टिकटकद्वारा अमेरिकी प्रतिबन्धविरुद्ध लड्ने घोषणा

२०८१ बैशाख १३ गते, बिहीबार

काठमाडौँ । सोसल मिडिया प्लाटफर्म टिकटकले ‘असंवैधानिक’ अमेरिकी प्रतिबन्धविरुद्ध लड्ने घोषणा गरेको छ। टिकटकले कम्पनी बिक्री गर्नुपर्नेे अन्यथा प्रतिबन्धको सामना गर्नुपर्ने प्रावधान सहितको ‘असंवैधानिक’ अमेरिकी कानुनलाई अदालतमा चुनौती दिने बताएको हो
अमेरिकी संसदका दुबै सदनले पारित गरेको उक्त विधेयकलाई राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेसँगै लागू भएको छ । नयाँ कानूनअनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटक प्लाटफर्म बिक्री गर्नका लागि ९ महिनाको समय दिइएको छ, अन्यथा टिकटक एप अमेरिकामा प्रतिबन्धित हुनेछ ।
टिकटकले प्रयोगकर्ताका विवरणहरु चीन सरकारलाई दिनसक्ने भन्दै अमेरिकाले उक्त कानून लागू गरेको हो । तथापि टिकटकले भने त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ । ‘हामी तथ्यमा विश्वास गर्दछौँ र कानुनहरु प्रष्ट रुपमा हाम्रो पक्षमा छन् । अन्ततः हाम्रै जित हुनेछ’, एक विज्ञप्तिमा टिकटकले भनेको छ, ‘तथ्य के हो भने हामीले अमेरिकी प्रयोगकर्ताका विवरण सुरक्षित राख्नका लागि अर्बौँ डलर लगानी गरेका छौँ र हाम्रो प्लाटफर्म बाह्य प्रभाव तथा हस्तक्षेपबाट मुक्त छ ।’
यस्तो प्रतिबन्धले ७० लाख व्यवसायलाई ध्वस्त पार्नुका साथै १७ करोड अमेरिकीको आवाज बन्द गरिदिनेछ । टिकटक विरुद्धको उक्त विधेयकमाथि माथिल्लो सदन सिनेटमा मतदान हुने क्रममा ७९ जना सांसदले पक्षमा मतदान गरे भने केवल १८ जनामात्रै विपक्षमा रहे ।
इन्टेलिजेन्स कमिटीका रिपब्लिकन सिनेटर मार्को रुबियो भन्छन्, ‘हामीले वर्षौँदेखि अमेरिकाको सबैभन्दा लोकप्रिय मध्येको एक एपमाथि चिनियाँ कम्युनिस्ट पार्टीलाई नियन्त्रण गर्न छुट दियौं । त्यो खतरनाक अदूरदृष्टि थियो ।’
टिकटकले भने बाइटडान्स चीन वा कुनै अरु देशको एजेन्ट नभएको बताएको छ । साथै बाइटडान्सले आफु चिनिया कम्पनी नरहेको दाबी गर्दै यसमा विश्वव्यापी लगानी कम्पनीहरुको ६० प्रतिशत शेयर रहेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी शोउ जी चेवले टिकटक प्लाटफर्मको सुरक्षाका लागि कानूनी अधिकारको अभ्यास लगायतका सबैखाले प्रयास गर्ने बताएका छन् । विज्ञहरुका अनुसार अमेरिकाले लागू गरेको नयाँ कानुन ठूलो विषय भएपनि यसको कार्यान्वयनमा भने धेरैखाले अवरोध रहेका छन् । उसो त अमेरिकामा कानून बमोजिम टिकटक प्रतिबन्धित हुन वर्षौं लाग्नसक्छ र यसका लागि विषय सर्वोच्च अदालतसम्म पनि पुग्नसक्छ, जसले यस प्रक्रियालाई ढिला बनाउनेछ । गत नोभेम्बरमा मोन्टानास्थित एक अमेरिकी संघीय न्यायाधीशले उक्त राज्यमा टिकटक प्रतिबन्ध गर्ने कार्यमाथि रोक लगाएको थिए । साथै अमेरिकी युवाबीच टिकटकको लोकप्रियताले पनि समस्या खडा गर्न सक्दछ । अमेरिकामा दुई तिहाई युवाहरुको टिकटक अकाउन्ट छ । पहिलो चुनौति भनेको वाक स्वतन्त्रता तथा अभिव्यक्तिको स्वतन्त्रता प्राप्त गर्नु हो । साथै बाल अधिकार सम्बन्धी राष्ट्रसघीय घोषणापत्र अनुसार पनि बालबालिकामा सूचना थाहा पाउने र खेल्ने अधिकार छ । यी सबै आधारमा अमेरिकी काननूलाई चुनौति दिइने सम्भावना छ ।
वाशिंटनस्थित काटो इन्स्टिच्युटका जेनिफर हडलस्टोनका अनुसार उल्लेख्य नियामक जाँचका कारण टिकटकको सम्भावित बिक्री ढिला हुनसक्छ । अर्को महत्वपूर्ण प्रश्न भनेको के अमेरिकामा टिकटकको बिक्री वास्तवमै सम्भव छ त ? भएमा यसको खरीदकर्ता को होला ?
वास्तवमा अमेरिकामा टिकटक कसले खरीद गर्ला र सञ्चालन गर्ला भन्ने कुरा ठूलो प्रश्नको रुपमा रहेको छ । यसको मूल्य नै दशौँ अर्ब डलर हुनसक्छ । त्यसैले सम्भावित खरीदकर्ताको संख्या पनि निकै सानो हुनेछ ।-बीबीसी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार