युक्रेनसँगै ताइवान युद्ध र सम्भावित विश्व युद्ध

२०७९ श्रावण २६ गते, बिहीबार
विष्णु पन्त

         

१. नयाँ विश्वयुद्ध वा शितयुद्ध भन्ने आजको विश्वव्यापी प्रश्न ः सोभियत संघको विघटन र सोभियत संंघमा समाजवादी सत्ताको विघटनले पुरानो शितयुद्धको अन्त्य भएको ठानिएको थियो । अमेरिका विश्व व्यवस्थाको निर्णायक भन्ने छाप परेकै थियो । शक्तिको उन्मादमा विश्वमा धेरै हस्तक्षेप, आक्रमण र हत्याकाण्डहरु भए । अन्य साना देशहरुमा अमेरिकाद्वारा गरिएका हस्तक्षेपहरु कहालीलाग्दा र त्रासदीपूर्ण थिए नै । अमेरिकाको विरोध गर्ने सवै आतंककारी हुने विश्व व्यवस्था आजसम्म पनि कायम छ । अब बिस्तारै त्यो शक्ति सन्तुलनमा बेदखल हुँदै छ । रुस र चीनले अबको विश्वमा आफ्नो नेतृत्व स्थापित गर्ने र अमेरिकी एकाधिकार वा साम्राज्यलाई ध्वस्त बनाईदिने निर्णायक युद्धको औपचारिक घोषणा गरिसके । त्यो युद्ध युक्रेन र ताइवानबाट शुरु भइसकेको छ । युक्रेनमा अमेरिका र नेटो विस्तारै पछाडि हट्ने अबस्थामा पुगिसकेको छ । अमेरिका रुसका विरुद्ध युरोप र अन्य राष्ट्रलाई उक्साई रहेको छ । युक्रेनका राष्ट्रपति जेलेनस्की पनि त्यही उक्साहटको शिकार बनेको तथ्य स्पष्टै छ । युक्रेन युद्धबाट ध्यान अन्यत्र मोड्नका लागि ताइवानमा पनि उत्तेजना फैलाउने काम भएको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी चीनको विरोधका बीच ताइवान पुगेर त्यहाँ चीनलाई उत्तेजनामा ल्याउने काम गरिन् । त्यसकारण आजको २०२२÷२०२३ को विश्व फेरि एउटा विश्व युद्ध वा शितयुद्ध भन्ने प्रश्नको उत्तर खोज्नमा व्यस्त छ । नयाँ शीतयुद्धलाई पनि अमेरिका सहजै स्वीकार्न सक्ने अवस्थामा छैन र विश्वयुद्धका लागि पनि उसका लागि सहज छैन । अबको विश्वमा दुर्ई वटा शक्तिशाली गठबन्धन कायम हुँदैछन् । चीन र रुसको गठबन्धन उदयीमान छ र अमेरिकी गठबन्धन अस्तित्व रक्षाको प्रश्नमा केन्द्रीत छ । अर्को शब्दमा अमेरिकाको प्रभाव घट्दो छ र चीन र रुसको प्रभाव बढ्दो छ । एकथरी विश्लेषकहरुले विश्वमा चीन र रुसको उदयसँगै लोकतन्त्र र मानवअधिकारको विषय के होला भन्ने चिन्ता जाहेर गरेका छन् भने अर्काथरी विश्लेषकहरुले चरम आर्थिक असमानताको स्थिति के होला भन्ने प्रश्न उठाएका छन । योसँगै साना राष्ट्रहरुको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको विषयमा गम्भीर चिन्ताहरु उठेको छन् । विश्वयुद्ध वा शितयुद्ध जे भए पनि त्यो नयाँ ढंगको हुनेछ र त्यो निकै जटिल हुनेछ । त्यसकारण आजको विश्वको मूलप्रवृत्ति युद्धको छ शान्तिको होइन ।

२. शक्ति संघर्षको हल कसरी होला ? ः आजको विश्वको अन्र्तविरोधको मूल प्रश्न हो– शक्ति संघर्षको हल कसरी गर्ने ? निश्चित छ, शक्ति संघर्षको हल युद्धबाटै हुन्छ । अमेरिका अरुलाई शक्तिमा आउन दिँदैन किनकि उसको अस्तित्व प्रतिस्पर्धामा होइन एकाधिकारमा मात्र छ । उसले रुसको मुख युक्रेनमा अनि चीनको मुख ताइवानमा गएर युद्ध मच्चाउन खोजीरहेको छ । यसको बदलामा रुस र चीनले क्युवा वा ल्याटिन अमेरिकी देशमा गएर हमला गरे भने के होला ? त्यसकारण आजको वस्तुगत परिस्थितिमा ठूलो परिवर्तन आएको छ । प्रश्न यो पनि छ के शान्तिपूर्ण ढंगले वार्ता वा कुटनीतिको माध्यमद्वारा यो अन्तरविरोध वा संकटको हल होला त ? वास्तवमा यो असम्भव छ र ढिलो चाँडो युद्धद्वारा नै यसको हल हुनेछ । शीत युद्धले युद्धलाई थप लम्ब्याउने छ भने युद्धले ठूलो विनाश निम्त्याउने छ ।

३. ताइवान र युक्रेन युद्धमा परिणाम के होला ? ः आजको मुख्य प्रश्न हो युक्रेन रुसको हुने या अमेरिकाको । कसैले युक्रेनको स्वतन्त्रताको सपना देखेको छ भने त्यो असम्भव र भ्रम हो । अब ताइवानको स्वतन्त्रताको प्रश्नको अन्त्य भएको छ र अबको प्रश्न हो ताइवान चीनको हुने या अमेरिकाको ? शायद यही प्रश्न वा विवादबाट बचाउनु उनीहरुको बुद्धिमता हुने थियो । रुसलाई सिद्धाउने अमेरिकी योजनामा फस्नु युक्रेनको आत्मघाती कदम थियो । यही प्रश्न ताइवानी सरकारमा पनि लागू हुन्छ । प्रश्न अर्को पनि छ, एक चीन नीतिलाई अमेरिकाले मान्ने वा उल्लंघन गर्ने ? हङकङ जस्तै ताइवान चीनको हुने नै छ । ताइवानलाई चीनका विरुद्ध सैन्य क्षेत्र बनाउने अमेरिकी योजनालाई चीनले स्वीकार्ने प्रश्नै छैन । वास्तवमा युक्रेन र ताइवान रुस र चीनका जीवन–मरणका सवाल पनि हुन् । जति ठूला क्षति व्यहोर्नु परे पनि ती क्षेत्र अमेरिकालाई सुम्पीने सवाल नै हुँदैन । वास्तवमा अमेरिकाले विश्वमा शान्ति चाहन्छ भने रुस र चीनलाई घेर्ने काम बन्द गर्नुपर्छ र साना देशहरुको सार्वभौमिकता अनि स्वतन्त्रताको सम्मान गर्नुपर्छ । आतंककारीको नाममा अरु देशमा ड्रोन हमला गरी उनीहरुको सार्वभौमिकतामाथि हमला गर्ने काम बन्द गर्नुपर्छ । पाकिस्तानको भूमिमा उसलाई थाहै नदिई ओसामा विन लादेनको हत्या, इराकमा सेना प्रमुखको हत्या र भर्खरै अफगानिस्तानमा ड्रोन हमलाद्वारा एकजना व्यक्तिको हत्या जस्ता घटनाहरुले विश्वमा साना देशहरुको स्वतन्त्रताको हरण भएको छ । अमेरिकी हस्तक्षेपको शिकार भएका साना देशहरु आफ्नो स्वतन्त्रताको रक्षाका लागि पनि अमेरिकाको प्रतिरोधमा लाग्ने छन् ।

४. अमेरिकी हस्तक्षेपको शिकार बनेको मुसलमान समुदाय ः वास्तवमा आजको विश्वमा आतंककारीको आरोपमा सबैभन्दा ठूलो पीडा र उत्पीडन भोगेको समुदाय हो मुस्लिम समुदाय । मुस्लिम शक्तिलाई दबाउनु प¥यो भने आतंककारी आरोप काफी र सर्वस्वीकार्य छ । शायद सबै मुस्लिम शक्तिहरुमा मनोवैज्ञानिक रुपमा यसको पीडा र प्रतिरोधको भावना छ । परिणाम स्वरुप केही देशहरुले हिम्मत गरेका छन् । तालिवान एउटा पछिल्लो उदाहरण हो । सरकारका रुपमा इरान, पाकिस्तान अफगानिस्तान पछिल्ला उदाहरण हुन् । इराक पनि अमेरिकाको विरोधमा हुनु स्वभाविक छ । शायद चीन र रुसको उदय पछि मुस्लिम देशहरु बढी नै खुसी भएका छन् ।

५. विश्व सरकारको अवधारणा ः वर्तमान विश्व अघोषित रुपमा विश्व सरकारकै अभ्यासमा गएको छ भन्ने तथ्यलाई पुष्टी गर्नु नपर्ला । आजसम्मको विश्वमा त्यो सरकारको नेतृत्व अमेरिकाले गरेको छ । मानव अधिकार लोकतन्त्र र संयुक्त राष्ट्र संघको माध्यमबाट उसले विश्वभर एकछत्र सत्ता चलाएको छ । आतंककारी घोषणा, नाकाबन्दीको घोषणा, ड्रोन र हवाई हमला, सैन्य क्याम्प र आर्थिक परियोजनाहरुको माध्यमबाट अमेरिकी हस्तक्षेपको शिकार हुन आजको विश्व बाध्य छ । शायद यो कालरात्रीलाई चिर्नु वा अन्त्य गर्नु अनिवार्य नै थियो । विश्व सरकारकै प्रमुखको हैसियतबाट अमेरिका आज पनि युक्रेन र ताइवानमा गइरहेको छ । कुन देशमा कुन सरकार बनाउने ढाल्ने वा टिकाउने भन्ने सम्मका निर्णय अमेरिकाले गर्नेगर्छ । चीन, रुस, इरान, उत्तरकोरिया जस्ता देशहरु त्यसको प्रतिरोधमा निस्किए । त्यसकारण अबको युद्ध पनि विस्तारै विश्व सरकारकै अवधारणातर्फ जाने निश्चित छ । आजको युगलाई विश्वव्यापी युग भनिन्छ । विज्ञान र प्रविधिले वर्तमान विश्वलाई निकै सानो बनाएको छ । अब विश्व सरकारको अवधारणा न्यूनतम बनेको छ । आज पनि अमेरिका विश्व सरकारको प्रमुख र अरु प्रान्त जस्तो भएको छ । विश्वमा एउटा घोषित सरकार बनाउने दिशातर्फ जाने अवस्था नआउला भन्न सकिदैन । अघोषित रुपमा त्यो अवस्था कायमै छ तर त्यसलाई औपचारिकता दिइएको छैन । अमेरिका सुपर पावरका रुपमा विश्वमा अधिनायकत्व स्थापित गर्न चाहन्छ । रुस र चीनको पछिल्लो गठबन्धनले अबको विश्वमा दुर्ई वा बहुध्रुव बन्ने निश्चित बनेको छ । बहुघ्रुव बन्न नदिने अन्तिम कसरतमा अमेरिका लागेको छ । त्यसकारण अघोषित रुपमा विश्व सरकारको वा विश्व व्यवस्थाको नेतृत्व कसले गर्ने भन्ने विषयमा आजको लडाईं केन्द्रित छ ।

६. एक ध्रुवीय वा बहुध्रवीय ? ः आजको लडाईंमा एक धु्रवीय वा बहुध्रुवीय भन्ने मुद्दा प्रधान हो । एक धु्रवीय विश्व व्यवस्थालाई रुस, चीन, उत्तरकोरिया जस्ता देशहरुले अस्वीकार गरिसकेका छन् । एक धु्रवीय व्यवस्थाका लागि अमेरिका र नेटो जीवनमरणको लडाईं लडीरहेको छ ।

बहुधु्रवीय व्यवस्थालाई स्वीकार गर्न तयार हुने या नहुने भन्ने मूल प्रश्न अमेरिकाका सामु छ । स्वीकार गर्दा विश्वमा उसको एकाधिकार समाप्त हुन्छ । वास्तवमा यो प्रश्न पेचिलो छ र यसको छिनोफानो शान्तिपूर्ण ढंगले हुन सक्ला र ? आजको विश्वमा बढ््दै गएको अमेरिका विरोधी जनमत, आक्रोश र विद्रोहले पनि उसलाई साथ दिँदैन ।

७. अमेरिकाले पुँजीवादको विकास गर्न सकेन ः कतिपय विश्लेषकहरुको भनाई सही छ कि अमेरिकाले पँुजीवादको विकास गर्न सकेन । उ प्रजातन्त्र र मानवअधिकारको नमुना बन्न सकेन । अमेरिका भित्रै भएको अस्वेत विद्रोह र साना देशहरुमाथि उसको अत्याचार वा हस्तक्षेप विश्वसामु बदनामित बनेको छ । वास्तवमा भन्ने हो भने अमेरिकी लोकतन्त्र र मानवअधिकार विश्वमै बदनामित बन्यो । अमेरिका चाहन्छ बाँकी विश्व उसको दास बनोस् र यो चाहना नै उसको पतनको कारक बन्न सक्छ । आजको मानवजातीले दासता र प्रभुत्वलाई सहजै स्वीकार गर्न सक्दैन । ताइवान र युक्रेनमा अमेरिकाले आत्मघाती कदम चाल्दै छ । आजसम्म स्थापित अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार पनि त्यसको औचित्य पुष्टि हुन सक्दैन । आजको अमेरिका सामु एउटा डरलाग्दो प्रश्न खडा भएको छ, त्यो हो – के अमेरिका रुस र चीनलाई कमजोर बनाउन वा पराजित गर्न सक्छ ? शायद उ अन्तिम प्रयास गर्दै छ । उसको संयमित प्रतिक्रिया कस्तो हुनु सही होला भन्ने बहसहरु पनि भएकै छन् । ऊ उन्मादले चल्ला वा संयमताले, त्यो त समयले बनाउने छ । शायद चीन र रुसको गठबन्धन उसका लागि महँगो पर्ने छ । चीनलाई विचारधारात्मक रुपमा एक्ल्याउन सजिलो थियो तर रुस थपिए पछि त्यो सजिलो छैन । पछिल्लो पटक अमेरिकी गठबन्धनमा गइसकेको भारत, रुस र चीनको सहकार्य पछि पछाडि हटेको छ । विश्व शक्ति सन्तुलनमा ठूला–ठूला फेरबदलको सम्भावना बढेको छ । अबको सम्भावित विश्वयुद्ध, शितयुद्ध वा ताइवान वा युक्रेन युद्ध पछि थुप्रै देशहरुमा ठूला–ठूला संकटहरु अनि उथलपुथलहरु आउने सम्भावना बढ्दै छ । ताइवान युद्ध भएमा त्यसको असर नेपालमा पर्न सक्छ । चीनलाई आक्रमण गर्न अमेरिका नेपाल आउन खोज्ने छ र त्यसो भएमा चीनले प्रतिरोध गर्ने छ । यो सम्भावित युद्धले नेपालको अस्तित्वमाथि संकट थोपर्न सक्छ भन्नेतर्फ हामी सचेत हुनुपर्छ । हामी चीन वा अमेरिकाको विरुद्ध प्रयोग हुनु आत्मघाती हुन्छ । सत्तास्वार्थका लागि जे पनि गर्ने हाम्रा नेता र दलहरुका कारण हाम्रो परराष्ट्र नीतिमा संकट आउन सक्छ । नेपाल अर्को युक्रेन बन्ने बाटोमा लाग्न हुँदैन । आफ्नो स्वतन्त्रता र स्वाधिनताका लागि पनि नेपालले चीन, भारत, पाकिस्तान जस्ता देशहरुसँग नयाँ सम्बन्धको विकास गर्नुपर्छ । एशियामा शान्तिका लागि नेपालले पहल गर्न सक्छ । क्षेत्रीय एकता र पारस्परिक सहयोगको नारालाई अगाडि बढाउनु बुद्धिमता हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु