कथित दुई तिहाईको नौटंकीलाई कुल्चिएर हिंड्नुको विकल्प छैन – विष्णु पन्त

२०७५ असार १७ गते, आईतवार

उपेन्द्र यादवसहितको वर्तमान सत्ता गठबन्धन दुई तिहाईको बहुमत प्राप्त इतिहासकै सबैभन्दा बलियो सरकार भन्ने बजार हल्ला छ । केही मान्छेहरुलाई के लागेको थियो भने अव यो सरकार सत्तीसाल जस्तै ठिङ्ग छ र कुनै पनि हुरीबतासले यसलाई रत्तिभर पनि हल्लाउन सक्ने छैन । तर, परिणाम के भयो भने आँधी त आएकै छैन, हुरी बतास त चलेकै छैन तर सरकार त लुगलुग कामी रहेकै छ । यो त लहरेपिपल जस्तो देख्दा खेरी भिमकाय जस्तो तर सानै हुरीले ढल्ला जस्तो । सरकारको आत्मविश्वास देखिएन कतै पनि । चुनावताका धेरै जनताले सोंचेका थिए कि केपि ओली प्रधानमन्त्री बने भने राष्ट्रियता बलियो हुनेछ, भारतीय हस्तक्षेपलाई अस्वीकार गर्ने छन् र चीनसँगको व्यापार सम्बन्धमा विस्तार हुने छ । तर, उनी प्रधानमन्त्री बन्नासाथ आमअपेक्षाको ठीक उल्टो घटना घट्यो । उनी कुर्सीका लागि सबैभन्दा बढी मोदीको अगाडि लम्पसार परे । अरुण तेस्रो जस्तो हाम्रो महत्वपूर्ण सम्पत्तिलाई खुरुखुरु औंठाछाप लगाएर भारतलाई बुझाए । ओलीको नेतृत्वमा वामसरकार बन्नासाथ धेरैले अपेक्षा गरेका थिए कि यो कम्युनिष्ट सरकारले कम्तीमा पनि प्रगतिशील सुधारका काम गर्ने छ । तर, परिणाम ठीक उल्टो भयो कि सरकारले एउटा पनि प्रगतिशील कार्यक्रमको घोषणा गर्न सकेन । हुन पनि अचम्म लाग्दो कुरा के छ भने यति छिट्टै गठबन्धनप्रतिको जनताको मोह भंग भैसक्यो ।
सरकारका सबै नौटंकीहरु आफैंतर्फ सोझिए । सबैभन्दा हल्लाखल्ला गरिएको सुनकाण्ड अन्त्यमा, ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भने जस्तै ठूला माछा, साना माछा र भुरा माछाको रुपमा पर्दाफास भयो । लहरो तान्दा पहरो थर्किए जस्तै ठूला माछाहरु भनेका आजसम्मका प्रधानमन्त्रीहरु पर्दारहेछन् र साना माछा भनेका शक्तिशाली मन्त्रीहरु अनि भुरा माछा भनेका प्रहरी आइजिपि, कर्मचारी आदि पर्दारहेछन् । अर्को बजार हल्ला सिन्डिकेट तोड्ने अर्थात यातायात सिण्डिकेट तोड्ने भन्नेमा भयो । सिण्डिकेट तोड्छु भनेको सरकारलाई पछि मात्र थाहा भयो कि सिण्डिकेट त तोड्नै सकिँदोरहेनछ । सिण्डिकेटवालाले बरु सरकारै तोड्ने, गृहमन्त्री नै तोड्ने अवस्था बन्यो । मेनपावर व्यवसायीहरुका बेथितिहरुलाई हटाउने भन्ने अर्को कारवाही भयो तर सरकारलाई पछि मात्र थाहा भयो कि त्यहाँ पनि एमालेको जालो रहेछ । त्यो हटाउँदा पार्टी नै हट्ने खतरा उत्पन्न भयो । फेरि अर्को त्यस्तै हल्लाखल्ली गरियो, राम्रोसँग काम नगर्ने निर्माण व्यवसायी वा ठेकेदारहरुलाई कारवाही गर्ने र जेल हाल्ने भनियो । पछि मात्र थाहा भयो कि सबै ठेकेदारहरु ठूला माछालाई पालनपोषण गर्नेवाला पो रहेछन् । फेरि सबै ठेकेदारहरु आफ्नै पार्टीका नेता कार्यकर्ता र सांसद परेछन् । हुँदाहुँदा केही पनि गर्न नसकेपछि मन्त्रीहरु मापदण्ड विपरीतका गाडी हटाउने भन्दै धुँवा नाप्दै गरेको अनि कालिमाटी तरकारी बजारमा खाद्य र अखाद्य पदार्थको चेकजाँच गरेको देखियो । त्यसबाट एउटा पनि कारबाही गर्न सकेको समाचार कतै सुनिएन । यी केही तथ्यहरु हुन जसले सरकारको वैधानिकताको साँचो कहाँ छ भनेर देखाउँछ । या त यी सब खोक्रो आडम्बर वा पाखण्डका लागि गरिएका थिए भन्न सक्नु पथ्र्यो या त सरकारसँग गर्न सक्ने केही पनि अधिकार रहेनछ भनेर स्वीकार गर्न सक्नु प¥यो ।
दुई तिहाईको कहानी पनि बडो अचम्मको छ । संसदमा एकता हुन बाँकी भनेकै नेपाली काँग्रेस र राजपा मात्र बाँकी छन् । हाम्रो शुभकामना छ कि, उनीहरुसँग पनि एकता गरेर सर्वसहमतीको सरकार बनाए भैहाल्यो नि । बाँढीचुँडी खाने कुरा न हो, गर्नु त केही पनि छैन । विजय कुमार गच्छदार र महन्त ठाकुरलाई उपप्रधानमन्त्री बनाई दिए त भैहाल्छ नि । फेरि पनि के पुष्टि भयो भने दुई तिहाईको गोलचक्करबाट मुलुकमा कतै पनि परिवर्तन हुन नसक्दोरहेछ । दलाल संसदीय व्यवस्थामा सामान्य सुधार गर्न पनि कति कठिन रहेछ ? किनकि मेकानिज्म पूरै दलालहरुकै हातमा छ । प्रतिष्पर्धा पनि दलालहरुकै बीचमा मात्र छ । अधिकार र स्वतन्त्रता पनि सबै दलालहरुको स्वार्थमा मात्र केन्द्रित छ । त्यसकारण जनतामा के भ्रम छरिएको छ भने यो कम्युनिष्ट सरकार हो र यसले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने छ । हुँदाहुँदा अब त मुठ्ठीभर दलाल र नवधनाढ्य वर्गको स्वर्गलाई समाजवादको रुपमा व्याख्या गरिँदै छ । दलाल, भ्रष्टचारी, तस्कर र कालोबजारियाहरुको लुटको स्वर्गलाई नै समाजवाद भन्ने राजनीतिक अपराधीहरुलाई भविष्यमा आजीवन कारावाशको मात्र व्यवस्था गर्न सकिन्छ ।
माथिका तथ्यहरुबाट के कुरा प्रष्ट हुन्छ भने वर्तमान केपी ओलीको सरकारको शरीर भनेकै दलाल, भ्रष्टचारी, तस्कर र कालोबजारीयाहरुको गठाजोडबाट बनेको छ । ऊ पूर्ण रुपले भीषण रोगबाट ग्रस्त छ । आफ्नै रोगसँग लड्नु उसका लागि मुख्य चुनौती बनेको छ । लोकतन्त्र हैन लुटतन्त्र बन्दै छ । बाहिरी रोगहरुको संक्रमणको उस्तै खतरा छ । दुई तिहाईको भद्दा शरीरलाई धान्न उसलाई हम्मेहम्मे परेको छ । केही गरी लडी हाल्यो भने त उठ्नै गाह्रो हुने छ । आजभोलि मान्छेहरु शरीरलाई चुस्तदुरुस्त बनाउने वा मेन्टेन्ड गराउनतिर लाग्छन् तर केपी र प्रचण्ड भने उल्टो दिशातिर लागेका छन् । भद्दा र सुन्निएको गठबन्धनबाट कोही पनि डराएको र तर्सिएको देखीएन । खाली औषधी र लागू पदार्थको सेवनबाट मात्र सरकार तन्दुरुस्त जस्तो देखिएको छ । जो आफ्नै खराबीसित लड्न सक्दैन, उसले बाहिरको खराबीसँग लड्ने कल्पनै गर्न सक्दैन ।
प्रष्टै छ, सरकार माफिया र गिरोहहरुबाट चलेको छ । रोवर्ट रिमोटहरुको गठजोडबाट यो सरकार वामे सर्दै छ । स्वनिर्णयबाट वा आत्मनिर्णयबाट गर्न सक्ने केही पनि छैन । दलाल संसदीय व्यवस्थाको मेकानिज्म नै यस्तो हुन्छ कि त्यो मेशिनमा हाली दिएपछि कोही शुद्ध र सग्लो निस्किन सक्दैन । त्यसकारण त कुनै काण्डहरु निस्किए कि त्यसको जालो प्रधानमन्त्री र मन्त्रीसँग जोडिएको हुन्छ । सरकारको प्रचार–प्रसार गर्ने मिडियाहरु छँदै छन् । नेपालका मिडियाहरु यति बिघ्न दलाली गर्छन् कि नाङ्गो ढंगले उनीहरुको कुनै विश्वसनीयता छैन । मिशन पीत पत्रकारिताका कारण जनतामा मिडियाको निष्पक्षताको अलिकति पनि छाप छैन । सत्ताविरोधी गतिविधिहरुलाई समाचार नै बनाउन नसक्ने प्रेस स्वतन्त्रताको नौटंकी पूरै च्यातिएको छ । मानवअधिकारको त्यस्तै खिल्ली उडाइएको छ । मानवअधिकार पनि पूरै माफिया र गिरोहरुको पकडमा पुगेको छ ।
सरकारको पछिल्ला गतिविधिहरुप्रति व्यंग्य गर्दै एकजना विश्लेषकको भनाई सान्दर्भिक लाग्यो ः सरकारले गर्न सक्ने काम एउटै छ, त्यो हो भाषण गर्ने र गर्न नसक्ने काम एउटै छ विकास । जुन सत्ताका नेतादेखि कार्यकर्तासम्म, मन्त्रीदेखि सांसदसम्म सबै कमाऊ धन्दामा वा कालोधनको धन्दामा लागेका छन् । के तिनीहरुबाट विकासको अपेक्षा गर्न सकिन्छ ? दूधको साक्षी बिरालो, बाख्राको संरक्षक बाघ जस्तै भएन र ? ओली सरकारले गरेका सबैभन्दा ठूलो भूल के छ भने उसले जनतालाई भेडाबाख्रा नै ठानेको छ । उसलाई लागेको छ– जनतालाई जे भन्दिँदा पनि हुन्छ । उखान टुक्का जोडेर विकासका भाषण गरेपछि जनता लठ्ठ परेर ताली बजाउँदै साथ दिन्छन् भन्ने ठानेका छन् । विकास र समृद्धिको नाममा जनतालाई फेरि पनि झुक्काउन सकिन्छ भने भ्रममा छन् ।
हामीले हे¥यौं प्रधानमन्त्री ओलीका बल्ल दुई छिमेकी देशहरुको मात्र भ्रमण सम्पन्न भएको छ । पछिल्लो समयमा चीन भ्रमणबाट विकासको खालै बगाउने हल्ला गरिएको थियो । दुई वर्षमै रेल ल्याउँछु भन्ने ओली फर्केपछि २ वर्ष भित्र डिपिआर तयार हुन्छ भन्न सर्वत्र रेल, मोनोरेल, केवल कार र पानी जहाजको मात्र हल्ला छ । अब वर्षाभरि काठमाडौंमा पानी जहाज आइहाल्छन् किनकि सरकारसँग ढल व्यवस्थापन गर्ने पनि क्षमता छैन । सम्भाव्यताको अलिकति पनि अध्ययन नहुँदै सपनाहरुको व्यापार गर्ने सरकार के भन्ने ? जनतालाई महँगी र जथाभावी कर आतंकबाट ढाड सेकेर कसको समृद्धि ल्याउन खोजिएको हो भन्ने प्रष्टै छ । अहिले फेरि प्रधानमन्त्रीले झिकाएको नयाँ बुलेट प्रुफ मर्सिडिज कारको चर्चा चलेकै छ । यसबाट प्रष्ट देखिन्छ, प्रधानमन्त्रीलाई फेरि पनि श्री ३ बन्ने भित्री इच्छा छ । मर्ने बेलामा अलिकति सुधारका योजना त ल्याउलान भनेको त्यो पनि आकाशको फल सावित भएको छ । एकातर्फ राष्ट्रिय ढुकुटी रित्तो छ भने अर्कोतर्फ भिआईपिहरुका सेवासुविधाहरु थपी राख्ने सरकारले जनतालाई भने तीन तिरबाटै जथाभावी करको डण्डा लगाउने असन्तुलित सरकारी नीतिबाट झनै ठूलो जनआक्रोश संगठित हुनेवाला छ ।
निष्कर्ष एउटै हो कि यो कथित बामसरकार सारमा दाम सरकार मात्र हो । यसले दलालहरुको हितमा मात्र काम गर्छ । भ्रष्टचारी, कालोबजारीया, तस्कर र माफियाहरुले चलाएको सरकार हो यो । केही मुठ्ठीभर नवधनाढ्य र दलाल वर्गको समृद्धिका लागि मात्र यसले योजना बनाएको छ । यसले आमजनतालाई आर्थिक रुपमा झनै बढी उत्पीडनमा पार्ने कार्यक्रम मात्र ल्याएको छ । त्यसकारण जनविरोधी कथित दुई तिहाईको नौटंकीलाई कुल्चिएर हिँड्नुको विकल्प छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु