संविधान द्वन्द्वको कारक नबनोस्

२०७२ भाद्र ५ गते, शनिबार

नेपाली काँग्रेस, एमाले र एमाओवादी जसरी पनि एकथान संविधान जारी गर्ने रन्कोमा लागेका छन् । संविधानको मस्यौदा समितिले संविधानको परिमार्जित मस्यौदा सभामुखसमक्ष पेस गरेको छ । संविधानको मस्यौदामा भएका कतिपय बुँदाहरु अमान्य भएको भन्दै अहिले देशभर आन्दोलन चर्किरहेको छ । संविधान मस्यौदाका विषयमा छलफल हुँदा चित्त नबुझेपछि संविधान जारी गर्न १६ बुँदेमा हस्ताक्षर गर्ने मधेशी फोरम लोकतान्त्रिकले तीन दलको साथ छोडेको छ । जतिजति संविधान जारी गर्ने भनी तोकिएको दिन नजिक आउँदैछ, त्यति–त्यति दलहरुबीचको सम्बन्धमा चिसोपना आउँदैछ । जनता केही सीमित दल र तिनका नेताको स्वार्थमा जारी गर्न लागिएको संविधान स्वीकार्ने पक्षमा छैनन् । उनीहरु स्वतस्फुर्तरुपमा जनसंविधान जारी हुनुपर्ने आन्दोलनमा देखिन्छन् । किनकि केही दल विशेषले जारी गरेको संविधानले समग्र जनताको भावना, आत्मसम्मान र जनअधिकारलाई सम्बोधन गर्न सक्ने सम्भावना पनि छैन । यस अवस्थामा यस संविधानसभाले कुनै पनि हालतमा जनपक्षीय संविधान जारी गर्न नसक्ने प्रस्ट देखिन्छ । तराई, पहाड, हिमाल, जातजाति, लिङ्ग अर्थात् कुनै पनि तह र तप्काबाट यो संविधानसभाले जारी गरेको संविधान स्वीकार्ने स्थिति नै देखिँदैन । यसरी जनताबाट विश्वास टुटेको संविधानसभाबाट एक थान संविधान जारी गर्ने मूर्खता गर्नु स्वयम् राजनीतिक दल र तिनका नेताहरुलाई आत्मघाती हुन सक्छ । तसर्थ, संविधानसभाको नौटंकी बन्द गरी आमनेपालीलाई सर्वस्वीकार्य हुने संविधान बनाउनेतिर लाग्नु तीन राजनीतिक दल र नेताहरुको साथै देश र जनताको लागि हितकर हुन्छ । त्यसकारण तत्काल यो संविधानसभा विघटन गरी राष्ट्रिय राजनीतिक सभा आयोजना गर्नुपर्छ र त्यही सभाबाट वर्तमान संकटको निकास खोज्नुपर्छ । अन्यथा देश द्वन्द्वमा जाने निश्चित छ । दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई गुमाउने नेपाली जनतालाई चाहना छैन, यदि यो कुराको हेक्का सरकार र एक थान संविधान जारी गर्न उद्यत दलहरुले नबुझ्ने हो भने स्थिति भयावह हुनसक्छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु