माओवादी रोल्पाद्वारा जग्गा कब्जा

२०७१ चैत्र १६ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादी रोल्पाले बिभिन्न जालझेल, छलकपट गरी आफ्नो नाममा बनाएको जुँगार गाविस वार्ड नं. ९ मजुवा बस्ने बलजित पुनको खेत र पाखो जग्गा सोही ठाउँका पूर्व प्रधान पञ्च हरिभक्त खड्काको जग्गा कब्जा गरि वास्तविक धनीलाई फिर्ता गरेको छ । माओवादी बिभिन्न कीर्ते कागज र छलकपट गरेर एउटाको जग्गा अर्कैले हडपेको भन्दै उक्त जग्गा वास्तविक धनीलाई फिर्ता गरेको हो । नेकपा माओवादीले जनतामाथि अन्याय हुन नदिने भन्दै यस्तो कदम चालेको जनाएको छ । माओवादी रोल्पाले जिल्लाको जुँगार गाविस वार्ड नं. ९ मजुवा बस्ने बलजित पुनको खेत र पाखो जग्गा सोही ठाउँका पूर्व प्रधान पञ्च हरिभक्त खड्काले बिभिन्न जालझेल, छलकपट गरी आफ्नो नाममा बनाएको जनाएको छ । जनयुद्ध कालमा स्थापित जनअदालतले फैसला गरी वास्तविक जग्गा धनी पुनलाई नै फिर्ता गराइदिएको जग्गा शान्ति प्रक्रियापछि पुन खड्काले लिएपछि अहिले पुनः माओवादीले पुनलाई नै फर्काएको जनाएको छ ।
सो जग्गामा लामो समयदेखि मुद्दा मामिला चल्दै आएको र पूर्व पञ्च खड्काले अदालतबाट हारेपछि पनि फेरि मुद्दा दिई घुस खुवाएर पुनः आफ्नो पक्षमा फैसला गर्न लगाएको माओवादीले जनाएको छ । यसरी सामान्य जनतालाई मुद्दा मामिलामा फसाई जाली कागज तयार गरी फसाउने कार्य नगर्न खड्कालाई आग्रह गर्दै यस्ता कार्य दोहोर्याएमा कारवाही गर्ने चेतावनी पनि दिएको छ । माओवादी रोल्पाले जारी गरेको एक विज्ञप्तीमा भनिएको छ, “पञ्चायत कालदेखि जनयुद्धकाल र शान्तिप्रक्रियापछि पनि यस्तै कुकार्य गर्ने रोल्पा जुँगार ९ निवासी हरिभक्त खड्कालाई अबदेखि सो कुकार्य नगर्न रुपान्तरणको लागि सहयोग गरिएको छ र थप दोहो¥याएमा कडा कारवाही गर्ने चेतावनी सहित निम्न कुकार्यहरु जनसमुदाय सामु सार्वजनिक गरिएको छ ।”
उक्त जग्गाका सम्बन्धमा माओवादी रोल्पाले प्रकाशित गरेको विज्ञप्तीमा यस्तो भनिएको छः “१) २०३२ सालअघि रोल्पा जुँगार गाविस–९ मजुवा बस्ने बलजित पुनको सोही स्थानको खेत र पाखो जग्गा रोल्पा जुँगार–९ बस्ने मुखिया बेदबहादुर खड्काले जग्गा धनीलाई थाहै नदिई २ पैसा तिरो पर्ने खेत (तत्कालीन मुल्य १२,००० पर्ने) आफ्नै सरोदर भाइ पर्ने तत्कालीन प्रधानपञ्च रहेका हरिभक्त खड्कालाई बिक्री गरिदिएको ।
२) २०३९ सालअघि उक्त २ पैसा तिरो रहेको खेतको आधारमा सो खेतको दक्षिण ठूलो गाड (मिनासाँध) र उत्तरपूर्वको जावलखोलाको बीचमा पर्ने ४८ मूरी माटो भएको १५–२० जना जग्गा धनीहरुको खेतहरु अन्यायपूर्ण ढङ्गले आफ्नो दावी गरेको तर जिल्ला अदालतबाट मुद्दा हारेको ।
३) २०३२ सालमा मृतक बलजित पुनले २ पैसा तिरो रहेको खेत मुखिया वेदबहादुर खड्काले बिक्री गरी हरिभक्त खड्काको नाममा जग्गा भएको र सोही जग्गाको आधारमा अरु बाँकी सबै खेत पाखो पनि निज हरिभक्त खड्काले मेरो भनि अन्यायपूर्ण ढङ्गले दावी गरेको ।
४) जालसाँजी र अत्याचारपूर्ण ढङ्गले आफ्नो खेतपाखो कब्जा गरिएपछि २०३२ सालमा जग्गा धनी बलजित पुनले हरिभक्त खड्का विरुद्ध रोल्पा जिल्ला अदालतमा जाहेर मुद्दा दिएको । सोही मुद्दाको साछी बयान गराउन रोल्पा लिवाङ गइरहेको बेला हरिभक्त खड्काले मुद्दा हारिने भयले निज जग्गा धनी बलजित पुनको लिवाङ जाने बाटोमा (धाङसी खोला र माडीखोलाको दोभानमा) हत्या गरेको । मृतकको उमेर पुगेको छोरा टिकाराम पुनलाई २०३६ सालमै झुठ्ठा ज्यान मार्ने उद्योग मुद्दा लगाई फरार गराएको र अन्य छोराहरु नाबालक रहेको ।
५) ४ वर्ष जेल जीवनपछि निज हरिभक्त खड्काले पुन २०४४ सालमा मृतक बलजित पुनको नाममा रहेको उक्त जग्गा कब्जा गरेको ।
६) २०५२ सालमा थालनी भएको जनयुद्धको क्रममा २०५४ सालमा ने.क.पा (माओवादी)ले उक्त जग्गा कब्जा गरी सामूहिक खेती थालेको ।
७) २०६३ सालको शान्तिप्रक्रिया थालनीसँगै उक्त जग्गा मृतक जग्गा धनी बलजित पुनको परिवारलाई भोगचलन गर्न ने.क.पा. (माओवादी)ले हस्तान्तरण गरेको ।
८) २०६८ सालमा हरिभक्त खड्काले प्रशासन प्रयोग गरी उक्त खेतमा पुन ः धान रोपेको । सो धानवाली कब्जा गरी नेकपा–माओवादीले जग्गा धनी बलजित पुनको परिवारलाई दिलाई दिएको ।
९) करिव १०० मुरी धानफल्ने खेत हरिभक्त खड्काले जनयुद्धकालमै २०५२ सालमा कित्ता नं. ३१४, ३१५, ३१६ र ३२९ लाई भित्रीरुपमा सरकारी कार्यालयसँग आफ्नो नाममा मुद्दा एकतर्फी जालसाँची गरी जिताएको ।
१०) २०५५ सालमा कित्ता नं. ३१३ र २०६१ सालमा कित्ता नं. ३१२ का खेत पाखो एकतर्फी जालसाँची गरी मुद्दा आफूले जिताएको बनाएको ।
११) २०७१ साल पुसमा जिल्ला अदालत रोल्पाको फैसला अनुसार जिल्ला मालपोत कार्यालय रोल्पाले मृतक बलजित पुनको सबै खेत हरिभक्त खड्काको नाममा नापी नक्सा गर्ने निर्देशन दिएको ।
उपरोक्त कारणहरुले हाम्रो नेकपा माओवादी रोल्पाले सबै दृष्टि रोल्पा जुँगार–९ निवासी मृतक बलजित पुनमगरको खेत र पाखो जग्गा पीडित बलजित पुनकै हो भन्ने ठहर गर्दै अप्राविधिक, अन्यायपूर्ण, जालसाँची गरी राखेको हरिभक्त खड्काको भनिएको जग्गा आजका मितिदेखि मृतक बलजित पुनमगरको परिवारलाई नै फिर्ता गरिएको घोषणा गर्दछौ ।
२१ औ शताब्दीको चेतनशील यो दुनियाँमा यस्तो र कुनै पनि कुकार्य नगर्न रोल्पामा रहेका सबै जनउत्तरदायी निकायहरु र देशभरीका सम्बन्धित सबै जन सरोकारवालाहरुलाई अनुरोध सहितको सहयोग गरिरहेका छौ । हाम्रो पार्टी केन्द्रीय समितिको देशमा भइरहेको विकृति, विसङ्गती विरुद्धको सशक्त आन्दोलनमा जिल्ला पार्टीको ऐक्यवद्धता र प्रतिवद्धता पनि छ । आम जनसमुदायहरुलाई सतर्क, सचेत रहन र यी सशक्त आन्दोलन र अभियानमा लामबद्ध हुन, सक्रिय सहभागी र सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु