नेकपामाथिको प्रतिबन्ध प्रत्युत्पादक

२०७६ चैत्र २ गते, आईतवार

सरकारले अघिल्लो वर्ष २०७५ फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिबन्ध लगाएको थियो । नेकपामाथि प्रतिबन्ध लगाएको एक वर्षमा नेकपाका सैयौँ नेतालाई गिरफ्तार गर्ने, भूmठा मुद्दामा फसाउने र हत्या गर्ने कार्य सरकारी पक्षबाट भएको देखिन्छ । राजनीतिक प्रतिशोधका आधारमा नेकपामाथि प्रतिबन्ध लगाएर उसलाई निस्तेज पार्ने सरकारी शैली यतिबेला हावा खान पुगेको छ । नेकपामाथि प्रतिबन्ध लगाएपछि उसले उठाएको राष्ट्र, राष्ट्रियता र जनताप्रतिका सवालहरु सही थिए र छन् भन्ने पुष्टि हुँदै आएको छ । अहिले आमजनता सत्ताधारी नेकपाको मनपरितन्त्रबाट वाक्कदिक्क भएका छन् भने प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्र, राष्ट्रियता र जनसवालप्रति गरेको संघर्षको सह्राना गर्न थालेका छन् ।
सारमा भन्नुपर्दा नेकपामाथि लगाएको प्रतिबन्ध सरकार र सत्तधारी पार्टीलाई अभिशाप भएको छ भने नेपाल कम्युनिस्ट पार्टीलाई फलिफाप भएका छ । सरकारले नेकपा र उसका नेता, कार्यकर्तामाथि गरेको ज्यादतिको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विरोध भइरहेको छ भने नेकपाले आमजनताको साथ र सहयोग पाउन थालेको छ । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि राष्ट्र र जनताले मुक्ति पाउन नसकेको भन्दै राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवाललाई सही ढङ्गले सम्बोधन गर्दै वर्तमान संकटबाट मुक्त हुन एकीकृत जनक्रान्ति नै आवश्यक छ भन्ने निष्कर्षमा आमसचेत नागरिक पुगिसकेका छन् । तसर्थ, सरकारले नेकपामाथिको प्रतिबन्ध तत्काल हटाई उसँग राजनीतिक व्यवहारको थालनी गरी वर्तमान संकटबाट मुलुकलाई पार लगाउन नेकपासँग काँधमा काँध मिलाएर हिँड्नुको विकल्प छैन । अहिलेको आवश्यकता, समयको माग र जनचाहना पनि यही छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु