राष्ट्र र जनघाती कार्य बन्द गर

२०७९ भाद्र १९ गते, आईतवार

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले एकपछि अर्को राष्ट्र र जनघाती कार्य गर्दै आएको सर्वविदितै छ । देउवा नेतृत्वको गठबन्धन सरकारले संसदवाट एमसीसीजस्तो राष्ट्रघाती सम्झौता पास गरेर लागू गर्ने धृष्टता गरेको छ भने एसपीपी सम्झौता अस्वीकार गर्ने बताउँदै भित्र–भित्रै लागू गर्ने प्रपन्च गरिरहेको छ । यही गठबन्धन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधयेक राष्ट्र र जनताको हितमा छैन भन्दै पुनर्विचार गर्न पठाएको विधयेक दुवै संसदवाट हुबहु पारित गरेर पुनः राष्ट्रपति समक्ष प्रमाणीकारणका लागि पठाउने तय गरेको छ । जुन ज्यादै निन्दनीय र दुखद् विषय हो । यसैगरी, यही गठबन्धन सरकारले तत्कालीन ओली नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेर उक्त पार्टीका महासचिवलगायतका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा फसाउने षड्यन्त्र रचेको छ । यसैगरी, देउवा नेतृत्वको गठबन्धन सरकारले नेपालको संविधानले प्रस्तावनामै प्रत्याभूत गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ को खिल्ली उडाउँदै प्रेस काउन्सिललाई विस्थापन गरेर मिडिया काउन्सिल गठन गरी स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाई आफ्ना बिरोधी आवाजलाई बन्द गर्ने प्रयत्न गर्दैछ ।

यसैगरी, देउवा नेतृत्वको गठबन्धन सरकारले आगामी मङ्सिर ४ गते संघ र प्रदेश सभाको निर्वाचन गर्ने तयारी गरेको छ । तर, यो निर्वाचनमा जनतालाई स्वन्तन्त्ररुपले मतदान गर्ने अवसरवाट बन्चित गर्दै सत्तामा आफ्नो वर्चश्व कायम राख्न गठबन्धन गरेर उम्मेदवार खडा गर्न कम्मर कसेर लागेको छ । सत्ताधारी गठबन्धनले आसन्न संघ र प्रदेश सभाको निर्वाचनमा राष्ट्र र जनताको पक्षमा सतिसाल भएर खडा भएका दल र नेतालाई निर्वाचनमा सहभागिता जनाउनबाट रोक्न भरमग्दुर प्रयास गरिरहेको छ । जसको प्रमाणका लागि तत्कालिन ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेको नेपाल कम्युनिष्ट पार्टीलाई उक्त निर्वाचानमा सहभागी हुने वातावरण बनाउनुभन्दा रोक्न उक्त पार्टीका महासचिवलगायतका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशमा पुनः द्वन्द्व सृजना गर्ने कार्यलाई लिन सकिन्छ ।

तसर्थ, देउवा नेतृत्वको गठबन्धन सरकारले यी तमाम राष्ट्र र जनघाती कार्य तत्काल सच्याउनु र बन्द गर्नुको विकल्प छैन । अन्यथा सरकारको यस प्रकारका राष्ट्र र जनघाती कार्यलाई सच्याउन र रोक्न जनता संघर्षमा उत्रने छन्, चेतना भया

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु