संविधानबारे भारतीय चासो बढ्नु भ्रमणको उपलब्धि हो ? : ओली

२०७३ आश्विन ११ गते, मंगलवार

काठमाडौँ, ११ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका सम्बन्धमा भारतीय चासो र भूमिका आक्रमण गरेमा आपत्ति जनाएका छन । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रतिपक्ष दलका नेताका हैसियतमा पहिलो सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्केपछि संसद्लाई औपचारिक जानकारी नदिइएको र सार्वभौम नेपालको संविधानबारे साझा चासोका विषय झैँ अनावश्यक चासो र भूमिका आमन्त्रण गरिएको जिकिर गरे ।‘नेपाल र भारतबीचको सम्बन्ध कहाँ बिग्रेको थियो ? के सप्रियो ? प्रधानमन्त्री हट्नु वा नयाँ प्रधानमन्त्री बन्नु सप्रनु हो ? के कुनै नाकाबन्दी थियो वा व्यवधान थियो र हट्यो कि ?’’ अध्यक्ष ओलीले प्रश्न गर्दै भने , ‘‘के संविधानबारे भारतीय चासो बढ्नु भ्रमणको उपलब्धि हो ?’’
प्रधानमन्त्री दाहालले भारतमा गएर नेपालमा फलानो फलानो भारतविरोधी भनेर कूटनीतिक मर्यादा विपरीत कुरा गरेको र प्रमुख अन्तर्राष्ट्रिय मामिलामा भारतसँग निकट सहकार्य गर्ने भन्ने संयुक्त वक्तव्यमा उल्लेख गराएर नेपालको पञ्चशीलका सिद्धान्त, पारस्परिक लाभ, असंलग्न परराष्ट्र नीति विपरीत काम गरिएको भन्दै विरोध र असहमति जनाए ।
‘‘अरु पनि प्रधानमन्त्री विशेष भ्रमणमा जान्छन् तर अरुले विदेशमा गएर प्रतिपक्षको धज्जी उडाउँदैनन्, मर्यादा त सोच्नुपर्ने हो ।’’ ओलीले भने , ‘‘मेरो दल समस्या समाधानमा वार्ता र छलफल गर्न तयार छ तर सरकारका तर्फबाट यसमा गम्भीर बाधा भएको छ ।’’ उनले नेपालको परराष्ट्र नीति भारत वा कुनै मुलुकसँग बाँधिन नमिल्ने र यसरी बाँधिने कुराले सार्वभौम राष्ट्रको भूराजनीतिमा प्रतिकूल असर पर्ने बताए ।
पूर्वप्रधानमन्त्री ओलीले भ्रमणमा दुवै देशका परियोजनाबारे नेपाल सरकार र काठमाडौंँस्थित भारतीय दूतावासले समन्वय गर्ने भनेर असन्तुलित र अपमानजनक बुँदामा हस्ताक्षर भएको र इन्धन आपूर्तिमा भारतीय एकाधिकारको पुनरावृत्ति गराउन खोजेको आरोप पनि लगाए ।
सरकार बनेलगत्तै चीन र भारतमा विशेष दूत पठाएकामा पनि प्रश्न गर्दै ओलीले भने , ‘‘केका लागि विशेष दूत ? नयाँ सरकार बनेकामा धन्यवाद दिन ? अरु विशेष अवस्था के परेको थियो नेपालमा ?’’
भारतको राजकीय भ्रमणमा प्रधानमन्त्रीले फरार अभियुक्तलाई भेटेकामा आश्चर्य व्यक्त गर्दै बिनातयारी र योजना त्यस्तो भेटघाट हुन नसक्ने भन्दै प्रश्न गरे , ‘‘त्यस्तो भेटघाटका लागि राजकीय भ्रमणको प्रबन्ध मिलाउनुपर्छ, प्रधानमन्त्रीज्यू ?’’
उनले संविधान कार्यान्वयन तथा सङ्क्रमणकालको यस चरणमा प्रमुख दल मिलेर अघि बढ्नुपर्नेमा प्रतिस्पर्धामा जाने काम हुनाले संविधान कार्यान्वयनमा बाधा आउन सक्ने जनाउँदै सीमित समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्थामा कुनै तयारी नगरिएको गुनासो गरे ।
आफ्नो नेतृत्वको सरकारले बनाएको तीन तहको निर्वाचन सम्पन्न गर्ने कार्यातालिका फोहर फ्याँक्ने भाँडामा फालिएको र अर्काे कार्यतालिका नबनाएकामा चिन्ता व्यक्त गरे । उनले सत्ता गठबन्धनभित्रकै दलका कुरा बुझ्न नसकिने भएको जनाउँदै जटिल स्थितिको निकासका लागि तत्काल दलसँग वार्ता गर्न आग्रह गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु