भोट र मान्छेहरू – वैरागी जेठा

२०७४ मंसिर १२ गते, मंगलवार

विहेको रत्यौलीझैँ
बसहरू नाचिरहेछ
मेरो कोठा नजिकै
मान्छेहरू गुलाम भएर
रङ्गिएको छ
सांसदलाई जिताउन
उनीहरू मेरा भाइलाई थुनेर
पोकापन्तरा बोक्दै
भोट हाल्न दगुरिरहेछ
घातमाथि घात गर्न
मेरो भाइ
यतिबेला चिसो कोठामा
कसैले भेट्नै नपाउँने गरी
अपराधीझै थुनिएको छ
ति मान्छेहरूले
कहीँ कतै उठाएनन्
मेरो भाइको जीवनबारे
अहँ उठाउँदै उठाएनन्
उनीहरूले
देश बन्धकी राख्न
औँलाको छाप लगाए
मेरो भाइको बारेमा
उनीहरूले सोँच्दै सोँचेन
अनि
ठोकिदिए नेपाल चाहिँदैन
मगन्तेहरू
सोझा साझा किसान
मजदूरहरूलाई लिलाम गर्न
उनीहरूले भोट खसाले
मेरो भाइको
आँशु बगिरहेको देखेनन्
आँसुलाई, एक पेग सम्झिएर
उनीहरूले भोट खसाले
उता भाइ
भोकले छट्पटाइरहेछ
निख्रिएका चेतनाहरू
देशलाई भद्रगोल बनाइरहेछ
मेरो भाइले
केही मागेको थिएन
उसले मेरो भावना बुझिदेऊ भनेको थियो
फाटेका मान्छेहरूले
उनका कुरा सुन्न नसकेर
अपराधी घोषणा गरे
जनता र सांसदको के साइनो छ
भोटले जित्छ
गाउँ कहिल्यै फर्कँदैन
उसले के गर्छ
समाजमा
तातिएर बौरिरहेछ
मन !

प्रतिक्रियाहरु