प्रचण्डलाई पार्टी एकता गर्न दबाब

२०७४ श्रावण ८ गते, आईतवार

काठमाडौं, ८ साउन । नेकपा माओवादी केन्द्रको चुनावको समिक्षा गर्न बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठकमा प्रचण्डलाई पार्टी एकता गर्न दबाब परेको बुझिएको छ । हालै सम्पन्न स्थानीय निकायको चुनावको समिक्षा गर्न बसेको उक्त बैठकमा सातओटै प्रदेशका इन्चार्जहरुले चुनावको हारको कारण पार्टी विभाजन र अन्तरघात भएको रिपोर्टिङ गरेका थिए । माओवादीले स्थापित गरेका राजनीतिक एजेण्डा छोड्दा जनताको अाकर्षण पनि घटेको भन्दै नेताहरुले कार्यकारी राष्ट्रपति, जनजिवीकाका विषयमा संघर्षलगायतका एजेण्डालाई पुनः उठाउनु पर्ने नेताहरुले बताएका थिए ।
नेताहरुबीच निकै घोचपेच भएको बैठकमा उठेका प्रश्‍नको जवाफ दिँदै अध्यक्ष प्रचण्ड कार्यकारी राष्ट्रपतिको लागि संघर्ष गर्ने, वैद्य र विप्लवसँग पार्टी एकताको लागि लचिलो भएर पेश हुने, वाइसिएललाई ब्युताउने, चुनावमा अन्तरघात गर्नेलाई कारवाही गर्ने बताएका थिए ।
माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पार्टी एकताको लागि पहल गर्ने निर्णय भएको बताए । क्रान्तिकारी शक्ति एक भएर अगाडि बढ्नु पर्ने भन्दै शर्माले त्यसको लागि क्रान्तिकारी माओवादी र नेकपासँग पार्टी एकतको लागि पहल गर्ने निर्णय गरेको जानकारी दिए ।
‘संघर्ष गर्ने पार्टीभित्र र वाहिर दुबैतिर हो, पार्टी नेतृत्व संसदीय भाषमा जान खोज्यो भने त्यसबाट बचाउन वैद्य र विप्लव कमरेडहरुले संघर्ष गर्नुपर्छ’ नेता शर्माले भने । उनले पार्टी एकताको लागि संयुक्त रुपमा महाधिवेशन गर्ने र त्यसमा राजनीति, वैचारिक कुरामा लचिलो भएर छलफल र बहस गर्न अाफूहरु तयार रहेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु