गिरफ्तार नेता – कार्यकर्तालाई तत्काल रिहा नगरे प्रतिरोध !

२०७७ पुष २४ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रहरीले गिरफ्तार गरेका आफ्ना पाटीका नेता – कार्यकर्तालाई तत्काल रिहा नगरे प्रतिरोध गर्ने चेतावनी दिएको छ। सो पार्टीको उपत्यका विशेष ब्युरोले काठमाडौं जिल्ला सेक्रेटरी पवनलगायत गिरफ्तार नेता – कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै सो चेतावनी दिएको हो । ब्युरोको इन्चार्ज भरतले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पवन लगायत नेता कार्यकर्ताहरुको गिरफ्तारीप्रति घोर आपत्ति व्यक्ति गर्दै उनिहरुलाई रिहा नगरे प्रतिरोध गर्ने बताएका छन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका उपत्यका विशेष ब्युरो इन्चार्ज भरतलेजारी गरेको वक्तव्य यस प्रकार रहेको छ – “नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने सुनौलो र गौरवपूर्ण अभियानमा सरिक छ । क्रान्तिविरोधी सबैखाले अवरोधलाई निस्तेज पार्दै एवम् एकीकृत जनक्रान्तिलाई झन् सङ्गठित, स्पातिलो र जुझारु बनाउँदै दलाल पुँजीवादका असली मतियार केपी ओली नेतृत्वको दलाल सामाजिक फासिवादी सरकारका सबैखाले षड्यन्त्रलाई चिर्दै हाम्रो पार्टी राष्ट्र, जनता, क्रान्ति र वैज्ञानिक समाजवादको पक्षमा सङ्घर्षरत छ । यद्यपि जनक्रान्तिको राप र तापले यतिबेला ओली मण्डली छिन्नभिन्न हुने अवस्थामा पुग्नु क्रान्तिकारी, देशभक्त तथा आमूल परिवर्तनकारी शक्तिहरूलाई साँच्चैको खुसीको कुरा हो ।क्रान्ति र प्रतिक्रान्तिको भीषण टकराव बढ्दै जाँदा फासिवादी केपी सरकारले दमनको मात्रा पनि बढाउँदै लगेको छ । यसै क्रममा २०७७ पुस २१ गते मङ्गलबार पार्टी कामको सिलसिलामा रहनुभएका उपत्यका ब्युरो सदस्य एवम काठमाडौं जिल्ला सेक्रेटरी क. पवनलागयत कमरेडहरूको गिरफ्तारीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी उक्त गिरफ्तारीको घोर आपत्ति प्रकट गर्दछ । केपी–बादलको सामाजिक फासिवादी हर्कतले पराकाष्ठाको अभिव्यक्त गरिरहेको छ । फासिवादी केपी ओली सरकार हान्ने गोरुझैँ सिङ तिखार्दै जो कोहीलाई पनि अन्धाधुन्ध हान्दै हिंडिरहेको छ । यतिबेला देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य बनेको छ । हाम्रो पार्टी कमरेड पवनलगायत गिरफ्तारीमा पर्नुभएका चारजना कमरेडहरूको यथाशीघ्र रिहाइको लागि जोडदार माग गर्दछ । अन्यथा, हाम्रो पार्टीले उठाउने प्रतिरोधी कदमले सिर्जित परिस्थितिको भागीदार स्वयम् केपी सरकार नै हुने कुरा पनि हामी यसै प्रेस विज्ञप्तिमार्फत सबैमा स्पस्ट पार्न चाहन्छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु