वलीको भारत भ्रमण र रेलका कुरा – झपेन्द्रराज बैद्य

२०७४ चैत्र २९ गते, बिहीबार

भारतीय जनता हाम्रा असल छिमेकी हुन। हाम्रो सँस्कृति, धर्म, चालचलन धेरै जसो मिल्दा जुल्दा छन्। फेरि पनि भारतीय सत्ताले नेपाललाई नचाइराखेको हुन्छ। आजको दुई बर्ष अगाडि भारतीय नाकाबन्दीबाट नेपालले तीतो अनुभूति सँगालेको छ। यस प्रकारको काम पटक पटक दोहरिदै आएको छ। जे होस नाकाबन्दीमा जनताले दुःख पाए पनि केपी वलीको अडानलाई मान्नु नै पर्छ। तर यो अडान मधेश आन्दोलनको बदला भावको थियो भन्नसकिन्छ। जातीय अहमताले प्रेरित सोँच। यसलाई खोक्रो राष्ट्रियता भनेर आरोप लगाउथे मानिसहरु। तर बदलिदो अवस्थामा परिस्थिति एउटै रहदैन। छिमेकीको नाताले भारतसँगको सम्बन्ध नेपाललाई आवश्यकता थियो भने चीनसँगको सुरक्षाको द्दष्टिकोणले भारतलाई पनि नेपालसँग सम्बन्ध राख्नु उत्तिकै आवश्यक थियो। अहिले चीनले गर्दा भारतले जति नेपाललाई हेप्नुपथ्र्यो त्यति हेप्न सकेको छैन। तर पनि पटक पटक सीमाना मिचिदा स्वाभीमानी नेपालीको मन थामिन सक्दैन। भारतीय हस्तक्षेपको बिरोधगर्दा होनहार युवकहरुले ज्यान दिनु परेको छ।
प्र.म.केपी वलीको भारत भ्रमणको पूर्व सन्ध्यामा भारतीय बिदेश मन्त्री सुष्मा स्वराज दुतको रुपमा प्रम वलीसँगमात्र भेटघाट गरी स्वदेश फिर्ता भइन। ५८ सदस्यीय टोलीको साथमा यही चैत्र २३ गते देखि २५ गते सम्म राजकीय भ्रमण भएको हो। सबै कर्मकाण्डी राम्रोसँग भयो। १द्द बुँदे संयुक्त प्रेस बक्तब्यमा ३ बुँदा बिशेष उल्लेखीय छन्। (१) एउटा हो बीरगञ्जमा एकीकृत चेक पोष्ट। (२) मोतिहारी – अमलेखगञ्ज –नेपाल पेट्रोलियम पाइपलाइनको शिलान्यास जसलाई डिजिटल प्रबिधिबाट दिल्लीमा स्वीच थिचेर मोतिहारीमा पर्दा खुलेको थियो। (३) अर्को हो रक्सौल काठमाण्डौ १३० कि.मी बिद्युतीय रेल जोडने संझौता तथा आधुनिक कृषि प्रणलीमा सहयोग। सगरमाथाको देशलाई सागरमा जोडने बताएका छन् भारतीय प्र.म.मोदी। यसै अनुसार नेपालले बंगालादेशसम्म पुग्ने जलमार्ग पाउने भनिएको छ। सन् २०१६ मार्चमा चीन भ्रमणको बेला प्र.म.केपी वलीबाट केरुङ्—काठमाण्डौ —पोखरा— लुम्बीनी रेल संचालनको संझौता भएको थियो। यस किसिमले उत्तर दक्षिण रेल जुधने भएका छन्। देशको अर्थनीति भयावह छ। प्रश्न उड्छ देशका नागरिकले ऋणको डोको कसरी बोक्नसक्छन्? अर्थमंत्रीको ठहर छ मुलुक चरमरुपले आर्थिक संकटमा फसेको छ। भ्रष्टाचारले गाँजेको छ देश। गृहमंत्रीको संश्लेषण छ नेपालको अर्थतन्त्र माफियाको कब्जामा परेको छ। अहिले भारतसँगको आयात ६ खर्ब ३३ अर्ब छ भने नेपालबाट भारत निर्यात हुने बस्तु जम्मा ४१ अर्ब ४४ करोड छ। प्र.म का भारत भ्रमण धेरै हुन्छन्। यो कुरा कस्ले बुझने? युवाहरुले रगत पसिना बगाएको रेमिटेन्सलेमात्र कसरी धानिन्छ देश? कृषि प्रधान भनिने देशमा टमाटर र खुर्सानी पनि इन्डीयाबाट ल्याउनुपर्छ भने कृषिमा कसरी बिकास हुन्छ? धेरै सौंचनीय कुरा छ।
नेपालको सुरक्षाको जिम्मा भारतले लिएको त छैन? प्रश्न उठ्छ। काला पानी र लिपियाधुरामा भारतीय शैनिकको क्यम्प छ। त्रिभूवन बिमान स्थलमा एयरमार्शल राखिएको छ। सीमानामा भारतीय शैनिक डुलेर नेपालीहरुलाई सास्ती दिएका खबरहरु आइरहन्छन्। १९५० को असमान सन्धीमा थिचिएको छ नेपाल। खै भ्रमणमा असमान सन्धीहरुबारेमा एउटा पनि कुरा सुनिएन। दुई प्र.म बीचमा एक घण्टासम्म वन टु वन कुराकानी भयो। के के गोप्य संझौता भए यसको सार्वनिक गर्नुपर्छ। ९०० मेगावाट बिद्युत उत्पादन गर्ने भनिएको अरुण तेस्रोको शिलान्यास गर्ने भनिए पनि नेपालीहरुको चर्को बिरोधको कारण शिलान्यास हुनसकेन। यो सकारात्मक पक्ष हो तर बोकालाई जस्तो पानी मन्साएर राखिएको छ। भारतले उपल्लो कर्णालीलाई पनि दाउँ खोजिरहेको छ। भारतीय जी एम ले संझौता गरिसकेको अवस्था छ तर जनताको सशक्त बिरोधको कारण हात हाल्न सकेको छैन। लगभग तीनहजार मे.वाट बिद्युत उत्पादन हुने ठाउँमा १६५ मे.वाटमा संझौता गरिएको छ। महाकाली पञ्चेश्वर परियोजनाको पनि कुरा चलिरहेको अवस्था छ। साँईली नौतनवाको रेलैमा सलल भन्ने भएको छ अहिलेको प्र.म को भारतको भ्रमण। उत्तर दक्षिण रेलवे वाटर रेलवे। नेपालीहरु खाडीमा। पोखरामा कामगर्ने मजदुर इन्डीयन।
दलाल पुँजिबादको खेल —
आआफ्नो पालामा यो कुरा सबैले भन्छन् जनतालाई बन्दुकले छेक्नसक्दैन। जनता शक्तिशाली छन्। जनता सार्वभौम छ। के.पी वलीले यही कुरा भन्छन्। प्रचण्डले पनि यही कुरा भन्छन्। शेर बहादुर देउवाले पनि यही कुराको रट लगाउदथे। बिद्रोहीको त यही कुरा सत्य हुन्छ। उनीहरुको राज्य सत्ता हुदैन। यसैको लागि उनीहरु लडेका हुन्छन्।
जसै जसै परिआउँदछ, संशोधनबादी सत्ताधारीहरुले जनतालाई केही ठान्दैनन्। सर्वेसर्वा हुन्छन्। सेना प्रहरी सशस्त्र प्रहरी हुन्छ। यही देखेर नेताहरुको टेम्पर बढछ। केही देख्दैनन्। अन्धाधुन्ध गोली बर्षाउछन्। नेताहरु दलाल पुँजिबादको शरण लिन्छन्। बिदेशी निगमहरु पनि एक जुट हुन्छन्। हिटलर पनि त घोंडाबाट खसेथे भन्ने बिर्सन्छन्। प्रचण्डले पनि यही भनेका हुन। सबभन्दा ठूला जनताहुन्।। तर अहिले ती ठूला जनताले धोका पाए। के भनेर जनतालाई युद्धमा होमे? के भनेर ब्याक अप भए? बिच मै छोडने भए किन शुरुगरे जनयुद्ध? सहीद परिवार, अपांग र घाइतेहरुको आवाज हो यो। १६ हजार होनहार जनताको रगत नेपाली धरतिमा पोखिएको छ। त्यही रक्तरञ्जित माटोबाट रक्तिम कमलहरु फुलिरहे छन्। यो संबेदनशील कुरा हो। हेक्का राख्नू— हृदयमा लागेको घाउ निको हुनेरहेन छ। यो घाउ पुस्तौंसम्म सर्ने रहेछ। स्कूलमा गएको छोरा साँझ घर आएन। भर्खर बिहे गरेका बेहुला बेहुली पनि जनसेनामा सामेल भए। कैयौंलाई मारे। हतियारहरु संकलन गरे। नेतालाई बुझाए। टाउकाको मोल तोक्ने बिरुद्ध लडेर शीर्ष नेताहरुलाई जोगाएर राखे जनजसेनाहरुले। कैयौं युवाहरु सहादत भए। घरघरमा रुवाबासी भयो। सुराकीहरु गाउँमा बस्न सकेनन्। जता ततै धुवाको मुश्लो उड्यो। आकाशमा कालो बादल मडारियो। तर बिस्तारबाद र साम्राज्यबादको निर्देशनमा रातारात १२ बुँदे सहमती गरियो। साम्राज्यबाद र बिस्तारबादको लागि खुशिको खबर भयो यो। भागेर शहर पसेकाहरुले फर्कने मौका पाए। संशोधनबादीहरु निकै रमाए। जनता जे सुकै गरुन्। नेताहरु पुरानै कुर्सीमा पदासिन भए। नयाँ परिबेशमा आएका नेताहरुले केही गर्लान कि भन्ने ठानेर सबभन्दा बढी सीट ल्याएर आए चुनाबमा। तर संबिधानसभाको चुनाबमा भने भगौडा भनेर तेस्रो पार्टीमा डिमोशन भए। निर्बाचनमा हार खानु धोकाको परिणाम हो। पछि गठबन्धनबाट केही सिट हातलाग्यो। यो मा.केको लागि सकारात्मक कुरा हो। एउटै बिचार एउटै लक्ष्य भएसि गठबन्धन हुनु केही आश्चर्यको कुरा भएन। यसमा किन पेट दुख्नू? खोला सागरमा पस्यो। यो हो माकेको बिलोपीकरण। एमाले त जहाँको त्यहीँ छ। उसलाई केही भएन। सत्ताको हरीयो घाँस देखाएर एमालेले तान्यो मा.के.। एमालेलाई सत्ता टिकाउन केही सीट चाहिएको हो। भयो। यसमा ने.का. डराएर रोइकराइ गर्नुपर्दैन। वास्तबमा तीनवटै पार्टीको बर्ग चरित्र एउटै छ। बाम भन्ने त नाममात्र हो। यसमा कम्युनिष्टको कुनै गन्ध छैन। साइनो पनि छैन। जनतालाई भ्रमपार्न कम्युनिष्टको लोगो भने छ। पछि यही लोगोको पनि बोझ हुनेछ। कम्युनिष्टको आधारभूत सिद्धान्त केही छैनन्। बर्ग संघर्ष छैन। बर्ग समन्वय छ। राष्ट्रियताको स्खलन छ। समाजिक दलाल पुँजिबादले च्याँपेको छ। आइ एन जी ओले गाँजेको छ। जति समृद्धि र बिकास भने पनि हुने बिरुवाको चिल्लो पात छैन। कार्या नीति छैन। कुनै योजना र कार्यक्रम छैन। बोल्नलाई त जे बोले नि हुन्छ। सबैको समृद्धि र बिकास भए, सबैलाई गास,बास भए अरु के चाहियो र।
पंचायत कसले ढल्छ भनेको थियो र । आखिरिमा ढलेर गयो। जनताले सत्ता परिवर्तन चाहन्छन्। अग्रगमन खोजेका हुन्छन्। यथास्थितिबादीहरुले भने पश्चगमनको यात्रा मनपराउछन्। राष्ट्रीय स्वाधीनतामा आँच आए देशभक्त एक जुट हुन्छन्। रातारात सत्ता कायापलट हुनसक्छ। जनताको साम्ने केही लाग्दैन। साच्चै नै जनता सबभन्दा ठूला हुन। बन्दुकले जनतालाई छेक्नसक्दैन। खाशमा भनेको साम्राज्यबाद बिस्तारबाद सामन्तबाद बिरोधी जनता हुन्। जसले जति भट्टाए पनि दलाल पुँजिबादमा सत्ताले स्वतन्त्ररुपले शासनगर्न सक्दैन। जगजाहेर छ साम्राज्यबाद र बिस्तारबादको निर्देशनमा राज्य चलेको हुन्छ। बिकास र समृद्धि देखाउने नारा हुन। यही बिहारी संसदबाट समृद्धि हुन सक्दैन। खै एमालेले पहिले पनि सत्ता सम्हालेको थियो। मा.के पनि सत्तामा बसेकै हो। कांग्रेस धेरैसम्म सत्तामा बस्यो। खै के भयो ? जस्ताको तस्तै। गिरिजाले पनि समाजबाद भन्थे। नामले केही गर्दैन। गरिबले पनि धन बहादुर नाम राख्न सक्छ। भारतीय प्रधान मन्त्रि मोदीले पनि त समाजबाद कै नारा लगाएका छन्। संसदबादको बिकृति बिसंगतिलाई ढाकछोप गर्न समाजबादको नारा आएको छ। साम्राज्यबादको चालबाजी हो यो।
अहिलेको नयाँ प्रसंग। प्र.म. के.पी. ओली भारत भ्रमणमा गएका छन्। जानु पनि पर्छ तर जनताले भारतबाट हुने असमान सन्धीको पराकाष्ठा बेहोरेका छन्। तीतो अनुभब छ। प्र.म.लाई हात खुट्टा बाँधेर पठाउनु पर्छ र? म्यान्डेट पाएका प्र.म.ले आफ्नो बिबेकले देशको हीतमा जे पनि गर्नसक्छन्। तर इतिहासले संत्रस्त बनाएको छ। जहिलेसम्म असमान सन्धीहरुको खारेजी हुदैन, जहिले सम्म भारतीय हस्तक्षेप रोकिदैन साम्राज्यबाद र बिस्तारबाद बिरुद्ध देश भक्तहरु लडिरहने छन्। जनतालाई बन्दुकले छेकेको इतिहास छैन। दलाल समाजबाद समाप्त भएपछि मात्र जनबादको लाल किरण पूर्वबाट झुल्कने छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु