यो सत्ता र सरकारबाट ९५ प्रतिशतभन्दा बढी जनता असन्तुष्ट र आजित छन्

विप्लव सी, महासचिव, नेपाल कम्युनिस्ट पार्टी २०७९ कार्तिक १३ गते, आईतवार

०             नेकपाको नवौँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ, महाधिवेशनले कस्तो निर्णय लिएको छ, केही बताइदिनुस् न ।

ठीक भन्नु भयो, हाम्रो जनप्रिय एवं गौरवशाली पार्टीको ऐतिहासिक नवौँ महाधिवेशन यही असोज २५ देखि कात्तिक २ गतेसम्म शिवराज (शिवगढी), कपिलवस्तुमा आफ्नै मेहनत र लगानीमा बनेको भवनमा भव्यतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनले राष्ट्रिय र विश्वको आर्थिक, राजनैतिक, सामाजिक अवस्थाहरुको मसिनो गरी लेखाजोखा गरेको छ । यसले पुँजीवादीवर्ग र श्रमिक सर्वहारावर्गको स्थितिको बारेमा साथै संभावित साम्यवादी क्रान्तिका बारेमा पनि व्यापक विश्लेषण गरेको छ । विषयहरुको विश्लेषणपछि दर्शन, अर्थतन्त्र, राजनीति, कम्युनिष्ट पार्टी, कम्युनिष्ट अन्तराष्ट्र, कम्युनिष्ट संस्कृति, कम्युनिष्ट जाति जस्ता महत्वपूर्ण विषयहरुबारे दुरगामी महत्व राख्ने संश्लेषण गरेको छ ।

हामी तपार्ईंंंलाई बताउँ, हाम्रो महाधिवेशनले भौतिक विज्ञानमा खोज गरिएको अनिश्चयको सिद्धान्तलाई समाज विज्ञान अर्थात राजनैतिक व्यवस्था र सामाजिक सम्बन्धमा पनि जोडेको छ । समाजवादी क्रान्ति गर्दा होस् या क्रान्ति भइसकेपछि समाजवादको रक्षा र साम्यवादमा प्रवेशका लागि अनिश्चयको सिद्धान्तलाई आत्मसात अनिवार्य बनेको हाम्रो संश्लेषण छ । यदि हामी पुँजीवादलाई परास्त गर्न र वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्न चाहन्छौं भने अनिश्चयको सिद्धान्तलाई आत्मसात गरेर बद्लिएको वस्तुको रक्षा र रुपान्तरणमा निरन्तर जोड लगाउन जरुरी हुन्छ ।

दोस्रो, महाधिवेशनले आर्थिक क्षेत्रमा एकीकृत स्वामित्व प्रणाली पारित गरेको छ । पुँजीवादी निजी स्वामित्व र बीसौं सदीको समाजवादी सामुहिक स्वामित्वको गहन समीक्षा गर्दै निजी स्वामित्वलाई अन्त्य गर्दै समाजवादी सामुहिक स्वामित्वमा पुग्न संक्रमणकालीन अबधिका लागि एकीकृत स्वामित्व प्रणाली वस्तुवादी, व्यवहारिक एवं वैज्ञानिक हुने निस्कर्ष निकालेको छ ।

राजनीतिमा एकीकृत प्रतिनिधित्व प्रणाली प्रयोग गर्ने नीति पास गरेको छ । पुँजीवादले प्रयोग गरिरहेको पुँजी नियन्त्रित प्रत्यक्ष निर्वाचनको प्रतिनिधि प्रणाली र समाजवादभित्र प्रयोग भइरहेको प्रतिनिधि छनोट प्रणाली दुवैलाई एकीकृत गर्दै व्यवस्थापिकाको निश्चित प्रतिशत जनताबाट प्रत्यक्ष निर्वाचित हुने र एक भाग पार्टी, मोर्चा, सेना आदिबाट प्रतिनिधिहरुले पठाउने प्रणाली प्रयोग गर्ने विधि पारित गरिएको छ ।

सामाजिकरुपले पुरानो पुँजीवादी समाजको स्थानमा पार्टी नेतृत्वमा क्रमशः कम्युनिष्ट समाज निर्माण गर्ने साथै पुराना परम्परागत जातिहरुलाई त्यागेर नयाँ कम्युनिष्ट जातिको निर्माण गर्ने निर्णय लिएको छ । आइन्दा हाम्रा नेता र कार्यकर्ताले आफ्नो नामका पछाडि पुरानो जात नलेखी नयाँ जाति ‘सी’ लेख्नेछन् ।

साँस्कृतिक रुपले बच्चा जन्मिँदा र विवाह गर्दा खुसियाली मनाउने, परिवारको सदस्यको निधन हुँदा शोक कार्यक्रम गर्ने, शोकको प्रतीकमा कुनै एउटा चिन्ह प्रयोग गर्ने निर्णय भएको छ । त्यसैगरी हरेक दुई महिनामा एक दिन कम्युनिष्ट श्रम गर्ने निर्णय पनि गरिएको छ ।

कार्यनैतिकरुपले नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्थाको संघ र प्रदेश सभाका चुनाव मंसिर ४गते हुँदैछन् । पार्टीेले यो चुनावलाई सशक्त प्रकारले खारेज गर्न आमजनतलाई अपिल गर्ने, यसका ठाउँमा वैज्ञानिक समाजवादी सत्ताको इकाई निर्माण गर्ने साथै राष्ट्रिय स्वाधीनताको संघर्षको कार्यनीति प्रयोग गर्ने निर्णय गरेको छ । यीबाहेक अनेकौं महत्वपूर्ण निर्णयहरु पनि छन् जसको सम्पूर्ण उल्लेख यहाँ सम्भव रहेन ।

०             २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे सहमति भएको थियो । जुन सहमति नेकपाले अक्षरशः पालना गरे पनि सरकारले पूर्णरुपमा पालना गरेको छैन, तपार्ईंंलगायत नेकपाका नेता – कार्यकर्तामाथि लगाइको झुठा मुद्दा खारेज भएको छैन भने कतिपय नेता–कार्यकर्ता अझै जेलमा छन्, यस विषयमा पार्टीको धारणा कस्तो रहेको छ ?

तपार्ईंंले उल्लेख गर्नु भएको विषय सही हो, एक वर्ष नौ महिना अगाडि राज्य र हाम्रो पार्टीबीच भएको ३ बुँदे सहमतिलाई सरकारले इमान्दारीपूर्वक लागू गरिरहेको छैन । बरु ३ बुँदेलाई हाम्रो पार्टी माथि दबाब हाल्ने, घेराबन्दी गर्ने, षड्यन्त्र गर्ने हतियारका रुपमा प्रयोग गर्न खोज्यो । यसको ताजा प्रमाण कमरेडहरुलाई जेलमुक्त नगर्नु, नेता–कार्यकर्ताका मुद्दाहरु खारेज नगर्नु उल्टो ३ बुँदेमा हस्ताक्षर गर्ने नेतृत्वसहित पार्टीका जिम्मेवार नेताहरुलाई पक्राउ पुर्जी गर्नु हुन् । सरकारले विदेशी दबाबमा परेर ३ बुँदेको अपहेलना गरेपछि हाम्रो पार्टीले त्यसका विरुद्ध भण्डाफोर गर्ने र संघर्ष गर्ने नीति लियो । सरकार केही पछि हटे पनि नाटक मात्र गरिरहेको देखिन्छ । हाम्रो महाधिवेशनले भनेको छ राज्यले इमान्दारीपूर्वक ३ बुँदे लागू गरोस् अन्यथा संघर्ष संचालन गर्नु पर्दछ ।

०             नेकपाले शान्तपूर्ण राजनीति अँगाले पनि सरकारले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा तपार्ईंंहरुलाई सहभागी हुने वातावरण मिलाएन, अब पार्टीले कस्तो नीति लिन्छ ?

हो, दलाल पुँजीवादी सत्ता र संसद्वादी दलहरु मुख्यतः माके र कांग्रेसले हाम्रो पार्टी चुनावमा जान्छ कि भनेर षड्यन्त्र गरे । उनीहरुले हाम्रो काठमाडौँमा उद्घाटन हुने नवौँ महाधिवेशन, चुनावमा मोर्चा दर्ता गरेर जनतामा जाने समय र जनताका पक्षमा संघर्ष उठाउने परिस्थितिलाई नापेर हामीविरुद्ध पक्राउपुर्जी जारी गरे । यसको मतलव हामीले चुनावलाई के गथ्र्यौं फरक विषय हो तर उनीहरुले षड्यन्त्र गरेको पक्का हो । जब उनीहरु या आत्मसमर्पण या प्रतिरोधका लागि क्रान्तिकारीहरुलाई उकास्छन् हामी आत्मसमर्पणको बाटो होइन विद्रोहको बाटो पक्रन तयार हुन्छौं । अहिले हामी त्यही मार्गमा छौं । हामी संसदीय सत्ताका विरुद्ध मात्र होइन उसको षड्यन्त्रका विरुद्ध पनि संझौताहीन संघर्ष गर्न तयार छौं ।

०             यहीबीचमा सरकारले एमसीसी संसदबाट पारित गरेको छ, एसपिपी लागू गर्ने प्रपन्च हुँदैछ, नागरिकता विधयेकले नयाँ विवाद सृजना गरेको छ, यस विषयमा पार्टीको धारणा कस्तो छ ?

तपाईंहरुलाई थाहै छ नेपाली श्रमिक तथा देशभक्त जनताले अमेरिकी साम्राज्यवादको नवऔपनिवेशिक परियोजना एमसीसीलाई सडकबाट अस्वीकार गरिसकेका छन् । एसपीपी त झन् सुन्नै चाहँदैनन् । हाम्रो पार्टीले एक वर्ष अगाडि नै घोषणा गरिसिकेको छ कि एमसीसी र एसपीपी नेपालमा लागू गर्नु हुँदैन र गर्न दिनु हुँदैन । जनताको आज्ञाले हाम्रो पार्टी तिनको खारेजीका लागि नेतृत्व गर्न तयार भएको छ । अर्को कुरा भारतीय साम्राज्यवादको दबाबमा नेपालका दलाल नेताहरुले नागरिकता जस्तो संवेदनशील एवं स्वनिर्णय गर्नु पर्ने विषयलाई चुनाव र पदको मोलतोलको विषय बनाएका छन् । हाम्रो पार्टीको स्पष्ट धारणा छ कि हरेक नेपाली नागरिकले निर्विवादरुपले नागरिकता पाउनु पर्छ । यदि समस्या छ भने नेपालका शासकहरुको नालायकी र लाचारीका कारणले छ । यदि समस्या नै छ भने मधेशी जनता सहभागी उच्चस्तरीय नागरिक आयोग बनाएर समाधान गर्नु पर्छ । कुनै पनि स्थितिमा बाह्य शक्तिको हतियार बन्न दिनु हुँदैन ।

०             स्थानीय निर्वाचनमा भाग लिने र नलिने विषयको विवादले पार्टीले फुटको सामना गर्नु प¥यो, पार्टीभित्र देखिएको फुटवादी प्रवृतिलाई कसरी नियाली रहनु भएको छ ?

विप्लव सी, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

होइन, स्थानीय चुनावको कार्यनीतिले पार्टीमा समस्या आएको र फुटेको भन्ने सत्य होइन । तथापि रुपमा त्यस्तो प¥यो । क्रान्तिकारी कम्युनिष्टहरुका लागि चुनाव रणनैतिक विषय नभएर एक कार्यनैतिक विषय हो । यसबारे भगौडा षड्यन्त्रकारी सुदर्शन–कञ्चनहरु अस्पष्ट छन् या उनीहरु खाटी चुनाव विरोधी हुन भन्ने होइन । साचो कुरा यो हो कि सुदर्शन–गुणराजहरुमा प्रतिबन्ध अघिदेखि केही गम्भीर खालका आर्थिक र संगठनात्मक अराजकता र विचलन देखिएका थिए । पार्टीले आलोचना गर्दै आएको थियो । उनीहरु कारवाहीका भागिदार थिए । तर, वर्ग संघर्षको पेचिलो स्थितिमा नेतृत्वका हिसावले सकेसम्म रुपान्तरण गरौं भन्ने उदारता देखाउँदा चुनावलाई बहाना बनाएर सुदर्शन, गुणराजहरुले ‘गौंडा ढुकेर मार हान्ने’ गद्दार लिनपियाओवादी षड्यन्त्र गरे । मैले पहिले नै भनिसकेको छु पौैष महिनासम्म सुदर्शन चुनाव उपयोग गर्नु पर्छ भन्ने पक्षमा थिए । कञ्चन त अहिले पनि राष्ट्रपति चुनावको वकालत गर्दै हिँडेका छन् जब कि राष्ट्रपतिभन्दा स्थानीय चुनाव कैयौं गुणा सामान्य हो ।

उनीहरुको कथित विभाजन त्यसबेला बाहिर आयो जतिबेला पार्टीले जनताका अधिकारका पक्षमा र एमसीसीविरुद्धको राष्ट्रिय स्वाधीनताको संघर्षमा नेतृत्व गरेका कारण कञ्चनकै भाषामा पार्टी जनताको एक मात्र विकल्प शक्ति बनेको थियो । नेतृत्व स्थापित भएको थियो । हाम्रो संघर्षबाट नेपालका दलालहरु मात्र होइन अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद पनि चुर भएका थिए । कम्युनिष्ट भनाउँदा संशोधनवादी, आत्मसमर्पणवादीहरु तिलमिलाएका थिए । कुनै पनि बहानामा पार्टीमाथि हमला हुन्छ भन्ने हाम्रो अनुमान थियो जो चुनावको बहानामा देखा प¥यो । यी षड्यन्त्रकारीहरुले अनाधिकारिकरुपमा काठमाडौँमा डेरा जमाएर पार्टीको लाखौं पैसा उडाउँदै अध्याँरा कोठामा निराशा, कुण्ठा र षड्यन्त्रका तानावुना कसरी बुन्दै थिए भन्ने पछिल्ला दिनमा कमरेडहरुले सुनाउने गर्नु भएको छ । वास्तवमा हामीमाथि भित्रका षड्यन्त्रकारी र बाहिरका दलालहरु मिलेर एकै निशानामा हमला गरे । कहिल्यै नसुनेका पत्रकार र संचार माध्यमहरु हाम्राविरुद्ध दिनमा दुुई पटकसम्म अन्तर्वार्ताका नाममा विष वमन गराउन र जनतामा भ्रम छर्न आइपुगे । त्यहाँ षड्यन्त्रकारीहरुका तर्कहरु दलाल पुँजीवादी सत्ता र साम्राज्यवादका विरुद्ध एक शब्द थिएनन्, पुरै पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिका विरुद्ध थिए । यसबाट भन्न सकिन्छ यो कुनै आवश्यक फुट थिएन, योजनाबद्धरुपले उचालेर फुटाइए नाटक गरिएको थियो । या फुटेको हल्ला मच्चाइएको थियो । हामीलाई थाहा छ कुनै फुटले क्रान्तिको हित गर्छन्, जनता र कार्यकर्तालाई उत्साहित र एकताबद्ध गर्छन् भने कुनै फुटले प्रतिक्रान्तिको सेवा गर्छन्, जनता र क्रान्तिकारीहरुलाई निराश बनाउँछन् । यी तत्वहरुको स्याल हुइँयाले दोस्रो अवस्था निर्माण ग¥यो । तर, यो षड्यन्त्र पापको घैँटो फुटेजस्तो प्वाट्ट फुटिसकेको छ । नवौँ महाधिवेशनमा पुग्दा साह्रा किटपतङ्ग, चोटपटकहरु सफाचट भएका छन् र एकीकृत जनक्रान्तिले नयाँ उचाइ हासिल गरिसकेको छ । यसबाट क्रान्तिका दुश्मनहरु पुनः मुर्छित बन्छन् भने पनि जनताको लागि खुसीकै कुरा हुने छ ।

०             बिगतमा नेकपाले संसदीय निर्वाचन नभै जनमत संग्रहको एजेन्डा अघि सारेको थियो, अहिले जनमत संग्रहको बहस सेलाएको देखिन्छ । के पार्टी जनमत संग्रहबाट पछि हटेको हो ?

हो, हामीले आठौं केन्द्रीय समितिको नवौँ पूर्ण बैठकपश्चात भएको पहिलो विशेष बैठकबाट सरकारसँग वार्तामा जाँदा प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको कार्यनीति लिएर जाने निर्णय गरेका थियौँ । किनकि आमनागरिकले बुझ्ने गरी दलाल पुँजीवादी सत्ता र सरकार असफल भएका थिए । जनताले अग्रगामी निकास खोजिरहेको थिए तर तुरुन्तै सशस्त्र विद्रोह हुने अवस्था थिएन । त्यस्तो परिस्थितिमा पार्टीले बडो सुझबुझका साथ प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवादको कार्यनीति प्रस्ताव गरेको थियो । पार्टीले एकमतले उक्त प्रस्ताव पास गरेपछि देशभरी प्रचारप्रसार भयो र जनतामा एउटा प्रभाव पनि दियो । सरकारसँगको वार्तामा हामीले राख्यौं पनि तर त्यसबेलाको केपी वली सरकार र राज्य यो प्रस्तावमा सहमत भएन । पछि शेरबहादुरको सरकार पनि सहमत भएन । तथापि पार्टीले अगाडि बढायो । यतिबेला परिस्थिति बदलिएको छ । अमेरिकी साम्राज्यवादी हस्तक्षेप खतराको घेरा नाघेर आएको छ । संसदीय चुनाव हुँदैछन् । यसबेला जनमत संग्रहको कार्यनीति पछि धकेलिएको छ, त्यसको ठाउँ वैज्ञानिक समाजवादी स्थानीय सत्ताको निर्माण, राष्ट्रिय स्वाधीनता र चुनाव खारेजीको कार्यनीतिले लिएको छ ।

०             देश बाह्य हस्तक्षेप र आन्तरिक गठबन्धनको चक्रब्यूहमा फसेर धराशयी हुने स्थितिमा पुगेको छ, यस चक्रब्यूहबाट देश र जनतालाई मुक्त पार्न कसरी सम्भव होला, यस विषयमा केही सोच्नु भएको छ ?

निश्चयनै देश ठूलो संकटमा छ तर यसको अग्रगामी एवं जनपक्षीय निकास पनि छ । समस्याहरुले सधैँ समाधानहरु पनि सँगै लिएर आएका हुन्छन् । यति हो अग्रगामी शक्तिले उचित पहल लिन नसकेमा जनताले अनेकौं क्षतिहरु भोग्नु पर्छ । तर, एक दिन त निकास भइहाल्छ ।

हामीले बुझ्नु पर्छ कि हाम्रो सुन्दर देशमा संकट आउनुको कारण बाह्यरुपले भूमाण्डलीकृत अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादी अतिक्रमण र हस्तक्षेप हो । उनीहरुको नवऔपनिवेशिक नीति हो भने आन्तरिकरुपले दलाल पुँजीवादी सत्ता र यसको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र हो । साम्राज्यवादीहरुले आफ्नो स्वार्थका लागि लुट मच्चाउँछन् भने दलालहरुले आफ्नो थैली भर्नका लागि देशलाई नै बेचिदिन्छन् । यिनको समाधान भनेको नेपाललाई दलाल पुँजीपतिवर्ग र उसको सत्तालाई परास्त गरेर देशलाई स्वाधीन बनाउनु र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हो । हामीले यसका लागि श्रमिक जनतालाई विश्वासमा लिएर जानसक्नु पर्छ ।

०             तपार्ईंंले केही क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच रणनैतिक मोर्चा बनाउनु भएको छ यसको अर्थ र औचित्य के होला ?

हो, हाम्रो पार्टीले निरन्तर क्रान्तिकारी कम्युनिष्ट र देशभक्त शक्तिहरुका बीचमा रणनैतिक मोर्चा निर्माण गरेर दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नेमा जोड दिँदै आएको छ । यसको अरु कुनै रहस्य नभएर विभिन्न कारणले अलग कम्युनिष्ट पार्टीमा काम गरिरहेका तर नेपालमा दलाल पुँजीवादीवर्ग सत्ताका विरुद्ध क्रान्ति गर्नु पर्छ भनेर लडिरहेका मित्र पार्टीहरु छन् । त्यसैगरी देशलाई भूमाण्डलीकृत पुँजीवाद–साम्राज्यवादी उत्पीडन, हस्तक्षेपबाट मुक्त गरेर स्वाधीन देश निर्माण गर्नु पर्छ भन्ने देशभक्त शक्ति पनि छन् । ती विशेषतः नेपाली सेना, प्रहरी, कर्मचारी, उद्योगपति, राजनीतिक पार्टीहरुमा छन् । तिनलाई एकताबद्ध गर्न हामी हिचकिचाउनु हुँदैन भन्ने हाम्रो दृष्टिकोण छ । सोही दृष्टिकोणका आधारमा प्रतिबन्धभित्र चार पार्टीका बीचमा रणनैतिम संयुक्त मोर्चा बनाउने सहमति भएको थियो तर क्रान्तिकारी माओवादीको नेतृत्वमा देखापरेको संकीर्णवादी सोचका कारण सफल हुन सकेन । यद्यपि अहिले पनि क्रा.मा. बाहेकका चार कम्युनिष्ट पार्टीका बीचमा रणनैतिक संयुक्त मोर्चा बनाएर जानु पर्छ भन्ने सैद्धान्तिक सहमति भएछ । जो खुसीको कुरा हो । हाम्रो महाधिवेशनले रणनैतिक मोर्चा निर्माण गर्नेमा जोड दिएको छ । पार्टी अबका दिनमा यही दिशामा अगाडि बढ्ने छ ।

०             नेकपाले लिएको एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापन गर्ने लक्ष कहिले पुरा होला, आमजनतालाई कसरी आस्वस्त पार्नु हुन्छ ?

तपार्ईंंको जिज्ञासा रमाइलो मात्र होइन सर्वत्र चासो राख्ने विषय पनि हो । एकीकृत जनक्रान्ति कहिलेसम्म पुरा होला ? यति भन्न सकिन्छ वस्तुगत आवश्यकतासँग जनताको आत्मगत क्षमताले मेल खाने वित्तिकै यो वर्षमै, अर्कोे वर्ष या केही वर्ष या दशकभित्र पुरा हुनसक्छ । यदी क्रान्तिकारी शक्ति र जनताले उचित पहल, साहस, तत्परता, इच्छा राखेनन् भने दलाल पुँजीवादी सत्ता दशकौंसम्म पनि घिस्रिँदै चल्न सक्छ । तर, हामीलाई पूर्ण विश्वास छ यो सत्ता र सरकारबाट ९५प्रतिशतभन्दा बढी जनता असन्तुष्ट र आजित छन् । उनीहरुले यो सत्ता र व्यवस्था लामो समय टिक्न दिने छ्र्र्रैनन् । अर्को कुरा हामीसँग देश र जनताको नेतृत्व गर्ने क्षमता भएको श्रमिकवर्गीय कम्युनिष्ट पार्टी, यसको वैज्ञानिक कार्यदिशा, संघर्षशील लडाकु शक्ति र सक्षम नेतृत्व पंक्ति छ । यी सबै आधारबाट हेर्दा जनताले छिट्टै आफ्नो भविष्य आफैँले निर्माण गर्ने वैज्ञानिक समाजवादको मार्ग पक्रने छन्, एकीकृत जनक्रान्ति सफल भइछोड्ने छ ।

०             अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?

क्षेप्यास्त्र साप्ताहिक र प्रधान सम्पादक मित्र राजेन्द्र चिमौरियाजीलाई अन्तर्वार्ताका लागि धेरै–धेरै धन्यवाद । वर्तमान परिस्थितिमा यत्ति विषय राख्नु नै उचित होला । अन्य विषयमा फेरि छलफल गरौंला ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु