सरकार परिवर्तन इतिहासकै पुनरावृत्ति – पृथीछक बुढा

२०७३ बैशाख १९ गते, आईतवार

नेपालमा बिकाशले गति लिन नसक्नुको मुख्य कारणहरु मध्ये सरकार स्थायी नहुनु पनि एक मुख्य कारण हो । नेपालमा २००७ साल देखि आजसम्म करिव पौने शताब्दी राजनिती अस्थिरताबाट नेपाली जनताले कहिलै मुक्त पाएन । यति लामो समय नेपाली जनताले संक्रमणकाल झेलेको छ । यो चानचुने कुरा होइन । अझै संक्रमणकाल ब्याप्तै छ । हटेको छैन । अचेल फेरि नयाँ सरकार, सहमतिय सरकार, राष्ट्रिय सरकार नाम जे भने पनि अहिलेको सरकारलाई बिस्थापित गर्न हल्ला चलेको छ । यो नौलो कुरा होइन, पौने शताब्दी देखि नेपाली जनताले देख्दै आइरहेको पुरानै खेल हो ।
प्रजातान्त्रिक इतिहासको यो ६६ बर्षमा नेपाली काङ्ग्रेस कुनै न कुनै रुपमा नेपाली राजनितिको केन्द्रमै रह्यो । राम्रा वा नराम्रा जति पनि परिवर्तन सम्भब भयो यसको जस या अपजस नेपाली काङ्ग्रेसले लिनै पर्छ । यो ६६ बर्षमा नेपाली कांग्रेसको भूमिका के रह्यो ? यसको लागि हामी देशको अबस्था हेरेरै भन्न सक्छौं, ईतिहास बन्दी भएको छ । इतिहासलाई बन्दी बनाउने काम नेपाली कांग्रेसले त्याग्नु पर्छ । यसलाई माक्सवादी भाषामा यथास्थितीवाद भनेर बुझिन्छ । परिवर्तनको एजेन्डा बोकेर नेपाली काङ्ग्रेस यथास्थितीको चङ्गुलबाट बाहिर निस्किनै पर्छ । यहि आजको आबस्यकता हो ।
अचेल बजारमा नयाँ सरकार परिवर्तनको हल्ला चलेको छ । ६६ बर्ष देखि चल्दै आईरहेको सरकार बनाउने र गिराउने यो खेल फेरि पुनरावृत्ति हुँदै छ । ४६ साल देखि ७३ सालसम्मको यो २६ बर्षमा २१ वटा सरकार परिवर्तन भएको छ । यो कुरा राजनितिका चतुर प्रचन्डले पक्कै बुझेको हुनु पर्छ । सरकार साझेदारीताको हिसावले एमाले नेतृत्व सरकारको चावी प्रचन्डको हातमा छ । यो कुरा नेपाली काङ्ग्रेसलाई पनि राम्रोसङ्ग थाहा छ त्यसैले अचेल काङ्ग्रेसले प्रचन्डको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नु पर्छ भनी प्रचन्डलाई फकाउन पक्कै खोजिरहेको होला । यसमा प्रचन्ड सचेत हुनु जरुरी छ । इतिहासको यो घडीलाई प्रचन्डले गम्भीर भएर नसोच्ने हो भने एक पटक फेरि प्रचन्ड फस्ने निश्चित छ । ईतिहास साक्षी छ, जब काङ्ग्रेस प्रतिपक्षमा रहन्छ तब सरकार गिराउन उसले सरकार भित्रकै मुख्य हिस्सालाई उचाल्ने काम गर्छ, अथवा सरकार नेतृत्व गरिरहेको दल भित्रै फुट ल्याउने कसरत गर्छ । अहिले बेला बेलामा प्रधानमन्त्री केपी शर्मा ओली प्रती सोही दलका नेता तथा पुर्व प्रधानमन्त्री मादव कुमार नेपालले कटाक्ष अभिब्यक्ती दिनु त्यही खेलको असर हुन सक्छ तर तत्कालको लागि एमाले भित्र आफ्नै नेतृत्वको सरकारलाई ढालिहाल्ने अबस्था देखिन्न । त्यसैले अहिले काङ्ग्रेसको लक्ष प्रचण्ड तर्फ बढी मोडिएको देखिन्छ । काङ्ग्रेसका कतिपय नेताहरु त प्रचण्डको नेतृत्वमा सहमतिय सरकार गठन हुनु पर्छ भनी खुलेरै भनिरहेका छन । यो उसको नयाँ चरित्र होइन । पुरानै हो ।
यदि प्रचण्डले काङ्ग्रेसको यस प्रस्तावमा र्याल चुहायो भने अहिलेको एमाले नेतृत्वको सरकार ढल्ने छ । त्यस पछि काङ्ग्रेसले एमाओवादीलाई धोका दिने छ । १२ बुदे सम्झौता देखि नेपाली कांग्रेसले एमाओवादीलाई पटक पटक धोका दिईसकेको छ । सक्भर काङ्ग्रेस आफ्नै नेतृत्वमा सरकार गठन गर्न खोज्ने छ । यदि आफ्नो नेतृत्वमा सरकार गठन हुने छाट आएन भने एमाओवादीको नेतृत्वमा भए पनि सरकार गठन हुन सक्छ । त्यसको लागि एमाओवादीले एमाले वा काङ्ग्रेस मध्य एउटा दलको सहयोग लिएर साना दलहरु मिलाएर सरकार गठन हुने छ तर त्यो केवल बालुवाको महल मात्र हुने छ । त्यो सरकारको आयु अति होला ? अनुमान लगाउन सक्छौं ।
एमाओवादीले तत्काल आफ्नो नेतृत्वमा सरकार गठनको सपना देख्नु हुँदैन । यदि एमाले वा काङ्ग्रेसलाई बिश्वास लिएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने हो भने भारतको सपना पूरा हुने छ । भारत यहि चाहिरहेको छ । भारत सक्भर काङ्ग्रेसको नेतृत्वमा सरकार गठन गर्न चाहन्छ नभए प्रचण्डकै नेतृत्वमा भए पनि गठन गरेर सरकारको चावी अन्यत्र दिन चाहन्छ । जुन चावी उसले आबस्यक ठानेको बेला चलाउन सकोस । यसको लागि बिश्वास पात्र काङ्ग्रेस र एमाले भन्दा एमाओवादी हुन सक्दैनथ्यो । यो कुरा त महिनौं लामो नाका बन्दीमा प्रमाणित भईसकेको छ । प्रचण्ड चाहन्थ्यो त एमाले नेतृत्वको सरकार ढाल्न पनि सक्थ्यो । भारतिय नाकाबन्दीको अघि घुडा टिकिसकेको हुने थियो । भारत असफल हुनुको पछाडी प्रचण्ड कारक रहेको भारतिय पक्षलाई राम्रैसङ्ग थाहा छ । त्यसैले प्रचण्डलाई फकाएर भए पनि वाहिरी शक्ति केन्द्रले अहिलेको सरकारलाई बिस्थापित गर्न चाहेका छन ।
अहिलेको सरकारले जति पनि राष्ट्रियताको बिषयमा अडान लिएको छ यसको श्रेय प्रचण्डलाई जान्छ । यदि प्रचन्ड सरकारको नेतृत्वमा उनी आफै भएको भए पनि यति काम गर्न सक्दैनथे । किनभने सहमतिय वा बहुमतिय सरकारमा सरकार संचालनको चावी सरकारमा भएका दलहरु मध्य सबै भन्दा शक्तिशाली दलको हातमा हुन्छ । त्यही चावी अहिले प्रचण्डको हातमा छ । ईतिहासलाई फर्केर हेरियो भने जतिबेला कटुवाल प्रकरण चलिरहेको थियो त्यति बेला एमाओवादी वाहेक सरकारमा संलग्न दलहरु मध्य सबै भन्दा शक्तिशाली दल एमाले भएको नाताले सरकारको चावी एमालेको हातमा थियो । त्यतिबेला एमालेले अहिले भारतिय नाकाबन्दीको बेला प्रचन्डले लिएको जस्तै अडान लिन सकेको भए इतिहासमा एउटा सेनापतिको कारणले जनयुद्धबाट आएको शक्तिको नेतृत्वको सरकार यसरि धराशायी भयो भनेर लेखिने थिएन । त्यतिबेला पनि एमाले भित्र काङ्ग्रेसले केपी ओली गुटलाई उचालेको थियो । अहिले केपी नेतृत्वको सरकारको विकल्पमा मादव नेपाल गुटलाई उचाल्न खोजिरहेको छ । यस्तो खेल ४६ साल देखि काङ्ग्रेस निरन्तर खेल्दै आइरहेको छ ।
गिरिजाप्रसाद कोइरालाको देहावसान पछि नेपाली राजनिती प्रचण्ड वरिपरि चक्कर मारिरहेको छ । त्यसैले प्रचण्डले देशको लागि सोच्ने बेला आएको छ । यदि देश र जनताको लागि एक पटक गम्भीर भएर सोच्ने हो भने प्रचण्डले अडान लिनै पर्छ । देशको लागि केही त्याग्नै पर्छ । केही ब्यक्तिगत लाभलाई तिलान्जली दिनै पर्छ र ६६ बर्ष देखि निरन्तर चल्दै आइरहेको कोर्षलाई नयाँ ढङ्गबाट अगाडि बढाउनु पर्छ । यदि प्रचण्डले ओली नेतृत्वको सरकारलाई गिराउने काङ्ग्रेसको खेलमा सहभागी हुने हो भने इतिहासमा प्रचण्डकै कारणले सरकार बनाउने र गिराउने फेरि एउटा भयानक खेलको पुनरावृत्ति भएको ठहर्ने छ र ४६ साल पछिको यो प्रजातन्त्रको २६ बर्षे इतिहासमा २२ वटा सरकार गठन भएको ईतिहास लेखिने छ । यसबाट नेपाली जनताले के पाउछ ? देशले के पाउछ ? एक पटक इतिहासको यो घडीमा प्रचन्डले समीक्षा गर्नै पर्छ । यो देशमा यथास्थितिवादको अन्त्य हुनै पर्छ । प्रतिगामी शक्तिहरुको पुर्वाधार ध्वस्त गर्नै पर्छ । सबै खाले दलाल प्रवृत्तिहरुको अन्त्य हुनै पर्छ । नेपाली जमिनमा नेपाली जनताको आफ्नै स्वच्छतापूर्वक राज्य ब्यबस्था संचालनको जग बसाल्नै पर्छ । यो गहन जिम्मेवारी आज प्रचण्डको काधमा आएको छ । नेपाली जनताले प्रचण्डको यो पाइन जाच्न खोजिरहेको छ । उ युग निर्माण गर्छ अथवा त्यसको अबशान । आशा छ, नेपाली राजनीतिको ६६ बर्ष देखिको इतिहासको पुनरावृत्तिमा प्रचण्डद्वारा क्रमभंग हुने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु