के फेरी एमालेसँग माओवादी केन्द्रको एकता होला ?

२०७८ आश्विन २७ गते, बुधबार

डा. केशव देवकोटा


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेरी पनि एमाले र माओवादी केन्द्रलाई मिलेर अगाडि बढ्न सुझाव दिनुभएको समाचार बाहिर आएको छ । ०७५ जेठ ३ गते पार्टी एकतागरी ०७७ फागुन २३ को सर्बोच्च अदालतको एक फैसलालाई बहाना बनाएर अलग भएका उनीहरुलाई फेरी एक हुन छिमेकी देशकी राजदूतबाट सुझाव आउनु कम महत्वपूर्ण कुरा होइन । यसले लामै ब्याख्या र बिश्लेषणको माग गर्दछ । असोज २६ गते मंगलबार नेपाल डायलग फोरमले भर्चुअलरुपमा आयोजना गरेको छलफलमा राजदूत होउले एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर नेपाली जनताको आर्थिक विकासको आक्यांक्षा पूरागर्न तपाईहरु मिल्न आवश्यक छ भन्नुभएको हो । भनिन्छ यसअघि पनि एमाले र माओवादी केन्द्रकाबीचमा पार्टी एकता गराउन चिनियाँ शक्तिनै सक्रिय भएको थियो । नेपालको खासगरी राष्ट्रिय राजनीतिका सन्दर्भमा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच तिक्तता बढिरहेको हालको अवस्थामा राजदूत यान्छीले शक्ति बाँडफाँड गरेर सरकार र पार्टी एकता जोगाउन सुझाव दिनुलाई धेरै महत्वपूर्णरुपमा लिनुपर्दछ । चिनियाँ राजदूत सहभागी हुनुभएको सो कार्यक्रममा ओली र दाहाल सहभागी नभएपनि एमालेका नेता प्रदीप ज्ञवाली र माओवादीका नेता शक्ति बस्नेत उपस्थित हुनुहुन्थ्यो । जुन कार्यक्रममा उहाँहरुले एमाले र माओवादी केन्द्रका बीचमा फेरी एकता हुने÷नहुनेबारे कुनै टिप्पणी गर्नुभएन । तर कार्यक्रममा मन्तव्यदिँदै उहाँहरुले स्थापना भएको एक सयवर्षमा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको प्रगति र नेपाल–चीन सम्बन्धबारे समान धारणा ब्यक्त गर्नुभएको थियो । जसको अर्थ उक्त दुबै पार्टीको चीनलाई हेर्ने दृष्टिकोण समान छभन्ने स्पष्ट भएको थियो । महत्वपूर्ण कुरा के पनि छभने उक्त कार्यक्रममा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको अधिकांश सहभागिता रहेको थियो । सो कार्यक्रममा राजदूत होउले नेपाल र चीनका बीचमा पार्टी–पार्टी र नागरिक–नागरिकबीचको सम्बन्ध अझै बलियो बनाउनुपर्ने समेत बताउनु भएको थियो । जुन कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीले एकशय वर्ष पूरागरेको उपलक्ष्यमा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले पठाएको शुभकामना सन्देशकोसमेत चर्चा भएको थियो । अझ बुझ्नुपर्ने कुरा के छभने असोज २६ गतेको कार्यक्रमको आयोजना हुने पूर्ब सन्ध्यामा चिनियाँ राजदूतले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग उहाँकै निवासमा पुगेर करिव एक÷डेड घण्टा छलफल गर्नुभएको थियो । त्यसैले राजदूत यान्छीका भनाईहरुमा सो भेटको प्रत्यक्ष प्रभाव रहेको सहजै बुझ्न सकिन्छ । एमाले र माओवादी केन्द्र नामले कम्युनिष्ट पार्टी भएपनि अलग धारका राजनीतिक समूहहरु हुन् । उनीहरु दुबै कम्युनिष्ट पार्टी हुन कि होइनन् भन्ने अलग्गै ब्याख्या र बिश्लेषणको बिषय छ । माओवादी केन्द्र नेकपाको चौथो महाधिवेशनर्फको धार होभने एमाले तेश्रो महाधिवेशनबाटै अलग भएकाहरुले बनाएको समूह हो । तत्कालीन चौमदेखि माओवादी केन्द्रमा आइपुग्दासम्म सो समूहले एमालेलाई संशोधनवादी र दक्षिणपन्थी रुझान भएको पार्टी मानेको थियोभने एमालेले माओवादी केन्द्रलाई उग्र बामपन्थीकारुपमा ब्याख्या गरेको थियो । यी दुई धारहरु मानौ नदीका दुई किनारा हुन, जसको मिलन प्रायः असंभवजस्तै हुन्छ । तर, ०७४ को निर्वाचनमा नेपाली कांग्रेससँग स्थानीय निर्वाचनसम्म सहकार्य गरिरहेको माओवादी केन्द्र एकाएक एमालेसँग चुनावी तालमेलगर्दै पार्टी एकतागर्ने निर्णयमा पुग्यो । जसलाई एमालेले पनि सहजै स्वीकार ग¥यो । एमालेले माओ बिचारधारालाई ०४६ को राजनीतिक परिवर्तनले सत्तारोहण भएपछि औपचारिकरुपमै छाडेर माक्र्सवाद, लेनिनवादमा मात्र सीमित रहेको थियोभने माओवादी केन्द्रले पनि एमालेसँग पार्टी एकताको घोषणा गर्दानै माओवादलाई छाडेर माक्र्सवाद, लेनिनवादमात्र स्वीकारगर्ने सहमति गरेको थियो । पछिल्लो समयमा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सि जिन पिङ बिचारधाराको प्रशिक्षण समेत दिलाएको थियो । जसलेगर्दा एमाले र माओवादी केन्द्र बिचारका हिसावले पनि एक भएको देखाएको थियो । तर, ०७६ को करिव फागुनपछि नेकपाका एकाएक दरारको अवस्था सिर्जना भयो । एमाले र माओवादी केन्द्रकाबीचमा पार्टी एकतागर्न कसरी संभव भएको थियो भन्नेकुरा हालसम्म पनि कसैले बुझेका छैन्भने उक्त दुई पार्टीमा कसरी दरार आयोभन्ने पनि कसैले बुझ्न सकेका छैनन् । दुबै पार्टी अलग भएपछिका कतिपय कार्यक्रममा माओवादी केन्द्रका केही नेताहरुले आफूहरु एमालेसँग दीर्घकालीनरुपमा पार्टी एकताकै लागि नभइ सो पार्टीलाई बिभाजित गराउन रणनीतिकरुपमा मिल्न गएकोभन्ने भनाई सार्बजनिक गर्नुभएको थियो । यदि एउटा कुनैपनि पार्टीले अर्को पार्टीलाई बिभाजित गराउन पार्टी एकताको नाटक गर्दछभने त्यो राजनीतिक नैतिकता भित्रको कुरा हुनसक्दैन । सबैले बुझेको कुरा तत्कालीन नेकपा गठन भएपछि अध्यक्ष दाहालले माधव नेपाल र बामदेव गौतमसमेतलाई मिलाएर गरेको गुटबन्दी र तत्कालीन अध्यक्षद्वयकाबीचमा बढेको नितान्त ब्यक्तिगत बिवाद र मनोमालिन्यका कारण नेकपा बिभाजित भएको हो । एमाले र माओवादी केन्द्रबीचको तत्कालीन एकताले दुबै पार्टीलाई कुनै लाभ भएनभने दुबै समूहमा भएको बिभाजनले ठूलो क्षति भएको छ । अंकगणितीय हिसावले भन्ने होभने एमालेको तुलनामा माओवादी केन्द्रलाई बढी क्षतिभएको देखिन्छ । अर्को बुझ्नै पर्ने कुरा के छभने माओवादी केन्द्रका अध्यक्ष दाहाल पछिल्ला केही दिन यता ठूलो छटपटीका रहेको देखिनु हुन्छ । जसकाक्रममा उहाँले आत्म हत्याको प्रशंगसमेत बाहिर ल्याउनु भएको थियो । एमालेसँग बिभाजित भैसकेको, माधव नेपाल समूहले तत्काल पार्टी एकतागर्न नमानेको र नेकांसँगको सहकार्यले आगामी निर्वाचनपछि फेरी सत्ता र शक्तिमा पुग्न नसकिने कुराले उहाँमा छटपटी बढेको सहजै बुझ्न सकिन्थ्यो । वास्तवमा माओवादी केन्द्रका अध्यक्षले मोहन बैद्य र नेत्रबिक्रम चन्द लगायतका पूर्बमाओवादी पार्टीहरुसँग एकताको कुरा त गर्नुभयो तर आफूलाई चुनावी पार्टीबाट एककदम पछाडि हटाउने कुनै आँटगर्नु भएन । उहाँको यो दोहोरो राजनीतिले पनि धेरैमा भ्रम थपेको छ । यस्तै अवस्थामा चिनियाँ राजदूतमार्फत फेरी एमाले र माओवादी केन्द्र मिल्नुपर्ने प्रस्ताव आएको छ । जहाँ एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीको नामनै लिइएनभने अन्य माओवादी पार्टीहरुको प्रशंगनै उठाइएन । जसलेगर्दा चिनियाँ राजदूतले एमाले र माओवादी केन्द्रलाई एकैखालका पार्टी मानेको र एकीकृत समाजवादीलाई कुनै मान्यतानै नदिएको पनि स्पष्ट भएको छ । एमाले र माओवादी केन्द्र बिचारबिहीन चुनावी पार्टी भएका कारण उनीहरुकाबीचमा पार्टी एकता हुनसकेको खण्डमा नेपालको राष्ट्रिय राजनीतिमा लागेको कालो बादल केही हदसम्म फाट्न सक्दछ भन्ने पनि चिनियाँ बुझाई हुनसक्दछ । तर दुबै पार्टीका अध्यक्षकाबीचमा तिक्तता धेरै बढेका कारण फेरी एकता असंभव छ । फेरी पार्टी एकतागर्नेनै होभने दुबै अध्यक्षले नेतृत्वबाट पछि हट्नुपर्ने हुन्छ । फेरी एमाले र माओवादी केन्द्र मिलेको खण्डमा नेपालको राष्ट्रिय राजनीति सही कम्युनिष्ट, संशोधनवादी कम्युनिष्ट र नेकां लगायतका दणिपन्थी पार्टीहरुको त्रिपक्षीय अवस्थामा पुग्दछ । जसले नेपालको समग्र राजनीतिलाईनै फाइदा पुग्दछ । चिनियाँ राजदूतको भनाईलाई हेर्दा त्यो उहाँको अन्तस्करणबाट आएको नभई माओवादी केन्द्रका अध्यक्षसँगको भेटबाट प्रभाबित देखिन्छ । अध्यक्ष दाहालले चिनियाँ राजदूतलाई प्रयोग गरेर कांग्रेस र एकीकृत समाजवादीलाई तर्साउने तथा एमालेसँग सन्तुलन कायमगर्ने प्रयासगर्नु भएको सहजै बुझ्न सकिन्छ । जसलेगर्दा चिनियाँ राजदूतको फेरी एमाले र माओवादी केन्द्रका बीचमा एकतागर्ने भनाई आफैमा अर्थहीन रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु