सत्य र सत्ता

बलराम तिमल्सिना २०७७ आश्विन ७ गते, बुधबार


मलाई थाहा छ
सत्य कुरा गर्नु भनेको
सत्तासँग जिस्किनु हो
सत्तासँग जिस्किनु भनेको
झ्यालखानासँग जिस्किनु हो
त्यति मात्रै होइन
सत्तासँग जिस्किनु भनेको
गोली भरिएको बन्दूकसँग जिस्किनु हो
बन्दुकसँग जिस्किनु भनेको
सिधै मृत्युसँग जिस्किनु हो
तर माफ गर शासक
मेरो निकै खराव आदत छ-
सत्यसँग लहसिने आदत
सत्यलाई अङ्कमाल गर्ने आदत !

सत्यलाई अङ्कमाल गर्नु भनेको
आगोलाई अङ्कमाल गर्नु हो
आँधीसँग उठबस गर्नु हो
तुफानसँग डेटिङ जानु हो
मृत्युसँग आँखा जुधाउनु हो
यातनालाई आमन्त्रण गर्नु हो
देब्रे किनारामा उभिएर हर्दम
सत्तालाई माझी औंलो देखाउनु हो
तर माफ गर शासक
म तिमीले प्रतिबन्ध लगाएको
त्यही सत्यको प्रेमी हुँ !

मलाई थाहा छ
सत्यलाई प्रेम गर्दा
केवल सत्य मात्रै हुन्छ साथमा
लोभ , पाप, भ्रम , पाखण्ड
आग्रह, पूर्वाग्रह, दुराग्रह
यी सब टाढा टाढा हुन्छन् !

सत्यलाई प्रेम गर्दा
घर घर नहुन सक्छ
परिवार परिवार नहुन सक्छ
छरछिमेकी नरहन सक्छन्
लगौंटिया यारहरू भाँडिन सक्छन्
मन्दिर मस्जिद, चर्च, चैत्य र गुरुद्वार
सबै मसानघाटझैं लाग्न थाल्छन्
एतिसम्म कि
सत्यलाई प्रेम गर्नुअघि
महान ईश्वर दुश्मनको शिविरमा पुग्छ !

सत्यलाई प्रेम गर्नेले
गाउँको मुखियादेखि
टोलको गुण्डासम्म
देशको कार्यकारी प्रमुखदेखि
व्रम्हाण्डको शासकसम्म
सबै सबैसँग युध्द लड्नु पर्छ !

मलाई थाहा छ
सत्यलाई रोज्नेले
यातनाका सबै दस्तावेजमा सही गर्नु पर्छ
अकाल मृत्युसमेत स्विकार्नु पर्छ
तर माफ गर शासक
तिम्रो सत्ता स्वर्गको प्रस्तावलाई नकार्दै
मलाई भने यही काँडै काँडाको बाटो मन पर्छ
मलाई सत्य सत्य र केवल सत्य मन पर्छ !

प्रतिक्रियाहरु