‘संसदीय निर्वाचनमा होइन, जनमतसङ्ग्रहमा जाऊँ’

२०७८ जेष्ठ ८ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको सङ्कटको निकास निर्विकल्प रूपले वैज्ञानिक समाजवाद मात्र हुनसक्छ भन्ने आफ्नो पार्टीको विचार सही साबित भएको ठोकुवा गर्दै पार्टीको सो मत, जनताको माग र चाहनासँग जोडिएको बताएको छ । शुक्रबार राती १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि चुनावको घोषणा गरेपछि उत्पन्न राजनीतिक परिस्थिति पछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गरेको बिज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ -“राज्यको सङ्कटलाई उचित निकास दिन संसद्वादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ । त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमतसङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसङ्ग्रहका लागि राजनीतिक पार्र्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौँ । “
महासचिव विप्लवले जनमतसङ्ग्रहको निकास कुनै पार्टीविशेषको विषय नभएर देश र जनताका लागि दीर्घ शान्ति, स्थिरता, स्वाधीनता एवम् समृद्धिसँग जोडिएको विषय भएकाले यसका पक्षमा एकताबद्ध भएर उत्रिन सबै प्रगतिशील, देशभक्त, वामपन्थी, कम्युनिस्ट पार्टी, सहिद तथा बेपत्ता योद्धा परिवार, घाइते योद्धा, मजदुर, किसान, महिला, दलित, जनजाति, युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, वकिल, पत्रकार साथै पार्र्टीका नेता–कार्यकर्तालाई विशेष अपिल समेत गरेका छन।
महासचिव विप्लवले शान्ति, स्थिरता एवम् समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आउनुमा वर्तमान संसदीय व्यवस्थाको असफलता प्रमाणित भएको ठोकुवा गर्दै २०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खाँदैन र यो सफल हुँदैन भन्ने आफ्नो पार्टीको निष्कर्ष सही साबित भएको बताएका छन् । उनले फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र सङ्कटमा धकेल्ने चाल मात्र भएको ठोकुवा गरेका छन।
महासचिव विप्लवले वर्तमान संसदीय व्यवस्था असफल हुनुको पछाडि यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्था नै भएको र यो सत्ता र व्यवस्थाको सङ्कटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र सङ्कटमा धकेल्ने चाल मात्र भएको बताएका छन् । उनले वर्तमान दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको सङ्कटको निकास निर्विकल्प रूपले वैज्ञानिक समाजवाद एक मात्र विकल्प हुनसक्छ भन्ने आफ्नो पार्टीको विचार सही साबित भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
महासचिव विप्लवले आफ्नो पार्टीले उठाएको एजेन्डा आमनेपाली जनताको चाहना, मत र मागसँग जोडिएको उल्लेख गर्दै राज्यको सङ्कटलाई उचित निकास दिन संसद्वादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्ने मत अघि सारिएको बताएका छन ।
महासचिव विप्लवले आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमतसङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्ने r जनमतसङ्ग्रहका लागि राजनीतिक पार्र्टीहरू तयार हुने हो भने त्यसका लागि आफ्नो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको समेत स्पष्ट पारेका छन।
गएराती १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि चुनावको घोषणा गरेपछि उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर नेकपाले संसद् विघटन र मध्यावधि चुनावको विषय राष्ट्रिय महत्वको विषय भएको भन्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु