काठमाडौंको जनजीवन सामान्यतर्फ,त्रसित नहुन र भ्रममा नपर्न आग्रह

२०७२ बैशाख १४ गते, सोमबार

काठमाडौं , १४ वैशाख । भूगर्भविदहरुले सर्बसाधारणलाई त्रसित नहुन र भ्रममा नपर्न आग्रह गरेका छन् । गतशनिबार दिउँसो गएको भन्दा पनि ठूलो भूकम्प जानेे भनेर फैलाइएको हल्ला सत्य नभएको भूगर्भविदहरुले बताएका छन् । ‘यो हल्ला बेकारको हो, यस्ता अफवाहको पछि नलागौं,’ भूगर्भविद दिनेश चौलागाईंले भने । विक्रम संवत् १९९० सालमा गएको भन्दा पनि ठूलो भूकम्प जाने हल्ला एकाएक फैलिएपछि सर्बसाधारणमा त्रसित छन् ।
‘एकपटक भूकम्प भएपछि स साना झट्काहरु आउनु स्वाभाविक हो । तर अझै ठूलो भूकम्प आउँछ भन्ने कुरामा कुनै सत्यता छैन,’ चौलागाईंले भने, ‘कोही पनि भ्रममा नपरे हुन्छ ।’
नेपालमा शनिबार दिउँसो आएको विनाशकारी भूकम्प पछि पनि लगातार त्यसका झट्काहरु महसुस भइरहेका छन् । तर यो स्वाभाविक भएकाले नतर्सिन विज्ञहरुले सबैलाई आग्रह गरेका छन् ।
आइतबार राति र सोमबार विहान पनि भूकम्प आएको भूकम्प मापन केन्द्रले जनाएको छ । आइतबार राती १२ बजेर ३९ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । लमजुङ केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको हो । त्यस्तै, सोमबार विहानपख २ बजेर २४ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । शनिबार दिउँसो पनि गएको कोदारी भन्ने ठाउँलाई नै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
यसैगरी सोमाबार विहान ४ बजेर १७ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । काभ्रेको पनौतिलाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्प गएको हो । यी साना रेक्टर स्केलका भूकम्पले पुर्‍याएको क्षेतिबारे कुनै जानकारी आएको छैन ।
भूकम्पको धक्का कम हुँदै गएपछि सोमबार विहानैदेखि काठमाडौंको जनजीवन केही सामान्य बनेको देखिएको छ । अघिल्ला दिनका तुलनामा काठमाडौंका सडकहरुमा गाडीहरु अलि धेरै गुडिरहेका छन् । केही मानिसहरु उपभोग्य सामाग्री किन्न थालेका छन् । यद्यपी सबैजसो पसलहरु नखुल्दा केही समस्या देखिएको छ । सरकार र उद्योग वाणिज्य महासंघले सबै पसल खोल्न निर्देशन दिए पनि खासै पालना भएको देखिँदैन ।
पूर्ववत रुपमा इन्धन बिक्री वितरण गर्न निर्देशन
काठमाडौं उपत्यकामा अधिकांश पेट्रोलपम्पहरु बन्द छन् । सेना र पुलिसका पेट्रोलपम्प मात्र खुलेका छन् । ति पेट्रोलपम्पहरुमा इन्धन भर्नेहरुको लामो लाइन छ । नेपाल आयल निगमले पूर्ववत रुपमा सेवा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न मातहतका सबै व्यवसायीहरुलाई आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सोमबार विज्ञप्ति निकालेर विपत्तीको बेला पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न आग्रह गरेका हुन् ।
शनिबारको विनाशकारी भूकम्पपछि काठमाडौं उपत्यकामा अनेकौं अफवाह फैलाइएका छन् । शनिबार जावलाखेलस्थित चिडियाखानामा राखिएको बाघ पर्खाल भत्किएपछि भाग्यो भनेर हल्ला फैलाइएको थियो । बाघले सर्बसाधारणलाई आक्रमण गर्दै हिँडेको छ भनेर हल्ला चलेपछि स्थानीय थप त्रसित थिए । भूकम्पपछि घरबाहिर निस्किएर खुला स्थानमा बस्दै आएकाहरु बाघले आक्रमण गर्दै हिँडेको छ भन्ने गलत हल्ला फैलिएपछि थप आतंकित भएका थिए ।
यसैगरी पटक पटक आएका भूकम्पबाट नाकारत्मक विकीरण बाहिर आउने र त्यसले मानिसहरुको स्वास्थ्यमा गम्भीर असर पार्ने भनेर पनि अर्को गलत हल्ला फैलाइएको थियो । यो पनि सत्य नभएको भूगर्भविदहरुले बताएका छन् ।
यसैगरी विक्रम संवत् १९९० सालको भन्दा पनि ठूलो भूकम्प आउने भनेर फैलाएको हल्लाको भ्रममा नपर्न सबैलाई भूगर्भविदहरुले आग्रह गरेका छन् । यसमा सत्यता नभएकोले त्रसित हुन नपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु