नरवाणेको आसन्न नेपाल भ्रमणको जोडदार विरोध गरौं !

२०७७ कार्तिक १४ गते, शुक्रबार

नारायण शर्मा

यही कार्तिक १९ ( नोभेम्बर ४) मा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपालको निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउन नेपाल आउँदैछन् । प्रथमतः कुनै एक देसको सेनापतिलाई कुनै अर्को देसको राष्ट्रपतिले सम्मानस्वरुप आफ्नो देसको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैमा विवादास्पद, हास्यास्पद र घृणास्पद कुरा हो ! त्यसमाथी सामन्ती राजतन्त्रकालमा स्थापित यसप्रकारको प्रचलन आज गणतन्त्रकालमा पनि यथावत गरिनु शासकहरुको सामन्ती र औपनिवेशिक संस्कारकै निरन्तरता हो । यदी त्यसो होइन र घनिष्ठ सम्बन्ध भएका दुई देसका बीचको स्वच्छ सम्बन्ध हो भने यही परम्परा र प्रकृया चीनसँग नेपालले र पाकिस्तान, वाङ्गलादेसजस्ता घनिष्ट छिमेकी देस, जो ७० बर्ष अघिसम्म एउटै देसको रुपमा थिए, ती दुवैसङ्ग भारतले किन यसो गर्दैन ? यसरी हेर्दा यो अतार्किक, अयुक्तिसङ्गत र अवान्छित प्रचलन हो जो हामी स्वाभिमानी नेपालीको लागि एक अत्यधिक दुखद विडम्बना नै हो !
अर्को आपत्तिजनक सन्दर्भ यो पनि छ कि भारतीय सेनाप्रमुख नरवाणेको भ्रमणको चाँजोपाँजो पनि मिलाउने गरी गोयल नेपाल आएको देखिन्छ ! यस्ले पनि एकातिर भारतीय राजनीतिक र कूटनीतिक नेतृत्व निरर्थक र निकम्मा भएको पुष्टि हुन्छ भने अर्कातिर नेपालको माइक्रो म्यानेजमेन्टमा भारतीय गुप्तचर संस्थाको खुलेआम हस्तक्षेप छ र त्यो नेपालको वर्तमान सरकारलाई स्वीकारयोग्य र स्वागतयोग्य छ भन्ने स्पष्ट भएको छ, जो स्वाभिमानी नेपाली र नेपालको लागि असह्यब विषय हो !
यसरी यो बुझ्न सकिन्छ कि रअका एक कर्मचारीको यो चलखेल र हस्तक्षेपका अगाडि झुकेर नेपालका प्रधानमन्त्रीले नरवाणेको स्वागत-सम्मान गर्ने प्रकृया अघिबढेको छ ! यो प्रकृया एउटा सार्वभौम मुलुकको दुईतिहाई बहुमतको कम्युनिस्ट नामको “राष्ट्रवादी” छविका नेपाली प्रधानमन्त्री वली र लोकतन्त्रको सर्वाधिक धाक लगाउने र अत्यधिक लोकपृय देखाउने अर्को सार्वभौम र शक्तिशाली भारतीय प्रधानमन्त्री मोदीका प्रतिष्ठामा त धक्का हो नै, साथै नेपाल र भारत तथा यहाँका जनताको समेत बेइज्जतको कुरा हो ! त्यसैले नरवाणेको हाल तय भएको नेपाल भ्रमणका सम्पूर्ण कार्यक्रमहरु अबिलम्ब रद्द गरिनैपर्छ ! यसनिम्ती सचेत, देसभक्त र स्वाभिमानी नेपालका शक्ति, संघसंस्था र व्यक्ती-व्यक्तिव्यक्तित्वहरुले समयमै सशक्त विरोध गर्नुपर्दछ ! यदी हामी नेपाली भनिने र गनिनेहरुमा देसप्रेमको थोरैपनी भावना छ, राष्ट्रिय अस्मिता र अस्तित्व जोगाउनुपर्ने किंचित पनि कर्तब्यबोध छ र राष्ट्रिय, सांगठनिक र व्यक्तिगत रुपमा समेत थोरै मात्र भएपनी स्वाभिमान र स्वाधीनताको मूल्य र महत्वबोध छ भने हरेक नेपालीले यस कुराको विरोध, अवरोध र प्रतिरोध गर्नु नै पर्ने हुन्छ ! तसर्थ यो देसको सरकारमा रहेकादेखि, सदनमा, संसदीय दलमा, संगठन (पार्टी र मोर्चा) मा, सडकमा र समाजमा रहेका सम्पूर्ण सचेत, स्वाभिमानी, स्वतन्त्रताप्रेमी, लोकतान्त्रिक मूल्यमान्यताका हिमायती, राजनीतिक र कूटनीतिक मर्यादाका पक्षपाती आदि सम्पूर्ण देसभक्त नेपालीहरुले संयुक्त र सशक्त रुपमा रअको षड्यन्त्रकारी हस्तक्षेपयुक्त व्यवस्थापनमा कथित सैन्य कूटनीतिको प्रयोगका नाममा राष्ट्रिय आत्मसमर्पण हुने गरी हुन गैरहेको भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको निर्णायक विरोध गर्नु हामी नेपालीहरुको लागि ऐतिहासिक रुपले अनिवार्य आवश्यकता भएको छ । आगे यहाँहरुको विचार र विवेकको मर्जीको कुरा !तथापी एउटा देसभक्त नेपालीको नाताले मात्र पनि यो अपिल छ :
गोयलको हस्तक्षेप र नरवाणेको धम्कीअगाडि नझुकौंं !
हाम्रा पूर्खाहरुले ज्यानको बाजि लगाएर जोगाएको राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र स्वत्व-अस्तित्वलाई कायम राखौं !!
संसारमा नेपाल र नेपालीको इज्जत र प्रतिष्ठालाई अझ माथी उठाऔं !!!
नरवाणेको आसन्न नेपालभ्रमणको जोडदार विरोध गरौं !!!!

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु