बागमतीमा कालो चरो

प्रजिना सी २०७९ मंसिर १७ गते, शनिबार


चील जस्तै चरो बस्तीमा पस्छ
सबैतिर भागाभाग मच्चिन्छ ।
विदेशी झैं लाग्ने चरो नेपाली भाषामा भन्छ
मान्छेको छुट्टाछुट्टै पृथ्वी हुन्छ
लालपुर्जा नहुनेले बस्ने ठाउँ पाउँदैन
जमिन जिन्दावाद! देश जिन्दावाद! भन्न पाउँदैन

चरोलाई मानवता के थाहा ?
आफ्नो मालिकलाई सम्झँदै अघि बढ्छ
सपनालाई भत्काउन ठूलो डोजर चढेर आउछ
आफ्नो पखेटा फैलाएर उ मान्छेका गर्धन हेर्छ
पछिपछि हिँडेका साँढेहरू छोड्छ
मान्छेको शान्ति माथि हमला गर्छ ।

आँगनमा तारा-जुन गनेर बस्ने बाबुनानीहरू
तर्सिन्छन् चराको खुंखार आँखा देखेर
विश्वासको मत दिएको तर अहिले पश्चतापले
जुटिरहेका छन् युवाहरु रगत उमालेर

किनभने चरोले
धेरै मान्छेका टाउको ठुङ्यो ।
धेरैको बाँस भत्काइदियो
सबैको आशा च्यातिदियो
सबै तहस-नहस बनाउँदै
विश्वासलाई चित्कारमा बदलिदियो ।

किनभने वस्तीको ठूलो चित्कारले
उसलाई मिठो निन्द्रा लाग्छ
संगसंगै, माया र घृणाको सन्देश
संघर्ष र प्रतिरोधको सन्देश
रगत र पानीको फरक गन्न जान्नुपर्ने
अपिल गरिरहेको छ वाग्मतीको किनारले

अबको विकल्प:
कि चरालाई न्याय दे ।
कि बागमतीको दुखलाई न्याय दे ।

प्रतिक्रियाहरु