भारतीय अतिक्रमणविरुद्ध स्रष्टाहरु सडकमा

२०७६ मंसिर २ गते, सोमबार

काठमाडौं, २ मंसिर । भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेत समावेश गरेपछि नेपालका स्रष्टाहरूले गीत र कविताको माध्यमबाट सीमा अतिक्रमणको विरोध गरेका छन् । काठमाडौँको रत्नपार्कमा जम्मा भएर स्रष्टाहरूले भने ः
छोड् हाम्रो भूमि छोड्,
नालापानी छोड्
हाम्रो लिम्पियाधुरा छोड्
सुस्ता पनि छोड्
हाम्रो सबै भूमि छोड्
स्रष्टाहरूले गीत÷कविताको माध्यमबाट भारतीय साम्राज्यवादी अतिक्रमणको विरोध गरेका छन् । उनीहरूले हाम्रो देशको सीमा एक इन्च पनि कसैले मिच्न नपाइने बताए । स्रष्टाहरूले इतिहासमा सधैँ स्वाधीन रहेको मुलुक स्वाधीतना र राष्ट्रियताको रक्षाका लागि सदैव लड्न तयार छ भन्ने सन्देश दिए । कार्यक्रममा कवि विमल निभा, स्नेह सायमी, सीता शर्मा, नन्दु उप्रेती, शोभा दुलाललगायतले कविता सुनाएका थिए भने कर्ण परियारलगायतले गीत सुनाए ।
स्रष्टाहरूको उक्त विरोध कार्यक्रममा सीमाविद् हिरण्यलाल श्रेष्ठले अतिक्रमित नेपाली भूमिबाट भारतीय सेना तत्काल हटाउन माग गरे । स्वाधीन र सार्वभौम मुलुकमा भारतीय हस्तक्षेप स्वीकार्य नहुने भन्दै श्रेष्ठले भारतले हस्तक्षेप बन्द गर्नुपर्ने बताए । स्रष्टाहरूले अतिक्रमित नेपाली भूमिबाट भारतीय सेना फिर्ता नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताए ।

प्रतिक्रियाहरु