष र बिपक्षमा के कति जनमत छ ? भन्ने कुराको परिणाम निर्वाचनकै दिन आएको थियो । राज्यले जालसाँझीपूर्ण विवरण पेश गरेर बहुमत जनताले निर्वाचनमा सहभागिता जनाएको देखाए तापनि यथार्थमा बहुमत जनताले निर्वाचन बहिस्कार गरेका थिए । निर्वाचनमा सहभागिताको निम्ति राज्यले गरेको भीषण दमन र ब्यापक धरपकडका वावजुद जनताको ठूलो हिस्साले निर्वाचन प्रक्रियामा सहभागी जनाएनन् । सीमित जनसहभागितामा भएको निर्वाचन परिणाम हेर्दा बहुसंख्यक जनमत वामपन्थीहरुको पक्षमा देखिन्छ । तथापि वामपन्थीहरुको फरक–फरक घटकहरुमा मत विभाजन हुँदा गैरवामपन्थी पार्टी सबभन्दा ठूलो पार्टीको रुपमा देखापरेको छ । आपसी प्रतिद्वन्द्विताको कारण वामपन्थी पार्टीहरुले आफ्नो अपेक्षाअनुरुप मत प्राप्त गर्न सकेनन् । अवस्य तपाईंंको पार्टी नेकपा (माओवादी केन्द्र) ले पनि तपाईंले अपेक्षा गरेनुसारको मत प्राप्त गर्न सकेन । यसका निम्ति अन्य कारणहरु के थिए ? किन त्यस्तो भयो ? कहाँ कहाँ के के पुग, नपुग भए ? यसको निम्ति भित्री कारणहरु के थिए ? यो समीक्षाको विषय हो र अवस्य समीक्षा गर्नुहुनेछ । तथापि ‘छोटी मुह बडी बात” हुँदैन भने तपाईंको शुभचिन्तकको नाताले नेकपा (माओवादी केन्द्र) को आगामी कार्ययोजनाबारे यो पत्रमार्फत् म तपाईंलाई थोरै सुझाव दिन चाहन्छु ।

कमरेड अध्यक्ष, हामीले माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ्गदेखि तपाईंहरुसम्मबाट सिकेको कुरा के हो भने कम्युनिस्टहरुको अन्तिम लक्ष्य साम्यवाद स्थापना हो । निश्चयनै साम्यवाद स्थापनाको निम्ति समाजवाद स्थापना हुनुप¥यो । समाजवाद स्थापनाको निम्ति अर्धसामन्ती र अर्धऔपनिवेशिक एबं नवऔपनिवेशिक मुलुकहरुको हकमा नयाँ जनवाद स्थापना हुनुप¥यो । तर, नयाँ जनवाद, समाजवाद र साम्यवाद त्यत्तिकै स्थापना हुँदैनन् । नयाँ जनवादको स्थापनाको निम्ति सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादको अन्त्य हुनुप¥यो । समाजवादको स्थापनाको निम्ति पुँजीवादको अन्त्य हुनुप¥यो । त्यसैगरी साम्यवादको स्थापनाको निम्ति समाजवादको पनि अन्त्य हुनुप¥यो । नेपालमा नयाँ जनवाद, समाजवाद स्थापनाको निम्ति सामन्तवाद, दलाल र नोकरशाही पुँजीवाद बाधक हो । नेपालको सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादको रक्षक हो यहाँको प्रतिक्रियावादी संसदीय व्यवस्था ! प्रतिक्रियावादी संसदीय व्यवस्थालाई ध्वस्त नपारेसम्म सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादको अन्त्य हुँदैन । यसको अन्त्य नभएसम्म नेपालमा नयाँ जनवाद, समाजवादको स्थापना हुँदैन । त्यसकारण नेपालको प्रतिक्रियावादी संसदीय ब्यबस्थालाई जतिसक्दो छिटो अन्त्य गर्न क्रियाशील हुनुनै नेपाली कम्युनिस्टहरुको कर्तब्य हो ।

अवश्य, पुनरुत्थानवाददेखि सतर्क हुनुपर्दछ तर प्राप्त उपलब्धिहरुको रक्षाको नाममा प्रतिक्रियावादी संसदीय व्यबस्थाको सेवा गर्नु हुँदैन । कम्युनिस्टहरुले प्रतिक्रियावादी चुनाव जितेर सांसद, मन्त्री, प्रधानमन्त्री र रास्ट्रपति बनेर दुनियाँमा कहीँ पनि नयाँ जनवाद समाजवाद आएका छैनन् र आउनेवाला पनि छैन । कम्युनिस्टहरुको निम्ति संसदीय चुनाव एक कार्यनीतिक विषय हो । त्यसको उपयोग या बहिस्कार के गर्दा प्रतिक्रियावादी संसदीय ब्यबस्थालाई ध्वस्त पार्ने आधार निर्माण हुन्छ त्यही गर्नुपर्दछ । मैले यी कुरा बढी जान्ने भएर तपाईंको सामु गरिरहेको होइन यी त मैले तपाईंबाट प्राप्त गरेका शिक्षा हुन्, अहिले केवल स्मरण मात्र गरिरहेको हुँ । त्यसकारण अवका दिनमा माओवादी केन्द्रको भूमिका सरकारमा जाने र पद पड्काउनेतिर होइन सरकारभन्दा बाहिरनै बसेर जनता जगाउनेतिर केन्द्रित हुनुपर्दछ । संसदमा बसेर संसदीय व्यबस्थाको स्थायित्व र विकासको निम्ति मलजल गर्ने होइन, त्यसका जरा काट्ने.तिर केन्द्रित हुनुपर्दछ । संसदीय व्यबस्थाको फेद समातेर त्यसलाई अँठ्याएर बस्ने होइन, त्यसलाई जति सकिन्छ काटेर वा टासेर कमजोर तथा पातलो बनाउन प्रयत्न गरिरहनुपर्दछ ।

अध्यक्ष कमरेड, सँगै सुत्दा कहिलेकाँही खुत्ता लाग्नु अस्वभाविक होइन । कमजोर पक्ष सबैका हुन्छन्, मेरा छन्, तपाईंका होलान् र अरुहरुका पनि अवश्य हुन्छन् ! सँगै काम गर्ने क्रममा आपूm–आपूmमा रहेका कमीकमजोरीको कारण, आ–आफ्ना अनुभव, आ–आफ्ना बुझाई तथा आ–आफ्ना सोच्ने र काम गर्ने शैलीको कारण, कहिलेकाँही एकापसमा तितोपिरो हुनु स्वभाविक नै हो । त्यसप्रकारका तितो–पिरोहरुलाई संगै बसेर पखाल्नुपर्दछ तर त्यतिकै आधारमा वर्गवैरीसँग घाँटी जोड्न पुग्नु राम्रो होइन । वर्गबैरी सधैँ बैरी नै हुन्छ उ कहिल्यै वर्गबन्धु बन्न सक्दैन । त्यस्तै बर्गबन्धु कहिल्यै बैरी हुनसक्दैन । त्यसकारण आगामी दिनमा बर्गबैरीसँगको सहकार्यमा होइन, बर्ग बन्धुसँगको एकता र ध्रुवीकरणमा माओवादी केन्द्रको जोड हुनुपर्दछ । र, सबैले गम्भीर ढंगले आत्मासमीक्षा गर्दै सबै बर्गबन्धुहरु एकाकार हुनुपर्दछ ।

लेनिन भन्नुहुन्छ ‘संगठित त्यो नै सबथोक हो’ ! संगठित भएर नै अपार शक्ति प्राप्त गर्न सकिन्छ । तर, त्यसका निम्ति उपयुक्त संगठनको आवश्यकता हुन्छ । गलत प्रकारका संगठनहरुले सही शक्ति उत्पादन गर्न सक्दैनन् । त्यस प्रकारका संगठनहरुमा संगठित हुनु भनेको समयको बर्बादी मात्रै हो । त्यसकारण अवका दिनमा माओवादी केन्द्रले भैरहेको आफ्नो संगठनलाई क्रान्तिकारी रुपान्तरण गर्दै सुदृढ र सशक्त बनाउन ध्यान केन्द्रित गर्नुपर्दछ । माओवादी केन्द्रको अबको नीति भनेको संगठन–संगठन र फेरि संगठन हुनुपर्दछ । संगठन क्रान्तिकारी, सशक्त र विशाल हुनुपर्दछ । किनकि प्रतिक्रान्तिकारी, कमजोर र सानो संगठन प्रभावहीन हुन्छ । प्रभावहीन संगठनको औचित्य हुँदैन । क्रान्तिकारी, सशक्त र विशाल संगठन निर्माण गर्न सम्पूर्ण क्रान्तिकारीहरुलाई एकै ठाउँ गोलबद्ध गर्न सक्नुपर्दछ । त्यसको निम्ति पनि माओवादी केन्द्रले अहम भूमिका निर्वाह गर्नुपर्दछ ।

कार्यकर्तासम्बन्धी स्टालिनको एउटा भनाइ छ ‘कार्यकर्ता पार्टीका सम्पति हुन्’ स्टालिनको यो भनाईले कार्यकर्ताप्रति उनको दृष्टिकोण कति प्रस्ट रहेछ भन्ने कुराको पुस्टि गर्दछ । वास्तवमा कार्यकर्ताको बिशाल पंक्ति नभएको पार्टीले केही गर्न सक्दैन । त्यसकारण कार्यकर्ताहरुको बिशाल पंक्ति उत्पादन गर्ने, तिनलाई क्रान्तिकारी सिद्धान्तले लैस गर्ने तथा उनीहरुको संरक्षण, उचित ब्यबस्थापन र परिचालन गर्नतिर आफ्नो ध्यान केन्द्रित गर्नु नै माओवादी केन्द्रको अवको बिशेष काम हो । कार्यकर्ताहरुको समस्या के हुन् ? असन्तुष्टि के हुन् ? ति असन्तुष्टिका स्रोत के हुन् ? तिनका उचित अध्यन गरेर सही ढंगले सम्बोधन गरिनुपर्दछ । यदि त्यसो गरिएन भने कार्यकर्ताहरुमा निराशा, बिचलन र पलायनको सम्भावना हुन्छ ।

नेता, कार्यकर्ताहरुको उचित कार्यविभाजन भएन भने त्यसको गलत असर पार्टीमा देखा पर्दछ । परिस्थितिजन्य बाध्यता, पार्टीको आवश्यकता र पात्रको क्षमताको आधारमा नेता, कार्यकर्ताहरुको कार्य बिभाजन गरिनुपर्दछ । पार्टीले संसदीय हस्तक्षेपको कार्यनीति अवलम्बन गर्नुपर्ने स्थितिमा सिंगो पार्टीलाई संसदीय डवलीमा उतार्ने होइन, पार्टीको एउटा सानो हिस्सालाई संसदीय संघर्षमा पठाउनु पर्दछ । मुख्य नेतृत्व र पार्टीको मुख्य शक्ति संसदभन्दा टाढै बसेर क्रान्तिकारी आन्दोलनमा केन्द्रित हुनुपर्दछ । संसदीय संघर्ष गर्ने, जनताका सेवा गर्ने, संगठन निर्माण तथा बिस्तार गर्ने र बौद्धिक तथा आर्थिक उत्पादन गर्ने नेता, कार्यकर्ताहरुको बेग्लाबेग्लै स्पस्ट कार्यविभाजन हुनुपर्दछ । एउटै पात्र सबैतिर भयो भने, सबैलाई एकैतिर एकोहोरो गरियो भने कतैतिर पनि राम्रो परिणाम हात लाग्दैन ।

कमरेड अध्यक्ष, तपाईंलाई चिढाउनु, उत्तेजित पार्नु या चोट दिनु मेरो उद्देश्य पटक्कै होइन । अव सबैले आ–आफ्ना गल्तीकमजोरी स्वीकार गरेर आ–आपना टाउकामा आगो झोसेर सगोत्रीय अंगालोमा बाँढिनु पर्दछ भन्ने मेरो मान्यता हो । त्यसको निम्ति तपाईंलाई झक–झकाउनु मेरो उद्देश्य हो । तपाईंसँग छलफल गर्नुपर्ने कुराहरु र तपाईंलाई दिनुपर्ने सुझावहरु मेरा मनमा धेरै छन् ती सबै यो छोटो पत्रमा सम्भव छैन । समयले साथ दिएमा आगामी दिनमा विभिन्न माध्यमबाट मैले त्यसको निम्ति प्रयास गर्नेछु । नचाहँदा–नचाहँदै त्रुटिवस तपाईंलाई चोट लाग्ने त्यस्तो कुनै शब्द पत्रमा पर्न गएको रहेछ भने आत्मालोचित हुँदै पत्र बन्द गर्दछु ।

धन्यवाद, क्रान्तिकारी अभिवादन !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु