नागरिकता नीति र राष्ट्रघातका आन्तरिक कारणहरु – नारायण शर्मा

२०७६ बैशाख ५ गते, बिहीबार

कुनै पनि देशको कुनै पनि समयमा चल्ने नागरिकता नीति त्यस देशको राष्ट्रियतासँग जोडिएको हुन्छ । हाल नेपालमा चलिरहेको नागरिकता नीति बारेको बहसको मुख्य सम्बन्ध पनि नेपाली राष्ट्रियतासंगै अभिन्न रुपले गाँसिएको छ । मानव अधिकार, बाल अधिकार, समान अधिकार आदि इत्यादी विभिन्न अधिकारको नाममा नेपाली नागरिकता नीतिलाई अहिले समकालीन दुनियाँ र आफ्नै घनिष्ठ छिमेकी मुलुकहरुको भन्दा निकै खुकुलो, सहज र शीघ्र बनाउन खोजिएको छ । राज्य र यसका संचालक शासकवर्ग र वृत्तका विभिन्न नेतृत्वदायी अङ्ग र निकायका नेता, निर्णयकर्ता र नियामक आदिबाट प्रस्तुत संविधान, कानून, नीति, नियम, निर्णय, निर्देशन र कार्यान्वयन यसै दिशामा विवादका बिचबाट पनि अघि बढिरहेकै छन् । राष्ट्रियताजस्तो अत्यन्तै महत्वको अनि ज्यादै नै गम्भीर र संवेदनशील मुद्दासँग जोडिएको भएता पनि किन यो विषय यसरी अघि बढिरहेको छ त ?
यसप्रकारको खुकुलो नागरिकता नीतिबाट छिटै जनसांख्यिक अतिक्रमण भै नेपालको अस्तित्वनै समाप्त हुने खतरा किन निम्त्याइँदै छ त ? यसका पछाडी केही गम्भीर र रहस्यमय कारणहरु रहेका छन् । सामान्यतया ती कारणहरुमध्ये हामीले भारतीय विस्तारवादलाई मुख्य बताउँदै आएका छौं र त्यो र त्यसका दलाल र दासजस्ता पृष्ठपोषकहरु विरुद्धको संघर्षलाई समेत बढाउँदै आएका पनि छौं तर पनि किन त फेरि फेरि नेपाली नागरिकता वितरणमा झन् पछी झन् नरम, उदार र खुकुलो नीति, विधि, विधान र संविधानका प्राबधानहरु नेपाली सरकार र सदनबाट थपिंदैछ त ? यसरी नेपालमा बार बार नागरिकता नीतिमा गरिने घातक व्यवस्थाका पछाडी मुख्य र निर्णायक कारणको रुपमा केही आन्तरिक कारणहरु रहिआएका छन् ।
सामान्यत : कुनै वस्तु, व्यक्ती, घटना, विचार वा प्रवृत्तिको विकास, ठहराव वा विनास अर्थात् उन्नती, यथास्थिति वा प्रगतीमा सम्बन्धित वस्तु, व्यक्ति, घटना, विचार वा प्रवृत्तिको आन्तरिक तत्व,पक्ष वा गुण नै मुख्य र निर्णायक कारण हुन्छ अर्थात् आन्तरिक पक्षको मुख्य र निर्णायक भूमिका हुन्छ । बाह्य कारणको पनि महत्वपूर्ण र अपरिहार्य भूमिका रहेपनी त्यो कारण सहायक नै हुन्छ । त्यसैले सर्वप्रथम त ती मुख्य र निर्णायक घातक आन्तरिक कारण, जसले गर्दा नेपालमा नागरिकता लगायतका विभिन्न माध्यमबाट राष्ट्रघातका विभिन्न वारदातहरु गरिंदै आएका छन्, त्यसको अध्ययन -विश्लेषण र पहिचान गर्नु जरुरी हुन्छ । ती हुन्-
१- राजा–राणा, नेता-मन्त्री र सबैजसो उच्चपदस्थ शासक–प्रशासकहरुको ज्यानमोह, कुर्सीमोह र पैसामोह अर्थात् झुक्ने, बिक्ने र चुक्ने सिद्धान्त र व्यवहार नै पहिलो प्रमुख र सबैभन्दा ठूलो निर्णायक घातक कारण हो ।
२-उनीहरुभित्रै रहेको भारतीय भक्ति, भय, भत्ता र भात (भोजभतेर) प्रतिको आसक्ति अर्थात् नेपालकै नेतृत्व पंक्तिमा रहेको दलाल, दास, भतुवा र भ्रष्ट चिन्तन–प्रवृत्ति दोस्रो ठूलो निर्णायक घातक कारण हो ।
३–तिनीहरुमै रहेको पश्चिमा साम्राज्यवादी शक्तिहरुको सुझाव– दवाव र पैसा–पावर आदिको प्रभाव अनि उनिहरुको दमनद्ददादागिरीप्रतिको आत्मसमर्पणवादी र शक्तिपूजावादी विचार–संस्कार र संस्कृती–मनोवृत्ती पनि तेस्रो ठूलो घातक कारण हो ।
४-प्रायः नेपाली नेता–शासकहरुभित्र लुकेर रहेको ढोङी, जाली, सडके र प्रतिपक्षी राष्ट्रवाद चौथो ठूलो घातक कारण हो ।
५–धेरैजसो शीर्ष नेतृत्वका व्यक्तिवादी, स्वार्थी, संकीर्ण, सम्झौतावादी , आत्मसमर्पणवादी र षड्यन्त्रकारी शोंच, शैली र गतिविधी पाँचौं घातक कारण हो ।
६– निर्णायक नायक, नेता, नीति र नेतृत्वमा निहित नियत र नैतिकता अनि तिनको सम्भावित नियतिप्रतिको सहायक नेता, कार्यकर्ता र जनतासमेतद्वारा सहर्ष, शीघ्र र सशक्त रुपमा गरिने अनुमानविहीन, आशंकाहीन, आलोचनाहीन, असीमित र अन्ध समर्थन, सहयोग, सद्भाव, सहभागिता, समन्वय, सहकार्य र समर्पण समेत छैठौं ठूलो घातक आन्तरिक कारण हो ।
७-सबैजसो शीर्ष नेतृत्वका उपरोक्त प्रकारका स्वार्थी, लाछी, विश्वासघाती, कायर र कपटपूर्ण मति, रीती, स्थिती, गति र प्रवृत्तिलाई समयमै चिन्न, बिन्न, कमगर्न, हान्न र मार्न अर्थात् विश्लेषण गर्न, निगरानी–नियन्त्रण गर्न, होशियारी–खबर्दारी गर्न, बुझ्न–बदल्न र हस्तक्षेप–विकास गर्न अन्य नेता, कार्यकर्ता र जनताले नसक्नु बरु उल्टै लामो समयसम्म तिनकै भ्रम र भाषणबाट मोहित हुनु : तिनीहरुकै झुठा आश्वासन र प्रलोभनमा पर्नु ः तिनमै आस्था–निष्ठा राख्नु : तिनकै आशा–भरोसा गर्नु र तिन्कै संरक्षण –संबद्र्धन गर्नु सातौं ठूलो घातक कारण हो ।
८-नेपाली क्रान्तिकारी र संघर्षशील भनिएका राष्ट्रवादी, लोकतन्त्रवादी र वामपन्थी राजनीतिक शक्ति र नेतृत्वमा रहेका सम्झौतावादी र सुधारवादी रुझान तथा जनता–कार्यकर्तामा रहेको आंशिक र सीमित उपलब्धिमा चित्त बुझाउने सन्तोषवादी प्रवृत्ति पनि आठौं ठूलो आन्तरिक घातक कारण हो यी कारणहरु नै सामान्यत : नेपाल र नेपालीको विग्रँदो वर्तमानका वेथिती, विकृती र विसङ्गतीका पनि मुख्य कारण हुन् भने विशेषत : र अझ मुख्यत : हालको राष्ट्रघाती नागरिकता संशोधन विधेयक २०७५ पास गरिने मुख्य कारणहरु हुन् ।
तसर्थ यिनको जतिसक्यो विरोध, अवरोध र प्रतिरोध गर्नु जरुरी छ । यसप्रकारका नीति र नेतृत्वका कलुषित नियतहरुको उजागर र भण्डाफोर गरिनु अनिवार्य छ । नागरिकता नीतिबारेको यो अभियान र आन्दोलनलाई देसभक्तिपूर्ण आन्दोलनसँग जोडेर संचालन गर्नु आवश्यक छ । र, अन्तत ः वर्गमुक्ती आन्दोलनसँग एकाकार गरेर देशभक्तिपूर्ण र राष्ट्रमुक्तीको आन्दोलनलाई समृद्ध, सशक्त र सफल बनाउनु पर्दछ ।
आज यसरी राष्ट्रघाती नागरिकता नीति बन्दै जान लाग्नुको पछाडी हाम्रो वर्गमुक्ती आन्दोलन कमजोर, भुत्ते, बाङ्गो र रक्षात्मक हुनु नै हो । वास्तवमा वैचारिक, राजनीतिक र वर्गीय आन्दोलन सशक्त भएको बेला यी राष्ट्रघाती कारक र कार्यहरु मुर्झाएका हुन्छन् तर जब यो आन्दोलन सम्झौता र समर्पणमा पुग्दछ तब यी राष्ट्रघाती व्यक्ती, शक्ति र प्रवृत्तिहरु जुर्मुराएर आउँछन् । नेपालमा त ठीक यही नै भैरहेको छ ।
हरेक दश–दश वर्ष जस्तोमा नेपालमा प्रकट हुने आम जनअसन्तुष्टि अहिले प्रकट र विस्फोट नै हुने बेला भैसकेको छ । तसर्थ आउनुहोस् अब तुरुन्तै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई एकीकृत र केन्द्रीकृत गरौं । यी मुद्दाका सम्पूर्ण हिमायती शक्तिहरुलाई पनि गोलबन्द गरौँ । अनि अहिले देशको एक भागमा आएको नयाँ आँधीवेरी ‘टोर्नाडो’ जस्तै समग्र देशमा नयाँ राजनीतिक टोर्नाडो सिर्जना गरौं र समस्या र समस्याका स्रोत, सर्जक र प्रवद्र्धकहरु उन्मूलन गरौं !!! न रहे बाँस न बजे बाँसुरीको अवस्था पैदा गरौं अर्थात् चिरकालसम्मको लागि नेपाली नागरिकता र राष्ट्रियताको समस्या समाधान गरौं !!!

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु