विश्व पुस्तक मनाइँदै

२०८१ बैशाख ११ गते, मंगलवार


काठमाडौँ । आज अप्रिल २३ अर्थात् विश्व पुस्तक दिवस । पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले सन् १९९५ को अप्रिल २३ तारिखदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाउने गरिन्छ । विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न यो दिवस मनाइन्छ । यस्तै, लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिन प्रतिलिपि अधिकार दिवस पनि मनाइन्छ ।
लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिनलाई विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाइन्छ । विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको जन्मजयन्ती तथा स्मृति दिवसको मौका पारेर युनेस्कोले अप्रिल २३ का दिन नै यो दिवस मनाउने निर्णय गरेको हो । त्यसो त अप्रिल २३ का दिन अन्य विश्वप्रसिद्ध साहित्यकारहरुको स्मृति दिवस पनि पर्दछ ।
प्रसिद्ध स्पेनिस साहित्यकार मिगेल डि सेर्भान्टेसको स्मृति दिवस पनि आजकै दिन पर्दछ । त्यस्तै मौरिस ड्रुअन, जोसेप प्ला तथा ह्यालडोर ल्याक्सनेसको पनि जन्म तथा स्मृति दिवस अप्रिल २३ का दिन नै पर्दछ ।
पुस्तक दिवसको प्रचलन स्पेनबाट सुरु भएको हो । अप्रिल २३ का दिन स्पेनमा ‘गुलाब दिवस’ मनाइन्थ्यो । भ्यालेन्टाइन दिवसका दिन जस्तै एक अर्का गुलाब साटासाट गरेर एकअर्काप्रति माया र सद्भाव साट्ने गर्थे । तर सन् १९२६ मा स्पेनिस लेखक मिगेल डि सेर्भेन्टासको स्मृति दिवस पारेर गुलाबको साटो स्पेनी नागरिकहरुले पुस्तक आदान–प्रदान गर्न थालियो । स्पेनमा सन् १९२६ बाटै पुस्तक दिवस जस्तै गरी विशेष कार्यक्रम मनाइन्थ्यो । त्यसैबाट विश्व पुस्तक दिवस मनाउने अवधारणा आएको थियो । विश्व पुस्तक दिवसका दिन विश्वभर नै विभिन्न साहित्यिक उत्सव तथा समारोहहरु आयोजना गरी मनाइन्छ ।

प्रतिक्रियाहरु