हेल्लो कमरेड

रमेश रावत 'विक्रान्त' २०७८ असार २२ गते, मंगलवार



हेल्लो कमरेड
उठ्नुहोस्
किन? लुत्रनु भएको
यो लुत्रने समय हैन
हामी लुत्रे भयौ भने
हाम्रो वर्गले सधै लुत्रिनु पर्नेछ ।

कमरेड सुन्नु भएन
उठ्नुहोस् ,सबैलाई उठाउनुहोस्
हाम्रो सपना सुतेर हैन
उठेर पूरा हुन्छ
उठेर मात्र हैन
हिडेर पूरा हुन्छ ।
हिडेर मात्र हैन
दौडेर पूरा हुन्छ
दौडेर मात्र हुदैन
गन्तव्यमा पुग्नुपर्छ ।
हामी सुत्न लाग्यौं भने
हामीलाई सधै सुताइरहने छन् ।

कमरेड निस्किनुहोस् !
किन?अँठिनु भएको
हामी अँठियौ भने
हाम्रा सन्तानलाई
पुस्तौ पुस्तासम्म
अँठाईरहनेछन् ।

कमरेड हेर्नुहोस् त ?
अकम्पित कालो पहाड
कम्पितशिर हुँदै छ
यो अकस्मात् हैन
हाम्रा पाइलाहरुका
चाल थाहा पाएर हो ।

निराकाङ्क्षा भएर
बस्नु भएका कमरेडहरु पनि
एकपटक जुरमुराउनुहोस्
पुरानो घरको विकल्पमा
नयाँ घरको निर्माण गर्न
पुरानो घरले हामीलाई
संरक्षण र रक्षा गर्न सक्दैन

सबैले चाहेको
आजसम्म बस्न नपाएको
घरमा बस्ने सबैको
इच्छाशक्तिलाई बढायौ ।
पुरानो घरलाई
रंगरोगन गर्न नलागौ ।
पुरानो घरलाई फेर्न लागौ
हाम्रो वर्गको भविष्य फेरिने छ ।

प्रतिक्रियाहरु