एमसीसीबिरुद्ध संघर्ष : देशभर वली र देउवाको पुतला दहन

२०७७ जेष्ठ २२ गते, बिहीबार

काठमाडौँ , २२ जेठ । नेपाल कम्युनिस्ट पार्टीले देश्ब्यापीरुपमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति एबम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ । राष्ट्रिय हितविपरीत विवादित एमसीसी परियोजना पास गराएर नेपाललाई पराधीन बनाउन लागेको भन्दै संघर्षरत सो पार्टीले केन्द्रीय संघर्षका कार्यक्रमअन्तर्गत ओली र देउवाको पुत्ला जलाएको हो । नेकपाले एमसीसीको विरोधमा लगातार आन्दोलन गरिरहेको छ ।
यसै सिलसिलामा नेकपा निकट अखिल क्रान्तिकारी जिल्ला समिति काठमाडौँले चन्द्रागिरि, कीर्तिपुर, दक्षिणकाली, तारकेश्वर, टोखा, बूढानीलकण्ठ नगरपालिकाका साथै महानगरपालिकाका जडीबुटी, कलङ्की र ठमेलमा वली र देउवाको पुतलादहन गरेको खबर प्राप्त भएको छ । केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको एमसीसी सम्झौताका मुख्य मतियार यिनीहरू नै भएको र एमसीसी सम्झौताले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्ध गम्भीर राष्ट्रघात गर्ने भएकाले यस्तो आपराधिक कार्यको नेतृत्व गर्ने वली र देउवाको पुतला जलाइएको क्रान्तिकारीको काठमाडौँ जिल्ला कार्यालयले जनाएको छ । लकडाउन र प्रतिबन्धलाई पनि वास्ता नगरी पार्टी समिति, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता र स्थानीय देशभक्त जनताको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको समाचार छ । समाचार स्रोतका अनुसार पुतलादहनसँगै राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! सम्पूर्ण देशभक्त र राष्ट्रवादीहरू एक हौँ ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! वीर सहिदहरू लालसलाम ! कोरोनाको बहानामा भएको भ्रष्टाचार र राष्ट्रघात बन्द गर ! एकीकृत जनक्रान्ति जिन्दावाद ! लगायत नाराहरू पनि लगाइएको थियो ।यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरोअन्तर्गत सबै जिल्लामा एमसीसी परियोजना पारित गराउन लागिपरेका वली र देउवाको पुतला जलाइएको समाचार ब्युरो कार्यालयले दिएको छ ।
समाचारअनुसार पार्टीको केन्द्रीय कार्यक्रमअनुसार काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा वली र देउवाको पुतला जलाइएको हो । कार्यक्रममा नेकपाका ताम्सालिङ ब्युरो इन्चार्ज, पार्टीका सम्बन्धित जिल्ला इन्चार्ज, सेक्रेटरी, जनसरकार प्रमुख, युवा सङ्गठन, विभिन्न जनवर्गीय सङ्गठनका नेतृत्वसहित जनताको व्यापक उपस्थिति रहेको समाचारमा जनाइएको छ । कार्यक्रममा एमसीसी र सरकारविारुद्ध गगनभेदी नाराहरु पनि लगाइएको थियो ।यसैबीच नेपाल कम्युनिस्ट पार्टी कैलालीले नेपालमा अमेरिकी परियोजना एमसीसी प्रधानमन्त्री केपी शर्मा वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा सदनबाट पास गराउन खोजिएको भन्दै नेकपा कैलालीले वली र देउवाको पुतलादहन गरेको छ । जिल्लाका बर्दगोरिया, जोशीपुर गाउँपालिका, गौरीगङ्गा, गोदावरी र धनगढी नगर समितिले वली र देउवाको पुतलादहन गरेको नेकपा कैलालीले जनाएको छ ।
नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ मा हस्ताक्षर भएको उक्त सम्झौता २०७५ पुस ३ गते नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो–प्यासिफिक रणनीति –आईपीएस) मा हस्ताक्षर गरेपछि एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) को प्रस्ताव बाहिर आएको थियो । यो प्रस्ताव हिन्द–प्रशान्त रणनीतिअन्तर्गत अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित रहेको भन्दै देशभर विरोध भइरहेको छ । यसै सन्दर्भमा नेकपा कैलालीले देशको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एमसीसी घातक रहेको भन्दै विरोध गरेको छ ।
यसैगरी , नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको आयोजनामा काठमाडौँको महाराजगन्जमा वली र देउवाको पुतलादहन गरिएको समाचार छ । महाराजगञ्जमा निश्चल थापा, डल्लुमा प्रतीक अधिकारी, वसुन्धारामा दीपक राना, कपुरधारामा सफल र सुकेधारामा सङ्गीनको नेतृत्वमा प्रधानमन्त्री र काङ्ग्रेस सभापतिको पुतलादहन गरिएको सम्पर्क मञ्चले जनाएको छ ।
यस्तै दाङ, चितवन, रुकुम, रोल्पा, कालीकोट, अछाम, पोखरालगायत देशैभर प्रधानमन्त्री र शेरबहादुर देउवाको पुतलादहन गरिएको समाचार नेकपा स्रोतले दिएको छ ।
यता , कथित कम्युनिस्ट सरकारले संसद्बाट पारित गर्न थालेको राष्ट्रघाती सम्झौता एमसीसीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी ललितपुरले केपी वली र शेरबहादुर देउवाको पुतला जलाएको समाचार प्राप्त भएको छ । पार्टी केन्द्रले घोषणा गरेको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी ललितपुरले २१ गते जिल्लाका विभिन्न ठाउँमा उक्त राष्ट्रघाती सम्झौता एमसीसीको सम्झौतापत्रसहित संसद्बाट पारित गर्न खोज्ने केपी वली र शेरबहादुर देउवालाई राष्ट्रघाती घोषणा गर्दै दुवैजनाको पुतला बनाएर आगो लगाइएको हो । कार्यक्रममा जिल्ला पार्टीका नेताहरूका साथै विभिन्न जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यहरू र जनसमुदायको समेत उल्लेख्य उपस्थिति रहेको प्राप्त समाचारमा जनाइएको छ ।
यसैगरी अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै व्यापक विरोध भैरहेको बेला नेपाल कम्युनिस्ट पार्टी रूपन्देही र नवलपुरले पनि बुधबार प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतलादहन गरेका छन् । अमेरिकाको दलाल बनेको भन्दै दुवैजनाको तस्बिर अङ्कित साङ्केतिक पुतला बनाएर दहन गरिएको समाचारमा जनाइएको छ ।
रूपन्देहीको सैनामैना र तिलोत्तमाको कान्छीबजार चोकमा सयौँ जनसमुदायको उपस्थितिमा एमसीसी पारित गराउन नेतृत्व गरिरहेका दुई दलका मुख्य नेताहरूको पुतलादहन जानकारी गरिएको नेकपाका एक जिल्ला नेताले दिए ।
यता नवलपुरस्थित कावासोतीमा पनि वली र देउवाको पुतला दहन गरिएको छ । पुतलादहन गर्नुअगाडि नवलपुरका जिल्ला सेक्रेटरीले कुनै हालतमा एमसीसी पास गराउन नहुने भन्दै त्यसलाई खारेज गर्न जनस्तरबाट उठ्नुपर्ने बताएका थिए ।
यता ,नेपाल कम्युनिस्ट पार्टी दैलेखले सामाजिक दलाल केपी सरकारले संसद्बाट पास गराउन खोजेको राष्ट्रघाती एमसीसी परियोजनाको विरोध गर्दै पार्टीको केन्द्रीय कार्यक्रमअनुसार प्रधानमन्त्री केपी वली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको पुतला जलाएको छ । नेपालका सच्चा वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूले एमसीसी परियोजनाको विरोध गरिरहेको समयमा संसद्बाट पारित गराउने खेल भइरहेको भन्दै जिल्लाभरि दुवैजनाको पुतलादहन गरिएको समाचारमा जनाइएको छ । जिल्लाका आठबिस नगरपालिकाको कार्यक्रममा सुदर्शन र प्रकाश, ठाँटीकाँध गाउँपालिककामा सङ्केत र लालबहादुर भण्डारीको नेतृत्वमा पुतला जलाइएको समाचारमा जनाइएको छ ।
कार्यक्रमका वक्ताहरूले नेपाली जनता कोरोना महामारी, रोग र भोकसँग लडिरहेको बेलामा नेपाल र नेपाली जनताका विरुद्ध राष्ट्रघाती एमसीसी सम्झौता पास गरेर राष्ट्रघात गरेमा नेपाली जनताले दलाल शासकहरूलाई नछोड्ने चेतावनी दिएका थिए । कार्यक्रममा सरकारविरुद्ध चर्का नारा लगाइएको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु