प्रेमध्वजलाई ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’

२०७२ भाद्र २० गते, आईतवार

काठमाडौँ । श्रुति सङ्गीत विद्यालयले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई आज ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’ प्रदान गरेको छ । त्यसैगरी, गायक आनन्द कार्की, देविका वन्दना तथा गीतकार रमण घिमिरेलाई श्रुति सङ्गीत सम्मान प्रदान गरिएको छ । नेपाली गायन तथा सङ्गीतको क्षेत्रमा योगदान पुयाएबापत प्रधानलाई अभिनन्दन सहित नगद रु २५ हजार ५०० प्रदान गरियो भने तथा अन्यलाई जनही रु पाँच हजारसहित कदरपत्रले सम्मान दिइएको हो । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उनहरुलाई सम्मान गर्दै गीत तथा सङ्गीतको क्षेत्रलाई विश्वमा सबैले बुझ्न सक्ने र यसको विकास गर्नुपर्नेमा जोड दिए । उनले स्रष्टा साधकलाई जनस्तरबाट गरिएको सम्मान गौरवको विषय भएको र यस्तो परम्पराले कलाको विकास हुने र साधकलाई सम्मान गर्न सरकारलाई दबाब पर्ने बताए ।
सम्मानित गायक प्रधान, कार्की, बन्दना र घिमिरेले नेपाली सङ्गीतको क्षेत्रमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै त्यस क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
सङ्गीतकार दीपक जङ्गम र विद्यालयका प्राचार्य पुष्पा पौडेलले निजी क्षेत्रबाट सञ्चालित सो विद्यालयले देशका विभिन्न स्थानमा भएका प्राचीन तथा मौलिक सङ्गीतको खोजी तथा संरक्षणका लागि प्रयत्न गरिरहेको बताए । विद्यालयका विभिन्न प्रतिभाशाली विद्यार्थीले गायक प्रधानले ५० वर्षअघि गाएका आधा दर्जन गीत गाएका थिए ।

प्रतिक्रियाहरु