यो देशको पिडा – भिम उपाध्याय

२०७१ मंसिर १० गते, बुधबार

नेतृत्वक्षमता नभएकाको हातमा सत्ता गयो भने देश र जनताको दुर्गति हुन्छ । दुनियामा अरु ठाउमा पनि संविधानसभाले संविधान बनाएको छ अधिकांशमा सहमतिमा गरिएको छ । क्रान्तिपछि बनेका संविधानमात्र एकतर्फी भएका छन् । सम्झौता भएर टुंगिएको आन्दोलन पछि बनेका संविधान सहमतिमा बन्छन् । त्यो सहमति गर्न ऋषिमन चाहिन्छ । तर हाम्रा सत्ताधारी नेताहरु कुत्सित मन, राक्षसमनका छन्, यो हो समस्या । विपक्षीलाइ विपक्षी बन्न दिन हुदैन थियो सुरुमै, सरकारमा समावेश गराउनै पर्थ्यो । संविधान बनाउनका लागि दुइदलीय गठवन्धन हुनुनै खराबी हो । साच्चै भन्ने हो भने नेका र एमालेले गठवन्धन बनाएर चुनाव लडेका थिएनन् । तिनलाइ त्यति मत आउछ भन्ने पनि लागेको थिएन । तर अहिले मिलाएर खानैको लागि गठवन्धन बनाएर सरकारमा बसे । सरकारमा पठाउने मन्त्रीपनि जनताले नचिनेका, हारेका, नेताका चम्चा, सांसद नभएकालाइ पठाए, सबका सब गन्हाएका छन्, कसैले कसैलाइ टेर्दैनन् । मन्त्री जस्तो पदमा बसेकाले एकजना सहसचिवका लागि, ज्वाइ, छोरा, साढुभाइ, संम्धीका लागि मरिमेट्छन् अनि यिनले बनाएको संविधान कसरी टिक्छ त । यसैले अब दबाबमा नै ‘असहमत हुन सहमत हुदै’ संविधान जारी गर्नुको विकल्प छैन । को असहमत हुने भन्ने कुरा पनि छ, सत्तामा बस्नेले हो नेतृत्वक्षमता र त्याग देखाउने । नत्र त नेपालमा आजसम्मकै परिवर्तन हुने थिएन । त्यो क्षमता छैन भने संविधान ल्याउने जस्तो गहनतम विषय तिनका लागि घाँडो बन्नेवाला छ । च्यातिने संविधानको के काम । त्यसपछि संसोधन गर्ने कुरा त कता हो कता । त्यसका लागि कल्चर चाहिन्छ, त्यो यहा छैन । विरोध र आक्रोशकै बीच आजसम्म नेपालमा राजनीतिक परिवर्तन भएका हुन् । कुनै सुस्पष्ट लक्ष र भिजनद्वारा हैन । अनि जसले परिवर्तन गर्ने नेतृत्व लियो त्यो परिवर्तन पछि फ्याकिएको छ, त्यसैले भिजनको पनि यहा कुनै काम हुनेभएन । लोकतन्त्रको फाईदा लुट्ने तर त्यसलाइ पाल्न नसक्ने राजनीतिक प्राणी भनेको हामी नेपाली हौं । हामीलाइ लोकतन्त्र चाहिएको त छ तर त्यसका लागि त्याग गर्न मरे चाहन्नौं । लोकतन्त्रको संस्कार र संस्कृति नै छैन तर लोकतन्त्रको नारा भट्याएर अराजकता मच्चाउदै लुट्न भने चाहन्छौं । यति कुहिएका गन्हाएका मन्त्रीहरु छन्, अहिले यति कमजोर र अक्षम सचिव महानिर्देशकले प्रशासन चलाएका छन् जो इतिहासमा कहिले देखिएन । देश शासनप्रशासन ले हैन पशुपतिनाथले हो कि भूतनाथले हो, चलाइरहेको अवस्था हो । यहा कोहि चालकसिटमा देखिदैनन् । सबै खलासीहरु चालक बनेका मात्र देखिन्छन् ।
तर भदौमा आखा फुटेकाहरुले चैत्रमा पनि हरियो देख्छ भनेझै भारतमा मोदीको सरकार छ, विगतमा झै काँग्रेस वा मार्क्सवादीको हैन । त्यहा तेत्रो परिवर्तन भयो यहा नेपाल त्यतिकै रहला भन्ने हामीले सोच्नु हुदैन । यहा पनि स्वतः परिवर्तन भैछाड्छ । त्यो परिवर्तन अधिकतम हाम्रो हीतमा पार्ने काम सक्षम चलाक र गतिशील नेताले मात्र गर्न सक्छ नत्र दास बन्नका लागि किन मेहनत गर्नुपर्छ र ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु