जनअदालत र जनसरकार ब्यूताउने उदघोष

२०७३ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौँ, ७ जेठ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आबश्यक परे जनअदालत ब्यूताउने उदघोष गरेका छन । साथै उनले जनयुद्धकालिन मुद्धाका नाममा आफ्ना नेता कार्यकर्तालाई दुस्ख दिने कार्य भइरहेको भन्दै आपत्ति समेत जनाएका छन् । राजधानीको खुलामन्चमा शुक्रबार आयोजित बिशाल शक्ति प्रदशन तथा जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । “जनयुद्धकालका मुद्धालाई आधार बनाएर अदालतमार्फत माओवादी नेता कार्यकताको घर–घरमा म्याद टास्ने कार्य गरियो भने त्यसको भोली पल्टै प्रधानमन्त्री केपी ओलीजीको घरमा पनि जनअदालतमा उपस्थित हुन म्याद टास्नेछौँ” विप्लवले भने । माओवादीविरुद्ध अदालतलाई प्रयोग गर्ने कार्य नरोके जनअदालत सक्रिय बनाउन आफूहरु पनि बाध्य हुने विप्लवको ठोकुवा थियो ।
जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लवले देशमा दुई सत्ता, दुई संविधान र दुई अदालत रहेको घोषणा गरे । अहिले देशमा संसदवादी दलका केही नेताहरुले संविधान कार्यान्वयन गर्ने अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको भनिरहेको सन्दर्भ उल्लेख गर्दै विप्लवले आफूहरुलाई पनि नयाँ संविधान कार्यान्वयन गर्न तम्सिरहेको बताए ।
महासचिव विप्लवले भने, ‘देशमा दुई सत्ता र दुई अदालत छ । एउटा सत्ताको प्रतिनिधि सभा आइसीसीमा छ भने अर्को सत्ताको जनप्रतिनिधिसभा जनताको बीचमा छ । एउटा सरकारमा केपी ओली प्रधानमन्त्री छन् भने हामीसँग अर्को जनसरकारको प्रमुख सन्तोष बूढा मगर हुनुहुन्छ । त्यस्तै यहाँ सुशीला कार्की मात्रै प्रधानन्यायाधीश होइन, अर्को पनि प्रधानन्यायाधीश छ भन्ने हेक्का राख्नुपर्छ ।’ उनले नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीहरुलाई देश बेच्ने दलाल नेता र सत्ताका पछाडि नलागेर देश र जनताको साँच्चिकै विकास गर्ने सेवा गर्ने अभियानमा लाग्न आग्रह गरे । उनले भने, अब तपाईहरु कसको पक्षमा उभिने हो त्यो प्रश्न आएको छ । देशलाई जहिले पनि गुमराहमा राख्ने, कमिशन, भ्रष्टाचार, दलाली, गुलामी गरेर आफ्नो मात्र दुनो सोझ्याउने, परेको बेला देशै बेच्न पनि पछि नपर्नेहरुका पछि लाग्ने कि जनताको साँच्चिकै सेवा गर्नेहरुका पक्षमा लाग्ने ? यो कुरा तपाईहरुले प्रष्ट पार्नुहोस् । नेपाली सेनालाई हामी हातेमालो गर्न अपिल गर्दछौं । यदि हाम्रो अभियानमा सहयोग गर्नुहुन्छ भने हामी हातमा हात मिलाउन तयार छौ । यदि दलालहरुसँग मिलेर लड्न आउनुहुन्छ भने हामी छाती खोलेर लड्न तयार छौं ।
जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपाली जनताको मुक्ति र परिवर्तनका लागि आफु सहिद बन्न तयार बताउदै जनतालाई कुनै पनि अवस्थामा धोका नदिने प्रतिबद्धता जाहेर गरे । उनले देशमा अहिले किसान, मजदुर, दलित, जनजाति कसैले पनि मुक्ति नपाएको भन्दै परिवर्तनका लागि आफ्नो पार्टीले संचालन गर्ने आन्दोलनलाई साथ दिन आम जनतालाई अपिल समेत गरे । देशमा अहिले लोकतन्त्रका नाममा दलालतन्त्र हावी भएको भन्दै विप्लवले देशको मुख्य समस्या दलाल पुँजीवाद भएकोले यसका विरूद्ध सबै आन्दोलनमा आउनु पर्ने बताए । ‘आज देशमा लोकतन्त्रको नाममा दलालतन्त्र, लुटतन्त्र र माफियातन्त्र हावी छ । अहिलेको सरकार दलालतन्त्र, लुटतन्त्र र माफियातन्त्रमा शासन चलाई रहेको छ ।’ आकासिदो मंहगी, तीव्र रूपमा बढेको बेरोजगार र माफियातन्त्रले देश असफल राज्यमा परिणत भएको भन्दै विप्लवले अब देश आफ्नो पार्टीले मात्र चलाउन सक्ने ठोकुवा गरे ।
यसैगरी सो सभालाई सम्बोधन गर्दै माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बस्तोलाले राष्ट्रहित विपरित माथिल्लो कर्णाली, अरुण तीन र फास्ट ट्रयाकलगायतका रास्ट्रीय गौरवका आयोजना विदेशीलाई दिने चलखेल भइरहेकोमा बिरोध जनाउदै ति आयोजना स्वदेशी लगानीमा बनाउनु पर्ने बताए । उनले नेपाली जनताको भविश्यसँग जोडिएका ठूला आयोजनाहरु कुर्सी बचाउन भारतलाई दिने प्रवृतिको अन्त्य गर्नुपर्ने बताए । बास्तोलाले नेकपा माओवादी दलाल राज्य सत्तासामु कहिलेपनि नझुक्ने बताउर्दै जनताको शासन सत्ता स्थापना नहुन्जेलसम्म आफूहरुको संघर्ष जारी रहने बताए । बस्तौलाले वर्तमान राज्य सत्तालाई माफियाको जालोको संज्ञा दिदै राष्टिय स्वधिनता र सार्वभौम सत्ताका लागि सबै देशभक्त शाक्तिहरु एकजुट हुनपर्ने बताए ।
यस्तै कम्युनिस्ट न्यूक्लिअस नेपालका संयोजक हेमन्त प्रकाश ओली ‘सुर्दशन’ ले वर्गिय मुक्तिको लागि शसस्त्र संघर्ष आवश्यक रहेका बताए । ओलीले जनयुद्धले उठाएको वर्गिय, जातिय र क्षेत्रिय मुक्ति पूरा नभएको बताउँदै पूर्ण मुक्तिको लागि फेरि सशस्त्र संघर्ष आवश्यक रहेको बताए । गन्तव्यविनाको एकताको कुनै अर्थ नभएको भन्दै विचार र सिद्धान्तका आधारमा क्रन्तिकारीहरुबीच ध्रुविकरण आवश्यक भएको ओलीको तर्क थियो । यसैगरी सो सभालाई सम्बोधन गर्दै माओवादीका नेता एकराज भण्डारीले बेपत्ताहरुको खोजबिन कार्यमा सरकारले उदासिन देखाएको आरोप लगाए ।
सभा संचालन गर्दै माओबादीका प्रवक्ता प्रकाण्डले आफूहरुको शक्ति देखेर राजय अतालिएको बताउदै आज उर्लिएको बिशाल जनलहरले नयाँ शक्तिको रुप लिने ठोकुवा गरे । वर्तमान राज्य सत्तालाई माफियाको जालोको संज्ञा दिदै उनले जनताको शासन सत्ता स्थापना नहुन्जेलसम्म संघर्ष जारी रहने बताएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु