आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती मनाइँदै

२०७८ असार २९ गते, मंगलवार


काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसैक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानले जन्मजयन्तीको अवसरमा अदिकवि भानुभक्तको व्यतित्व र कृतीत्वको विषयक प्रवचन तथा भानुभक्तय रचना बाचन कार्यक्रमको आयोजना गरेको बताइएको छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेका थिए । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए । उनले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’ भानुभक्तको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । उनको निधन विसं १९२५ असोजमा भएको थियो ।

प्रतिक्रियाहरु