प्रचण्डले पठाए वैद्यलाई बिन्ति

२०७१ आश्विन ७ गते, मंगलवार


काठमाडौँ ।एकीकृत नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आग्रह गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई पत्र पठाएका छन् ।माओवादीका अध्यक्ष वैद्यले गत वैशाख २३ गते पार्टी एकताका लागि अगाडि सारेको छबुँदे प्रस्तावको आज जवाफ दिँदै उनले कम्युनिस्ट क्रान्तिकारीको एकताको ऐतिहासिक आवश्यकताबोध गरी पत्र पठाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।
एमाओवादीको विराटनगर राष्ट्रिय सम्मेलनले पनि एकताको प्रस्ताव पारित गरेको बताउँदै अध्यक्ष दाहालले पठाएको पत्रमा भनिएको छ “जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अगाडि बढ्ने र माओवादलाई आत्सात् गर्ने निर्णय नै महत्वपूर्ण विषय हो ।’’
वैद्य नेतृत्वको माओवादीले माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने, संसद्वादलाई अस्वीकार गर्ने, सामाजिक क्रान्ति र रुपान्तरणका लागि बल प्रयोगको भूमिकालाई स्विकार्ने, पार्टी इतिहासको समीक्षा गर्न र गल्ती तथा कमजोरीलाई सच्याउन तयार रहने र जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरुप सङ्गठन सञ्चालन गर्न राजी हुने भए पार्टी एकताका लागि आफूहरु तयार रहेको बताउँदै आएको थियो ।
सोही प्रस्तावका आधारमा एमाओवादी अध्यक्ष दाहालले विगतका अनुभवको गम्भीर आत्मसमीक्षा सहित सिद्धान्तनिष्ठ एकताका लागि पहल गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख गरेका थिए ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आग्रह गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई पठाएको पत्रको पूर्ण बिबरण यस प्रकार रहेको छ : –
क.अध्यक्ष
ने.क.पा.–माओवादी
केन्द्रीय समिति

प्रिय कमरेड,
मिति २०७१।०१।२३ मा ने.क.पा.–माओवादी, पोलिट्व्यूरोको ‘पार्टी एकता सम्बन्धी प्रस्ताव’लाई हाम्रो पार्टीले एक गम्भीर र सकारात्मक पहलका रुपमा लिएको छ । स्मरणरहोस् झण्डै सोही अवसरमा सम्पन्न हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को विराटनगर राष्ट्रिय सम्मेलनले पनि माओवादी कम्युनिष्ट क्रान्तिकारीहरुको एकताको ऐतिहासिक आवश्यकता बोध गरी एक प्रस्ताव पारित गरेको छ । यसबाट विगतका अनुभवहरुको गम्भीर आत्मसमीक्षा सहित सिद्धान्तनिष्ठ एकताका लागि पहल गर्ने हामी दुवै पार्टीको समान सोच र आकांक्षालाई प्रतिविम्बित गर्दछ ।
यस सन्दर्भमा हामी स्पष्ट गर्न चाहन्छौं कि पार्टी एकताकालागि तपाईहरुले प्रस्तुत गरेका सैद्धान्तिक, राजनैतिक तथा साँगठनिक ६ बुँदे आधारहरु मध्ये १, ३, ४, ५ र ६ नं. बुँदामा अभिव्यक्त विचार र स्पीरिटमा हाम्रो पार्टी सैद्धान्तिक रुपले सहमत रहेको छ । २ नं. बुँदाको हकमा हामीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अगाडि बढ्ने निर्णय गरेको तथ्य स्पष्ट छ । तर, हाम्रो पार्टी, नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक आवश्यकताप्रति गम्भीर रहँदै यस विषयमा समेत तपाईहरुसँग खुल्ला र स्पष्ट छलफल गरी साझा निष्कर्षमा पुग्न प्रयत्नशील रहेको तथा रहने तथ्य स्पष्ट गर्दै त्यस दिशामा ठोस पहलका लागि अनुरोध गर्दछ ।

माओवादीको छ बुँदे प्रस्ताव
नेपाली कम्युनिस्ट आन्दोलनमा एकता र ध्रुवीकरणबारे नयाँ बहसको थालनी गर्ने भन्दै माओवादीको जेठमा बसेको पोलिटब्युरो वैठकले क्रान्तिकारी कम्युनिस्टहरुको एकताको लागि निम्नानुसार सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक आधारका रुपमा निम्न विषयलाई प्रस्तुत गरेको थियो, ः
१ माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने ।
२ नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने ।
३ संसदवादलाई अस्वीकार गर्ने ।
४ सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने ।
५ पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी तथा कमजोरीलाई सच्याउन तयार रहने ।
६ जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरुप सङ्गठन सञ्चालन गर्न राजी हुने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु